महानायक हमालसहित प्रसिद्ध १० नेपाली कलाकारले एकसाथ दुबईको स्टेज तताउने

महानायक राजेश हमालसहितको सहभागीतामा युएईको दुबईमा वृहत् सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।

ड्रिम हाई नेपाल ईभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा आगामी अगष्ट २१ तारिख दुबईको वर्ड ट्रेड सेन्टरमा आयोजना हुने कार्यक्रमको नाम 'नेपाल ईभ टुरिजम टुर दुबई - २०२२' दिइएको छ।

नेपालको सातै प्रदेशमा नि:शुल्क एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्य राखेर आयोजना गर्न लागिएको यस सांगीतिक कार्यक्रमलाई दुबईमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले संयोजन गरिरहेको छ।

महानायक राजेश हमालसहित नेपालका १० प्रसिद्ध कलाकारहरुले एकैसाथ युएईमा पहिलोपटक स्टेज शेयर गर्न लागेका हुन्। यसले युएईमा कार्यरत नेपालीहरुलाई मनोरञ्जन सँगै धेरै समयपछि एउटै थलोमा उभ्याउने ईनास युएईका अध्यक्ष एमडी बोहराले बिएल नेपाली सेवालाई बताए।

कार्यक्रममा महानायक राजेश हमाल, चर्चित नायिका स्वस्तिमा खड्का, केकी अधिकारी, गायक शिव परियार, सन्दीप क्षेत्री, खेम सेञ्चुरी, गायिका सुनिता दुलाल, मोडल अञ्जली अधिकारी, तेरिया मगर र गायिका स्मिता दहालको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

दुबईको वर्ल्ड ट्रेड सेन्टरमा अवस्थित ५ हजार दर्शक अट्ने हलमा आयोजना हुने कार्यक्रमका लागि प्लाटिनम, गोल्ड, सिल्भर र ब्रन्ज गरी ४ प्रकारका टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ। साथै कार्यक्रममा सहभागीता जनाउनेहरुका लागि युएईका सबै राज्यबाट नि:शुल्क बसको व्यवस्था गरिएको बताइएको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संवर्धन तथा प्रचारप्रसारका लागि ड्रिम हाई नेपालले 'नेपाल ईभ : टुरिज्म टुर' नाम दिएर यो कार्यक्रम भारतसहित जापान, हङकङ, कतार, मलेसिया र बेलायतमा आयोजना गर्दैछ।

प्रकाशित मिति: : 2022-06-15 06:53:00

प्रतिकृया दिनुहोस्