यसअघि २०७४ मा सम्पन्न स्थानीय तहकाे निर्वाचनमा रुपन्देहीको सैनामैना नगरपालिकाको मेयर पदमा चित्रबहादुर कार्की विजयी भएका थिए।
उनको ५ वर्षे कार्यकालमा सैनामैनामा कुनै ठूलो विवाद देखिएनन्। उनकै भनाईलाई मान्ने हो भने प्रतिस्पर्धी दलहरूले पनि विकासका काममा उनलाई सघाए।
कार्की आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सैनामैना नगरपालिकाकाे मेयरमा एमालेबाट पुन: उम्मेदवार बनेका छन्।
तत्कालीन मेयर कार्कीको कार्यकालमा के-कति कामहरू भए? कति वाचा पूरा भए, कति अधुरै रहे? यही सेरोफेरोमा रहेर उनको समीक्षाका विषयमा बिएल नेपाली सेवाका लागि नरेश चौधरीले गरेको कुराकानी ः
यसअघिकाे स्थानीय तह निर्वाचनमा सैनामैना नगरपालिकाको मेयरमा जित्नुभयो। कार्यकालको पाँच वर्ष पनि बित्यो। तपाईंले मेयर जितेर आउँदा कस्तो थियो, सैनामैनाको अवस्था?
विगतमा स्थानीय निकाय हुँदा लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्था र त्यसबाट सिर्जित समस्याहरु धेरै थिए। योबीचमा अधिकांश समस्याहरुकाे हामीले समाधान गरेका छौं। यद्यपी नागरिकका अपेक्षा बढ्दै जाँदा रहेछन्। हामीले पनि अझै थप गर्न पाए हुने थियो भन्ने लाग्ने रहेछ। नगरपालिकामा जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आउँदा नगरको आफ्नै प्रशासनिक भवन थिएन। घर भाडामा लिएर सेवा प्रवाह भइरहेको थियो।
विकेन्द्रीकृत रूपमा सेवाग्राहीलाई वडास्तरबाट सेवा प्रवाह गर्नुपर्ने पनि चुनौती थियो। त्यसका बाबजुत प्रत्येक वडाबाट पारदर्शी र प्रभावकारी ढंगले सहज पहुँच हुनेगरी सेवा प्रवाहलाई पहिलो प्रथामिकता दिएर काम थाल्यौं। जनप्रतिनिधि र कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता तर्जुमा गरी अधिकार प्रत्यायोजनसहित कामको बाँडफाँड गरेर काम थाल्यौं।
यस्तै कर्मचारीहरुको सांगठनिक संरचना तयार पारेर कार्यान्वयन गर्यौं। हाल भने नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ। निकै चुनौतीका साथ आएका थियौँ, पार लगाउन सक्यौं।
सैनामैनामा यस्ता चुनौतीसहित कसरी काम गर्ने योजना बन्यो?
साविकका तीन वटा गाविस गाभिएर बनेको एउटा ग्रामीण क्षेत्र भएकोले ऐन कानुन र गुरुयोजना निर्माणविना विकास गर्न कठिन थियो। यसर्थ संविधानले प्रत्याभूत गरेका पालिकाका अधिकारहरू प्रयोग गर्न पहिलो वर्ष करिब ३६ वटा ऐन कानुन बनायौँ। सँगै ‘समृद्ध सैनामैना’ बनाउन गुरुयोजना निर्माण गर्न थाल्यौं। जसमा नगरपालिकाले तत्कालै गर्नुपर्ने, बहुवर्षीय र दीर्घकालीन विकास निर्माणका कामलाई प्राथमिकताका आधारमा अगाडि बढायौँ।
दिगो अवधारणाका साथ कामलाई अगाडि बढाउने क्रममा सुरुमा भू-उपयोग योजना, नगर यातायात गुरुयोजना र नगर पाश्र्वचित्र समेटेर नगरपालिकाको गुरुयोजना बनायौँ। गुरुयोजनामा उठाएका विषयवस्तुलाई प्राथमिकताका साथ काम गरेर सफल भयौँ। हामीले पूर्वाधार विकासको क्षेत्रमा, सामाजिक सेवाको क्षेत्रमा र आर्थिक विकासको क्षेत्र, स्वास्थ्य, खेलकुद अनि संस्कृति संरक्षण, जग्गा संरक्षणलाई लगायतका विषयलाई ध्यानमा राखेर काम गर्यौं।
यस क्रममा अधिकांश योजना कार्यान्वयन भएका छन् भने केही योजनाहरू कार्यान्वयनको अन्तिम चरणमा रहेका छन्। समग्र विकासका लागि आवधिक योजनाहरुको कार्यान्वयन गर्दै दीर्घकालीन महत्वका योजनामा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्ने र थप चरणबद्ध कामको थालनी भइरहेको छ।
आत्मसमीक्षा गर्दा तपाईंको पाँच वर्षे कार्यकालमा सैनामैनाको मुख्य उपलब्धि के हो?
