सोमराज गुरुङले हिजो फेसबुकको म्यासेन्जरमा कल गर्याे। मेरो मध्यराति परेछ, उठाउन पाइनँ। भ्वाइस म्यासेज छोडेको छ। उस्तै अशुद्ध नेपाली भाषा, उही लवज, उस्तै हाँसो,‘एई, हेहेहे...मा मरेको छैन, जिम्दै छु, मलेसियामा छु। चुनाव आयो, सम्झेर काल गरेको।’
उसको र मेरो भेट चुनावताका भएको हो। स्थानीय चुनावताका। त्यसैले यो स्थानीय चुनाव सोमराज र मेरो जीवनको विशेष दिन हो।
मैले जीवनमा सधैं श्रद्दापूर्वक सम्झिने र प्रेम गर्ने म जस्तै केही भुइँमान्छेहरू मात्र छन्। गन्ती गर्याे भने एकहातको पाँच औंला नि भरिन्नन्। तिनै मध्येको एक मित्र हो, सोमराज गुरुङ। मैले 'कल ब्याक' गर्न भ्याइसकेको छैन। यो स्टोरी प्रकाशित हुञ्जेलसम्म कुरा गरिसकेको हुनेछु।
करिब ७ वर्ष यता हाम्रो दुईचोटी मात्रै कुरा भएको छ। पहिलोचोटी, नेपालमा भुइँचालो गएको बेला। ईपीसेन्टर बारपाक पारेर नेपालमा गएको भुइँचालोले ढलेको धरहराको ठूटो देखेपछि मैले सबैभन्दा पहिला सोमराज गुरुङलाई सम्झेँ।
ऊ त्योबेला गाउँमा थियो। उसको गाँउ ईपीसेन्टरको नजिकै लमजुङ बेसीसहर हो। मैले बेलुका फोन गरेँ। 'के छ तेरो खबर ?' उसले भन्यो, 'पाल टाँगेर बसेका छौँ। घर ढाल्यो नि। सप्पै लग्यो। मान्छे सबै सग्लै छौँ।' बाँकी के...के...कुराहरू भए। सोमराज जस्तै दुखमा पनि हाँस्न बिर्सन्न। करिब ९ मिनेटमा कुराकानी टुंगियो।
दोश्रोचोटी कुराकानी भएको करिब २ वर्ष हुन लाग्यो। कोरोनाको ताण्डप चलेकाबेला एकदिन नेपालको मध्यराति फोन गरेको थियो। 'समाचारले आम्रिकामा त मान्छे सकिना लागे भान्छ त। तोलाई ठीक छ ?' मैले सुरक्षित रहेको खबर सुनाएपछि उसले आफ्नो 'अपडेट' सुनायो। 'गाँउमा त कोरोनो सोरोना केही छैन। मो ता घारबाट झागडा गरेर हिनेको, जांगलमा बानमाउरीले टोकेर टाउको सुन्नेको छ। म काठमाडौँ जान्छ। निको भएपछि उतैबाट मलेसिया जान्छ।'
हाम्रो भौतिक भेट नभएको करिब १८ वर्ष भयो होला। २०५४ सालतिर बरालिँदै काठमाडौँ झरेको १६/१७ वर्षको 'दाइ' उमेरको सोमराजसँग मेरो सम्पर्क भयो। यो सम्पर्क साथीमा मात्रै सिमित रहेन। जीवनमा तपाईंले कोही यस्ता मान्छे भेट्नुहुन्छ जसले तपाईंको मुटु, कजेलो, फोक्सो आफैँसँग बोकेर लगिदिन्छन्। उनीहरूसँग घण्टा, दिन, महिना बिराएर कुरा गरिरहनै पर्दैन। सोमराज गुरुङ मेरो जीवनको यस्तै पात्र हो।
हाम्रो भेटभएको बेला स्थानीय तहकाे चुवान थियो। २०५४ सालको स्थानीय चुनाव। जेठ महिना थियो जस्तो लाग्छ। चुनावको 'म्याथम्याटिक्स' त्यति धेरै बुझिहाल्ने उमेर थिएन, त्यसैले चुनाव 'रमाइलो मेला' जस्तो लाग्थ्यो। उसको र मेरो पहिलो पटक यही 'रमाइलो मेला' मा भेट भयो।
चिनियाँ राजदूतावासको छेउ हुँदै बालुवाटारतिर एकहुल आमाहरूको जुलुस जाँदै थियो। आमाहरूको जुलुस विशाल थियो। यति ठूलो जुलुस मैले देखेकै थिइनँ। सोमराजले पनि देखेको थिएन। जुलुसमा उपस्थित भएका आमाहरूले रङ्गबिरङ्गी नाराहरू लगाइरहेका थिए। हो, त्यही बेला हो मैले पहिलो पटक 'अंश र नागरिकताको अधिकार आमामै सिमित हुनुपर्छ,' नारा सुनेको र पहिलो पटक सोमराज गुरुङलाई भेटेको।
त्यो आमाहरूको जुलुसलाई मैले सम्झिरहनुपर्ने दुईवटा कारण छन्। पहिलो: मेरो जीवनका विशेष पात्रहरूमध्येको एक सोमराज गुरुङलाई त्यही हुलमा भेटेको हुँ। दोश्रो: 'अंश र नागरिकताको अधिकार आमामै हुनुपर्छ' भन्ने कुरा पहिलो पटक त्यही जुलुसमै सुनेको हुँ।
