प्रिय रामजी राम, तपाईंकाे छुवाइले हरेक मान्छे चङ्गा हाेउन्

Breaknlinks
Breaknlinks

प्रिय रामजी राम,

एमबीबीएसकाे अन्तिम परीक्षामा पास हुनुभएकाे खबरले औधी खुसी मिल्याे। तपाईंलाई बहुत धेरै बधाई छ। तपाईं आफैले भन्नु भएका जीवनका कयाैं परीक्षाका त बाँकी नै छन्। ती परीक्षामा पनि हरेस नखाइ सफल हुनु शुभकामना छ।

जुन दिन बुबाले मरेको सिनो फाल्न अस्वीकार गर्नुभयो, सायद त्यो दिन नै सुन्दर सपना देखेको दिन थियो क्यारे। नत्र त आज पनि मरेको सिनोमै तपाईंहरुको भविष्य रुमल्लिरहेको हुन्थ्यो। तपाईको यहाँसम्मको यात्रामा बाधक बन्न बाँकी काे रहे र ? ‘यदि तैंले डाक्टर पढ्न पाइस भने मेरो मुखमा गु हाल्दिनु’ भनेर समाजले हुंकार गरिरह्याे। अदालतको आदेश नहुँदासम्म कलेजले भर्ना नलिएर अटेरी बनिरह्यो।

लामो संघर्षका बाबजुद भर्ना हुँदा कलेजमा हैसियतको नाममा दुर्व्यवहार गरियो। तर, पनि तपाईं डगमगाउनुभएन। परिणाम आज तपाईं  एमबीबीएस डक्टर  हुनुभएको छ। यो कुरालाई हेर्दा तपाईंको संघर्ष इतिहासका ठूला क्रान्तिले दिएका सन्देशभन्दा कुनै पनि काेणबाट कम छैन।

आज तपाईं मधेसी चमार समुदायकाे पहिलाे डाक्टर हुनुभएको छ। कर्णालीमा पहिलाे पटक सेवा गर्न आउने डाक्टरकाे नाम पनि रामजी नै थियाे। उहाँ रामजी गाैतम हुनुहुन्थ्यो। तपाईंसँग दाेस्ती गर्न मेराे लागि याे मिठाे संयाेग हाे। जुम्ला जिल्ला अस्पताल स्थापना गरेर सेवा दिनुभएको उहाँ पछि बेलायत जानुभयो र उतै बित्नुभयाे।

उहाँपछि लामै समय कर्णालीले डाक्टर पाएन। विशेषज्ञ डाक्टर पाएकाे त अस्ति भर्खर हाे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे स्थापना भएपछि। जसरी कर्णालीले डाक्टर नपाएर लाखाैं राेगी पीडितकाे चिहान बगायाे, त्यसरी नै मधेसी सीमान्तकृत समुदायकाे चिहान काेसी र गण्डकी नदीहरुले पखाल्दैछन्। काेसी र गण्डकीकाे बाेझ कम गर्न तपाईंकाे अहम् भूमिका हुनेमा विश्वस्त छु।

आज कर्णालीकाे जुम्लालाई डाक्टरकाे टन्टा छैन। तर, विकटकाे भूगाेल डाक्टर खाेज्दै मरेका बच्चाका लासहरु जमिनमुनि गाड्न विवश छ। अकालमा ज्यान गुमाउनेका चिहान पखाल्न उत्साहित छन्, कर्णालीका छालहरु। तर, देशका उत्कृष्ट भनिएका स्वास्थ्य संस्था विदेशका लागि डाक्टर उत्पादन गरिरहेछन्।

तपाईंले जनपुर साहित्य महाेत्सवमा कुनै एक समयकाे पेसाकाे आधारमा सधैंभरि उही थर लेखाउने मनुवादी संस्कृतिमाथि जुन खालकाे प्रहार गर्नुभयाे त्यसले चिन्तन मनन गर्नेकाे मथिङगल हल्लाइदियाे। अब थर कसरी लेख्ने भन्ने प्रश्न सधैंभरिलाई रहिरहनेछ। इतिहासकाे पाँग्रा कसरी अघि बड्छ हेर्दै जाउँला।

