शनिबार, १२ जुलाई २०२५

स्थानीय तहको नेतृत्वमा पुरुष हाबी: ‘मूकदर्शक’ महिला

बिएल संवाददाता

बिएल संवाददाता

रोल्पा
2022-05-10 19:22:00
Breaknlinks
• • •

यस पटकको स्थानीय तह निर्वाचनमा रोल्पा र पूर्वी रुकुममा पालिका प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरुले कन्जुस्याइँ गरेका छन्।

यसअघिको चुनावमा महिलाका भागमा उपप्रमुख पद परे पनि यसपालि गठबन्धनले गर्दा पुरुषले नै कब्जा गरेका छन्। यसले गर्दा संघीयता लागू भएपछिको दोश्रो स्थानीय तह निर्वाचनमा स्थानीय सरकारको नेतृत्व गर्ने अवसरबाट महिलाहरु झन्डै झन्डै पूर्ण रुपमा वञ्चित भएका छन्।

नेपाली कांग्रेसले यी दुई जिल्लाका १३ वटा पालिकामध्ये नौवटामा प्रमुख पदमा उम्मेदवारी दिएको छ। तीमध्ये एउटामा पनि महिलालाई उम्मेदवार बनाएको छैन।

त्रिवेणी गाउँपालिका अध्यक्षमा लोकगायिका राधिका हमाललाई उठाउन सिफारिस गरेको थियो। तर उनले स्वास्थ्य अवस्थाले गर्दा चुनाव नलड्ने भएपछि उनको ठाउँमा सपना डाँगी पुनलाई उम्मेदवार बनाएको थियो। गाउँपालिका अध्यक्षमा महिला उम्मेदवार उठाएकोमा कांग्रेसले प्रशंसा पाएको थियो। तर उनले उम्मेदवारी फिर्ता लिनुपर्यो।

नेकपा एमाले रोल्पाको सुनिलस्मृती गाउँपालिका अध्यक्षमा तारा सेनलाई उम्मेदवार बनायो। उनी रोल्पाका तीन मुख्य राजनैतिक दलबाट पालिका प्रमुखको उम्मेदवार बन्ने एक मात्र महिला हुन्। यसरी महिलालाई अवसर नदिने राजनीतिक दलहरुको व्यवहारले उनीहरुले समावेशीकरणको सिद्धान्तलाई आत्मसात गरेका छैनन् भन्ने देखाएको छ।

महिला सहभागिताका मामलालाई अरु दलभन्दा उदार देखिएको नेकपा माओवादी केन्द्र रुकुम-रोल्पामा टिकट बाँड्ने बेलामा अनुदार भयो। अघिल्लो स्थानीय तह निर्वाचनमा सो पार्टीले रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट कुमारी बराललाई गाउँपालिका अध्यक्ष जिताएर स्यावासी पाएको थियो।

सो पार्टीबाट रोल्पा नगरपालिका प्रमुखमा मनकुमारी घर्तीमगर र परिवर्तन गाउँपालिका अध्यक्षमा हितकुमारी वुढामगरको चर्चा चले पनि टिकट पुरुषले नै पाए।

यी दुई जिल्लाका १३ मध्ये ८ वटा पालिकामा गठबन्धन हुँदा उपप्रमुखमा समेत महिला उम्मेदवार ह्वात्तै घटेका छन्। गठबन्धन दलहरुले प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उठाउँदा महिला उम्मेदवार घटेको हो।

रुकुम पूर्वका तीनमध्ये २ पालिकामा कांग्रेस र एमालेले गठबन्धन गरेका छन्। यसो गर्दा उनीहरुले प्रमुख र उपप्रमुखमध्ये एउटामा महिला उठाउनै पर्ने प्रावधान पालना गर्नु परेन। त्यसले गर्दा उपप्रमुखमा पनि पुरुष उम्मेदवार भएका छन्।

गठबन्धनका तर्फबाट सिस्ने गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पुरुष र उपाध्यक्षमा एमालेका पुरुषले उम्मेदवारी दिएका छन्। सो गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षमा कृष्ण रेग्मी र उपाध्यक्षमा आस्था विके उम्मेदवार भएका छन्।

भूमे गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार छन्। यी दुवै पुरुष हुन्। सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा होमप्रसाद श्रेष्ठ र उपाध्यक्षमा सविना बुढामगरको उम्मेदवारी परेको छ।

गठबन्धन नभएको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा भने सबै दलले महिला उठाएका छन्। नेकपा माओवादी केन्द्रका भुपेन्द्रा बुढा, नेपाली कांग्रेसबाट कमला मल्ल र नेकपा एमालेबाट धर्मा घर्तीमगर गरी महिलै-महिलाबीच प्रतिस्पर्धा छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रुकुम पूर्वका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले जितेको थियो।

रोल्पाको माडी गाउँपालिकामा एमाले–कांग्रेसबीच तालमेल भएको छ। गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार भएका छन्। माओवादीले भने अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिला उठाएको छ।