अंशतिर म अहिले जान्नँ। 'आमाकै पेटबाट जन्मिने सन्तानलाई आमाकै नामबाट नागरिकता देउ है सरकार,' भनेर मैले मात्र सुन्न थालेको २५ वर्ष भएछ। आमाहरूले जन्मजात पाउने अधिकारलाई राज्यसँग भिख 'माग्न' थालेको साढे दुई दशक बितेछ। बाबुको पत्ता नलागेर त्योबेला कोही छोराछोरी जन्मेका रहेछन् भने अहिले उनीहरू २५ वर्ष पुगेछन्।
एकचोटी सम्झिनुस् त, यो २५ वर्षयता मुलुकमा कति ठूला-ठूला उथलपुथल, क्रान्ति, आन्दोलन, जनआन्दोलन र परिवर्तन भए। यी सबै मुलुक उथलपुथल गर्ने ठूला घटनाहरूको साक्षी हुँ, म। २०५४ यता २ वटा स्थानीय चुनाव भए। ५ पटक राष्ट्रियसभा चुनाव भयो। २ चोटी संसदीय निर्वाचन भयो। २ चोटी संविधानसभाको निर्वाचन भयो।
मैले बुझ्ने भएदेखि २५ वर्षयता मुलुकमा भएका चुनाव, क्रान्ति, प्रतिक्रान्ति, घटना, उप-घटना जे-जे भन्नुस् सबैको एउटै सार थियो:
१. अधिकार
२. समावेशीकरण
३. विकास
विकास र समावेशीकरण क्रमिक रूपमा हुँदै जाने कुराहरू हुन्।
अहिले गाउँ-गाउँमा मोटर बाटो पुगेको छ। व्यवस्थित विकास भएको छैन होला। तर, विकास हुँदैछ। पहिला विकास हुन दिउँ, अनि व्यवस्थित गर्ने हो। संसारका ठूला-ठूला व्यवस्थित र विकसित मुलुको उदाहरणको बीउ नेपालमा छरेर उम्रन्न। माटो हेरेर फसल छर्ने हो। हाम्रो माटोमा के उम्रन्छ त्यही छर्ने हो।
समावेशीकरणमा नेपालले संसारकै मै हुँ भन्ने विकसित मुलुहरूलाई उछिनेको छ। सामाजिक, आर्थिक, राजनीतिक, लैंगिक समावेशीकरणका मुद्दालाई कतिपय विकसित मुलुकहरूले बल्ल अहिले पछ्याउँदै छन्। यति धेरै परिवर्तन हुँदा हुँदै पनि 'आमाको नामबाट नागरिकता' दिने कानूनी एजेण्डा किन सधैं पुछारमा पर्याे होला? आमाकाे नामबाट नागरिकता दिँदा मुलुकलाई कहाँनेर घाटा देखियो होला ? ती आमाहरूले २५ वर्षअघि उठाएको आवाज कुन शुन्यमा हरायो होला? मलाई सम्झ्यो भने ताजुव लाग्छ।
आमाकै नामबाट नागरिकता दे है सरकार ! भन्ने तिनै जुलुसमा नारा लगाउने आमाहरू पत्यक्ष-अप्रत्यक्ष कतिचोटी सरकारमै पुगे होलान्।
'राज्य संचालनका तीन मुख्य अंग हुन्छन्: कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका।' यो सारांश मलाई अहिले पनि कण्ठ छ। नेपाल मात्रै यस्तो विशेष मुलुक होला जहाँ एउटै समयमा तीनैवटा मुख्य कार्यकारी पदमा महिला थिए। विद्यादेवी भण्डारी, शुसिला कार्की र ओन्सरी घर्तीमगर। ३ जना महिला देशको प्रमुख पदमा रहेकाबेला पनि 'आमाका नामबाट नागरिकता दिन मिल्ने' कानुन किन बनेन होला ? सम्झ्यो भने मलाई रिंगट छुट्छ।
फेरि स्थानीय तहकाे चुनाव आयो। चुनाव आएपछि यही नारा र सोमराज गुरुङले मेरो मथिंगल भरिन्छ। अनि आफैँलाई प्रश्न गर्छु- आजकल चुनावमा आमाहरूले भोट हाल्न पाउँछिन् कि नाइँ? जवाफ 'सिम्पल' छ- पाउँछिन्। अनि जुलुस पनि हुन्छ होला? नारा पनि लाग्छन् होला नि? जुलुस अझ ठूलै निक्लन्छन्। नारा अझै चर्को लाग्छन्। र, पनि अहिलेसम्म आमाहरूको जुलुसमा यो नाराले छुटकारा पाएको छैन- 'महिला अधिकारको रक्षा गर, आमाको नामबाट नागरिकता दे।'
यसपालिको स्थानीय चुनावमा भोट हाल्न जाने महिला/आमाहरूलाई विशेष अनुरोध- भोट हाल्न लाइनमा बसेका सप्पैले उम्मेदवारसँग प्रश्न गर्नुहोला 'आखिर कुन विशेष परिस्थितले आमाको नामबाट नागरिकता दिन मिल्ने कानुन सधैं घकेलिरहन्छ ?'
अनि अर्को विशेष अनुरोध- विद्यादेवी भण्डारी, शुसिला कार्की र ओन्सरी घर्तीमगर पनि आमाहरू हुन्। उनीहरूलाई तपाईंमध्ये कसैले नजिकैबाट चिन्नुहुन्छ भने मेरो प्रश्न गरिदिनुहोला 'उनीहरूले यो स्थानीय चुनावमा भोट हाल्न जान्छन् कि नाइँ/ भोट हाल्न पाउँछन् कि नाइँ? जान्छन् र पाउँछन् भने कुन अनुहार बोकेर जान्छन् र भोटहालेर आउँछन्?'