कम्युनिष्टको किल्ला भत्काएर धरानमा ‘साम्पाङ’को उदय

धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन्।

कुल मतगणना भइसक्दा उनले २० हजार ८२१ मत ल्याउँदै विजयी भएका हुन्। नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन्।

धरानमा कुल एक लाख ३२४ मतदातामध्ये ६२ हजार ९८ मत खसेको थियो। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १६ हजार ५९ मतसहित दोस्रो भएका छन्। कम्युनिष्टको गढ मानिएको धरानमा नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाएर तेस्रो स्थानमा पुगेकी छिन्।

उपमेयरमा नेकपा माओवादीको तर्फबाट गठबन्धनका उम्मेदवार अइन्द्रविक्रम बेघाले २० हजार ५१० ल्याएर विजयी भएका छन् भने नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत प्राप्त गरेका छन्।

नेकपा एमालेबाट २०४८ सालमा ध्यान बहादुर राई र २०५४ सालमा मनोज मेन्याङ्बो मेयर बने। २०७४ मा नेकपा एमालेबाट तारा सुब्बा मेयरमा निर्वाचित भए।

सुब्बाको २०७५ साउन १ गते निधन भएको थियो। सुब्बाको निधनपछि २०७६ मङ्सिर १४ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका थिए।

साम्पाङले त्यसबेला पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। खानेपानीको बोतल चुनाव चिह्न पाएका उनले ५४० मत मात्र ल्याएका थिए। त्यहीबेला आगामी निर्वाचन पनि उठ्ने घोषणा गरेका उनी विभिन्न अभियानमा जोडिए।

उनै राईको कार्यकालबाट उदाएका साम्पाङ अहिले नेतृत्वमा पुगेका छन्। सर्दु खोला उत्खननको विरोधदेखि खानेपानी अभियानमा जोडिएका उनी आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्न रुचाउँछन्। भ्रष्टाचार नियन्त्रणको मुद्दा बोकेका उनी यो पटक लौरो चुनाव चिन्हसहित मैदानमा उत्रिएका थिए।

पछिल्लो अवस्था हेर्दा उनको पक्षमा कांग्रेस र एमाले दुवै दलको मत पाएका छन्। अत्यधिक मतका साथ एमालेका वडाध्यक्ष विजयी भएको ८ र १५ नम्बर वडामा साम्पाङले एमाले उम्मेदवारभन्दा दोब्बर मत पाएका छन्। त्यस्तै कांग्रेसका वडाध्यक्ष विजयी भएको ११ र १८ नम्बर वडामा पनि उनी दोब्बर मत पाएका छन्।

खानेपानी र भ्रष्टाचार विरोधी अभियानलाई तीव्र बनाएका उनलाई खानेपानीको विकराल अवस्था भोगिरहेका धराने जनताले मन पराए। लामो समय राजनीतिक मुद्दा बनेको खानेपानी धरानको प्रमुख समस्या हो। त्यही समस्यालाई लामो समयदेखि अभियानमा बदलेका साम्पाङले धराने जनताको मत र मन जितेका छन्।

धरानको अन्तिम मत परिणामअनुसार नेकपा एमालेले २,४,५,७, ८, १०, १२, १३, १५ र १९ सहित १० वटा वडा जितेको छ। नेपाली कांग्रेसले १, ३, ९, ११, १६,१८ र २० सहित ७ वटा वडामा विजयी भएको छ।

त्यस्तै वडा नम्बर १४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जितेको छ। नेकपा माओवादी केन्द्रले वडा नम्बर १७ जितेको छ भने वडा नम्बर ६ मा धारा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका भूपेन्द्र भट्टराई विजयी भएका छन्।

प्रकाशित मिति: : 2022-05-22 22:00:00

प्रतिकृया दिनुहोस्