म्यान्मारमा विस्थापितको बिचल्ली

सुधा अत्रि

रंगुन, म्यान्मार

म्यान्मारमा सैन्य 'कू'पछि झण्डै १२ लाखभन्दा बढी मानिस विस्थापित भएको शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)ले जनाएकाे छ। 

सैन्य तानाशाहीकाे क्रूर आतंकबाट जाेगिन दिनदिनै हजाराैं मानिसहरू पलायन भइरहेका छन्। 'कू'अघि साढे तीन लाख हाराहारी रहेका विस्थापितहरूकाे संख्या अहिले १२ लाखभन्दा बढी पुगेको अधिकारीहरूले बताएका छन्।

पहाडी भेगमा लुकिछिपी शरण लिइरहेका लाखाैं विस्थापितहरूलाई खाना–बस्न र उपचारकाे आवश्यकता रहेकाे म्याग्वे डिभिजन केइन राज्यका एक शरणार्थीले जनाएका छन्।

जंगलमा बाँचिरहेका शरणार्थीहरू आफ्नाे घर फर्कन चाहन्छन्, तर गाउँमा तीव्र लडाइँ भइरहेको छ। सैनिक काउन्सिलका सदस्यहरूले शिविर खडा गरेर बसेका छन्।

विस्थापितहरू अझैपनि खाना र चिकित्सा सहायताको पर्खाइमा पहाडतिर उक्लिरहेका छन्। बालबालिकाहरू पढाइबाट बच्चित छन्, बिरामीहरू उपचारबाट।

लाखाैं बर्मेली नागरिकहरू सेनाले गाउँमा आगो लगाएदेखि जङ्गलमा बस्दैआएका छन्। उनीहरूले गाउँ फर्कने हिम्मत पनि गरेका छैनन्। घर फर्किन सक्ने सामान्य अवस्था पनि छैन।

'सेनाले अझै पनि हामीमाथि आक्रमण गरिरहेकाे छ। हामीहरू जंगलमा बस्न बाध्य छाैं। वर्षाको मौसम नजिकिँदै गर्दा हामीलाई औषधि चाहिन्छ,' एक शरणार्थी अगुवाले भने।

म्यान्मारकाे चर्चित किन्मा गाउँ सेनाले तीन पटक जलाइसकेकाे छ। २ सय भन्दा बढी घरहरू खरानी बने। 

म्यान्मार रणनीति र नीति अध्ययन समूहका अनुसार सैन्य परिषद् र स्थानीय सशस्त्र समूहबीचको लडाइँ देशभर भइरहेकाे छ।

करेन नेशनल युनियनले करेन राज्यका केयाैं लडाइँमा भाग लिएकाे छ। उनीहरू लड्दै–लड्दै थाइ–म्यान्मार सीमासम्मै पुगेका छन्। करेन राज्य म्यावाड्डी दक्षिणमा एउटा शरणार्थी शिविर छ, जहाँ दश हजारभन्दा बढी मानिसहरू बसिरहेका छन्। उनीहरू बिचल्लीमा परेकाे बताउँछन्।

बर्मेली शरणार्थीहरूले अहिलेसम्म राष्ट्रिय एकता सरकार (एनयूजी) को सहायता नपाएको बताएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर १० करोडभन्दा बढी आन्तरिक विस्थापित व्यक्ति (आईडीपी) छन्। तीमध्ये १२ लाखभन्दा बढी म्यान्मारका छन्।

प्रकाशित मिति: : 2022-07-12 05:48:00

प्रतिकृया दिनुहोस्