त्रिवेणी गाउँपालिकामा एमाले–कांग्रेस तालमेल भएको छ। यहाँ पनि दुवै पदमा पुरुष उम्मेदवार छन्। माओवादीले भने अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिला उठाएको छ।

परिवर्तन गाउँपालिकामा एमाले–कांग्रेस–एकीकृत समाजवादी–स्वतन्त्र उम्मेदवारबीच तालमेल भएको छ। तैपनि, यहाँ गठबन्धनका तर्फबाट उपाध्यक्षमा महिला उठ्न पाएकी छिन्। अध्यक्षमा कांग्रेसले पुरुष उम्मेदवार उठाएको छ भने उपाध्यक्षमा एमालेले महिला उठाएको छ। माओवादीले अध्यक्षमा पुरुष र  उपाध्यक्षमा महिला उठाएको छ।

सुनिलस्मृति गाउँपालिकामा कांग्रेसले राष्ट्रिय जनमोर्चा र राप्रपासंग तालमेल गरेको छ। तैपनि, अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसका भागमा परेकाले यी दुई पदमा पुरुषै-पुरुष उठाउन कांग्रेसले पाएन। नेकपा माओवादी केन्द्रले अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिला उठाएको छ।

सुनछहरी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार पुष्टमन घर्तीमगरले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। उनलाई नेकपा एमाले र नेपाली कांग्रेसको समर्थन छ। पुष्टमन विप्लव नेतृत्वको नेकपाका पूर्व विशेष जिल्ला सेक्रेटरी हुन्।

सो गठबन्धनबाट उपाध्यक्षमा कांग्रेसका पुरुष उम्मेदवार छन्। माओवादीले गठबन्धन नगरेकाले अध्यक्ष र उपाध्यक्ष पदमध्ये एउटामा महिला उठाउनै पर्ने बाध्यताले गर्दा उसले यहाँ पनि अध्यक्षमा पुरुष  र उपाध्यक्षमा महिलालाई उठाएको छ।

थवाङ गाउँपालिकामा कांग्रेस, एमाले र स्वतन्त्र उम्मेदवारले तालमेल गरेका छन्। थवाङमा यी दुई पदका स्वतन्त्र उम्मेदवारलाई कांग्रेस, एमालेलगयतका दलले समर्थन गरेका छन्। यस गठबन्धनका तर्फबाट यी दुई पदका दुबै उम्मेदवार पुरुष छन्। माओवादीले अन्यत्र मात्र नभइ यहाँ पनि अध्यक्षमा पुरुष  र उपाध्यक्षमा महिलालाई उठाएको छ।

रोल्पा नगरपालिका र लुंग्री गाउँपालिकामा गठबन्धन नभएकाले कांग्रेस, माओवादी र एमाले तीनवटै पार्टीले अध्यक्षमा पुरुष उठाए पनि उपाध्यक्षमा महिलाले अवसर पाएका छन्।

गंगादेव गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन भएको छ। गठबन्धनबाट अध्यक्षमा नेकपा माओवादीले पुरुष र उपाध्यक्षमा एकीकृत समाजवादीले पनि पुरुष उठाएका छन्। गठबन्धन नगरेकाले कांग्रेस र एमालेले अध्यक्षमा महिला र उपाध्यक्षमा महिलालाई उठाएका छन्।

रुन्टीगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्र, राजमो र एकीकृत समाजवादी वीच गठबन्धन भएको छ। तैपनि अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादील पाएकाले उसले अध्यक्षमा पुरुष उठाएपछि उपाध्यक्षमा महिला उठाउनै पर्ने भएको थियो। यहाँ एमाले र कांग्रेसले दुबै पदमा उम्मेदवार उठाएकाले उनीहरुले पनि अध्यक्षमा पुरुष उठाएपछि उपाध्यक्षमा महिला उठाउनै पर्ने थियो।

कांग्रेसले प्रमुखमा नौजना उठाएको छ भने एकजना पनि महिलालाई उठाएको छैन। यस्तैगरी, सो पार्टीले उपप्रमुख पदमा ७ जना महिला र र २ पुरुष उठाएको छ।

नेकपा एमालेले यी दुई जिल्लामा आफ्ना भागमा परेको पदमध्ये एउटाको प्रमुखमा महिला र ७ वटा को प्रमुख पुरुषलाई उठाएको छ। उपप्रमुखमा एमालेले ४ जना महिला र ५ जना पुरुष उठाएको छ।

माओवादी केन्द्रले यी दुई जिल्लाका १३ वटा पालिकामध्ये सबैको प्रमुख पदमा पुरुष उठाएको छ। एउटा पालिकाको उपप्रमुख गठबन्धनलाई दिएको छ। बाँकी १२ वटाको उपप्रमुखमा महिला उठाएको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रोल्पाका १० मध्ये ७ र रुकुम पूर्वका सबै तीन वटै पालिकाका अध्यक्ष र उपाध्यक्षमा माओवादीले जितेको थियो। रोल्पाका २ पालिकाका प्रमुख र उपप्रमुखमा  एमाले र एक पालिका प्रमुख र उप प्रमुख कांग्रेसले जितेका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?