पुँजीवाद र महिला

फूलमती

काठमाडौं
Breaknlinks
Breaknlinks

पुँजीवादले महिलालाई माल (सामान) बनाएको छ। या त भनौं वस्तुकरण गरेको छ। बजारमा बेच्न सकिने हरेक थोक बेच्नुपर्छ भन्ने मुख्य नारा बोकेको पुँजीवाले महिलालाई पनि आफ्नो कब्जामा पारिसकेको छ। यो ५ सय वर्षमा पुँजीवादले महिलालाई चुलोचौको बाहिर ल्याउन त सहयोग गर्‍याे तर महिलाको मुख्य मुद्दा जे हो त्यो यथावत नै छ। यसले जुन स्वतन्त्रता महिलालाई दिइएको जस्ताे देखिन्छ त्याे भित्रकाे वास्तविकता धेरै फरक छ।

मार्क्सले भनेका छन्,‘महिला मुक्ति केवल पुँजीवादी व्यवस्थालाई उन्मुलन गरेर मात्र प्राप्त गर्न सकिन्छ।’

पुँजीवादले महिलालाई घर बाहिर ल्याउन र काममा जोड्न त केही सहयोग गर्‍याे तर पुरुषको तुलनामा महिलाको श्रम ज्याला निकै कम छ। महिलाहरुलाई पुरुषको तुलनामा बढी काम गर्नुपर्ने बाध्यता पुँजीवादले सिर्जना गरेको छ। एक, घरको सबै काम महिलाले नै गर्नुपर्ने हुन्छ।

दुई, बाहिर (अफिस)को कामको जिम्मेवारी पनि थपिएको छ। आजको दिनमा पुँजीवादको दोयम चरित्रलाई बुझ्न जरुरी छ। एकातर्फ महिलालाई श्रमको कम ज्याला दिएर फाइदा लिन सकियो र अर्कोतर्फ महिला घरबाट निस्किए र स्वतन्त्र छन् भन्ने पनि देखाउन सकियो। यही हो, पुँजीवादको दोयम चरित्र। पुँजीवादले केवल महिलालाई वस्तु मात्रै सम्झन्छ।

डेनिस कोमेन भन्छिन्,‘पुँजीवादीले पितृसत्तालाई आफ्नो उद्देश्यहरु प्राप्त गर्नको लागि लिभरको रुपमा प्रयोग गर्दछ।’

महिला उत्पीडनको सुरुवात पुँजीवादमा भएको त होइन तर पुँजीवादले पहिला हुने उत्पीडनलाई परिमार्जन चाहिँ अवश्य गरेको हो। अब, महिलामाथि नयाँ ढङ्गले शोषण गर्ने र पुँजीवादलाई पनि फाइदा हुने गरी महिला उत्पीडन परिमार्जित भयो। उसले आफ्नो नाफाका लागि महिला मुक्ति र स्वतन्त्रताको पक्षमा उभिएको जस्तो देखाउने भयो।

उदाहरणको लागि: महिलाले चुरोट तान्नु, डिस्को/बार धाउनु, नाच्नु/गाउनु, रेष्टुराँ जानु, छोटो लुगा लगाउनु भनेको स्वतन्त्र हुनु हो जस्तो गलत भाष्यहरुको निर्माण पुँजीवादले गरिदिएको छ। एउटा पक्षबाट हेर्ने हो भने समाजले महिलाले चुरोट तान्नु, डिस्को धाउनु आदि कुराहरु पचाउन सक्दैन। त्यसैले त्यसको विरुद्धमा महिला पनि स्वतन्त्र भएर जिउनुपर्छ, चुरोट तान्नुपर्छ भन्ने जस्तो कुराहरू विद्रोह जस्तो देखिनु स्वभाविक नै भयो। तर, यो पुँजीवादले निर्माण गरेको गलत भाष्य हो। अझै भन्नुपर्दा, यो षडयन्त्र हो। यसले न त महिलाका समस्याहरुको जडसम्म जान सहयोग गर्छ न त महिला मुक्तिको बाटोतर्फ लैजान नै सहयोग गर्छ।