मधेस हाेस् या कर्णाली कथित तल्ला जात भनिनेकाे अवस्था दयनीय छ। घाउ उही हाे। तर, उस्तै पीडा बाेकेर भाेट मधेस गरिरहेकाे कर्णाली समेत माैका पायाे भने मधेसलाई हेप्न पछि पर्दैन। मधेस पनि फाेहाेरकाे पर्यायवाची बिम्ब 'जुम्ली' भन्न पछि पर्दैन। कर्णाली र मधेस दुबै ठाउँमा सामन्त छन्। जसले दलितलाई गर्ने व्यवहार उही हाे। जसकाे सिकार तपाई हामी भयाैं।

कर्णाली र मधेसले भाेगेकाे विभेद उस्तै हाे। तर, हप्काइ दप्काई बढी खानेमा मधेस अगाडि छ। मधेस बारेको हाम्राे धारणाकाे विकास सत्ताले निर्माण गरेको भाष्यको आधारमा बन्याे। त्यसैले अहिले पनि हामी मधेसलाई स्वच्छ आँखाले हेर्न सकिरहेका छैनाैं।

हामी हिमालमा बस्नेहरुलाई हिउँदमा मधेसको हावापानी प्यारो लाग्छ। मधेसकै दाल चामलले भोकाे पेट भरिन्छ। कुना कन्दरामा गएर मधेसी शिक्षकले हामीलाई विज्ञान र गणित पढाइदिए। आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राम्रा चिकित्सक मधेसका छन्। यतिमात्र हाेइन खाली सिसि र प्लास्टिक उठाउन पनि मधेसी आउनुपर्छ। कपाल समेत मधेसीले नै काटिदिनुपर्छ।

व्यवहारमा ती नै मधेसीले विभेद भाेगिरहनु परेकाे छ। यी सामाजिक समस्याको चिरफार कुनै एक राेगकाे विशेषज्ञबाट सम्भव नहाेला। तर, सार्वजनिक मञ्चमा तपाईले उठाएकाे सवाल एक दिन सामाजिक क्रान्तिकाे बिम्ब बन्नेछ।

जसले गल्ली–गल्लीका थाेत्रा कुकर बनाएरै डाक्टर बने (भिडियाेसहित)

समग्रमा मधेस आफ्नै सामाजिक संरचना र बाहिरिया संरचनाबाट समेत विभेद भाेग्न बाध्य छ। तपाईंले जनकपुर साहित्य महाेत्सवमा बाेलेकाे कुरा विद्राेहकाे सुरुवात हाे। वर्तमान जात व्यवस्थामा आधारित समाजलाई गरेकाे तिखाे प्रश्न हाे।

यी यावत् समस्यालाई एकछिन किनारामा राखेर हेर्दा तपाईं राेगकाे निदान गर्ने डाक्टर बन्नुभएकाे छ। आगामी दिनमा एक विषयकाे दक्षता हासिल गरेकाे विशेषज्ञ चिकित्सक पनि हुनु हुने नै छ। तपाईंको दक्षताकाे लाभ तमाम जनताले लिन पाउनेछन्। तपाईंको शब्दलाई सापटी लिएर भन्दा तपाईंकाे छुवाईले बिरामीलाई चङ्गा बनाउने छ।

देशले विशेष छात्रवृत्तिकाे दायरा फाराकिलाे नबनाउन्जेल र त्यसलाई उपायाेग गर्ने प्रक्रिया सहज नपारुन्जेलसम्म सीमान्तीकृत समुदायबाट डाक्टर, इन्जिनियर बन्न मुस्किल छ। तपाईंकाे अनुभवले यही देखायाे। साधारण जनताले सहज रुपमा सस्ताे उपचार पाउन झन् कठिन छ। तपाईंहरुजस्ता डाक्टरहरुले जनताकाे सेवा कसरी गर्नु हाेला ? प्रश्न त तपाईंलाई पनि आउने नै छन्।

अन्तमा पत्रलाई धेरै लामाे नबनाई यति भन्छु, फूलहरु झर्नलाई उम्रन्छन् भन्नुभन्दा उम्रनलाई झर्छन भन्नुले आशा जगाउँछ। तपाईबाट मधेससँगै कर्णालीले समेत आशा धेरै आशा गरेकाे छ। आगामी दिनका लागि शुभकामना।

महेश

प्रकाशित मिति: : 2022-06-04 17:23:00

प्रतिकृया दिनुहोस्