दुई महिनाको तालाबन्दीपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ।
देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाईमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो। प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका बासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन्।
प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ। कोभिड संक्रमणका केस घट्दै गएपछि सरकारले प्रतिबन्ध हटाएको हो। केही साताअघि सांघाई कोभिडको मुख्य हब बनेको थियो। दैनिक संक्रमितको संख्या बढेपछि सरकारले दुई महिनाअघि लकडाउन घोषणा गरेको थियो।
कोभिडका कारण केही संक्रमितको मृत्यु हुन थालेपछि कोभिड नियन्त्रणबारे चिनियाँ सरकारको पहल र त्यहाँ विकसित खोपबारे पश्न उठ्न थालेको थियो। तर, सरकारले खोप नलगाएका बृद्धबद्धाको मृत्यु भएको दाबी गरेको थियो।
लामो समयदेखि लागेको प्रतिबन्ध हटेसँगै सर्वसाधारण र व्यवसायीहरु खुसी भएका छन्।
त्यस्तै प्रतिबन्ध हटाएकोमा सांघाई सरकारले पनि सन्तोष व्यक्त गरेको छ। ‘यो त्यो दिन हो जसलाई हामीले धेरै लामो समयदेखि सपना देखेका थियौं’, सांघाई सरकारका प्रवक्ता यिन जिनले पत्रकारहरूलाई भने।