मलाई ठ्याक्कै याद त छैन, कहिले र कहाँ भयो यो मुमेन्ट तर एकपटक महिलाले छोटो प्याइन्ट लगाउन पाउनुपर्छ भन्ने मुमेन्ट कुनै एक ठाउँमा भएको थियो। खासमा यस्ता मुमेन्टहरुले महिला स्वतन्त्र हुन्छन् भन्नु हास्यास्पद कुरा बाहेक केही हुन् सक्दैन। यसको अर्थ यो होइन कि महिलाले घुम्टो ओढेर बस्नुपर्छ तर यस्ता मुमेन्टले महिला मुक्ति र स्वतन्त्रतालाई सहयोग गर्दैन्न भन्ने कुरा चाहिँ मुख्य हो। यसले महिला उत्पीडनको जड र समाधानको बाटो खोज्दैन।

र, एउटा तर्क छ, महिलाहरू पुँजीवादमा स्वतन्त्र छन्, यो भन्दा राम्रो व्यवस्था अरू हुनै सक्दैन। वास्तवमा त्यो होइन। बाह्य रुपमा हेर्दा हामीलाई त्यो लाग्नु स्वभाविक हो तर पुँजीवाद जतिसुकै बलियो र उन्नत भएपनि यसले महिला मुक्ति सम्भव छ भन्नु चाहिँ वास्तविकता होइन। पुँजीवादमा महिलाहरु केवल खेलौना/वस्तु वा भोग विलास/मनरोन्जनका साधन मात्रै हुन्।

यदि हामी पुँजीवादमा नै महिला मुक्ति सम्भव छ भन्ने भ्रममा छौं भने पुँजीवादको उत्कृष्ट नमुना चीनलाई हेर्न सक्छौं। त्यहाँ महिलाको स्थिति कस्तो छ र शक्तिशाली राष्ट्र अमेरिकालाई पनि हेर्न सक्छौं। एकपटक अमेरिकाका राष्ट्र प्रमुख बिल क्लिन्टनले आफ्नो कार्यस्थलमा नै महिलामाथि यौन दुर्व्यवहार गरेका थिए। कमला भसिनको शब्द सापटी लिएर भन्नुपर्दा ‘पुँजीवादी समाजमा पुरुषले दुई खाले महिला चाहन्छ, एउटी सेक्स वर्कर अर्थात् यौनकर्मी र अर्को सती सावित्री (जो लोग्ने बाहेक अर्कोको बारेमा सोच्न पनि नसोचोस)’ वास्तवमा पुँजीवादको चरित्र नै यस्तै हुन्छ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव तथा लेखक आहुती भन्छन्,‘पुँजीवादले महिलालाई घरबाट बाहिर त निकाल्यो तर उनीहरूको दास्तालाई नयाँ ढंगले रुपान्तरण गर्‍याे र ‘माल’को रुप दियो। पुँजीवादले एक, उत्पादन थलोमा श्रम बेच्न अर्को यौन बजारमा बिक्री हुने वस्तुको रुपमा दुई तरिकाले महिलालाई मालमा परिणत गरिदियो।’

सारमा भन्नुपर्दा, पितृसत्ता र पुँजीवादले महिलालाई केवल दास र भोग्याको रुपमा मात्रै देख्छ। यदि उसलाई आफ्नो फाइदाको लागि महिलालाई नङ्ग्याउनु पर्‍याे भनेपनि उसले स्वतन्त्रताको नामाकरण गरिदिन्छ। त्यसैले आजको आवश्यकता भनेको पितृसत्तासँग लड्नु मात्रै होइन, पुँजीवादसँग लड्न पनि जरुरी छ।

प्रकाशित मिति: : 2022-05-10 21:05:00

प्रतिकृया दिनुहोस्