पूर्वाधार विकासको क्षेत्रमा मेरुदण्ड मानिने सैनामैना चक्रपथ निर्माणले सैनामैनाको परिचय थपिएको छ। यो एउटै पालिकाभित्र रहेको नेपालकै सबैभन्दा लामो चक्रपथ हो, ५३ किलोमिटर लामो छ। सैनामैनाका सबै वडाका साथै बुटवल तथा लुम्बिनीलाई सहायक मार्गबाट जोड्ने गरी यो चक्रपथ निर्माणको काम भइरहेको छ।
पूर्व-पश्चिम राजमार्ग, सालझण्डी–ढोरपाटन सडक, कलौनी–लुम्बिनी सडक र मुर्गिया–लुम्बिनी सडक चक्रपथका अन्य सम्पर्क सडकहरू हुन्। यी सडकहरू लगभग कालोपत्रे भइसकेका छन्। यसको काम ८० प्रतिशत सकियो, बाँकी असारसम्म पूरा हुन्छ।
यस्तै तिनाउ–दानव करिडोर, सैनामैना (ताली) लुम्बिनी–कक्रहवा सडक र सैनामैना मेजर रोडलगायतका सडकहरुको काम भइरहेको छ। सैनामैना वडा–१, २ , ३,४, ५, ६, ८, ९ र १० लाई जोड्ने करिब १५ किमि लामो मेजर रोडको हाल कालोपत्रे भएको छ।
त्यसैगरी आन्तरिक सडकहरू करबला–रामबस्ती–लेडुवा सडक, दुधराक्षचोक-मलमला सडक, मलमला मन्दिरमा सिंढी निर्माण, खकनपुर-झारबैरा सडकलगायतका अन्य सडकको अधिकांश काम सकिएको छ। यसबीचमा पालिकालाई धेरै सडक सञ्जाल भएको नगरपालिका भनेर समेत परिचित बनेको छ। यसका साथै नगरका विभिन्न भित्री सडकहरू स्तरोन्नति गर्ने, ग्राभेल गर्ने र कालोपत्रे गर्ने काम भएको छ। भित्री सडकहरूलाई मापदण्ड तोकेर सडक पेटी, नालीसहित निर्माण गरिएको छ।
नगरको अर्को मुख्य उपलब्धि लामिरह बहुउद्देश्यीय बाँध संघीय सरकार, लुम्बिनी प्रदेश र सैनामैना नगरपालिकाको लागत सहभागितामा बन्दैछ। यस्तै अर्को महत्वपूर्ण वहुवर्षीय आयोजनाका रूपमा रहेको नमुना ढल प्रशोधन केन्द्र वडा–३ र ४ मा बनेको छ। अन्तर स्थानीय तह फोहोर प्रशोधन तथा व्यवस्थापन केन्द्र, सैनामैना संग्रहालय, सैनामैना वडा–१ मा कृषि उपज संकलन केन्द्र, वडा–७ मा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र सैनामैना औद्योगिक ग्राम, सैनामैना नमुना बस्ती, सैनामैना सांस्कृतिक सहर र वडा–१ मा निर्माण हुने ज्येष्ठ नागरिक एवम् अपाङ्ग संरक्षण ग्राम लगायतका योजना बहुवर्षीय योजनाहरू थिए। यीमध्ये फोहोर प्रशोधन तथा व्यवस्थापनका लागि सैनामैना, बुटवल उपमहानगरपालिका र कञ्चन गाउँपालिकासमेतको सहकार्यमा प्रशोधन केन्द्रको निर्माण कार्य अगाडि बढेको छ। यहाँ रूपन्देहीका सबै पालिका तथा कपिलवस्तु र नवलपरासीका पालिकाबाटसमेत फोहोर व्यवस्थापन हुने गरी योजना अघि बढेको छ। यो नेपालकै नमुना योजना हो।
त्यस्तै नगरको वडा–७ देउवापारमा करिब ११ विगाह क्षेत्रफलमा रहेको क्रिकेट रंगशालामा कम्पाउन्ड वाल लगाउने र पिच निर्माण गर्ने काम भएको छ। करिब २२ विगाहा क्षेत्रफलमा निर्माण गर्न लागेको औद्योगिक ग्राम क्षेत्रमा पनि कम्पाउन्डवाल, कटिङ–फिलिङ र ट्रयाक निर्माणको काम मात्र भएको सम्पन्न भएको छ। नगरमा सैनामैना नमुना बस्ती अन्तर्गत १० वटा नमुना घरको निर्माण कार्य पुरा भइसकेको छ। वडा नं.३ मा इन्डोरसहितको कभर्डहल निर्माण भएको छ। यसैगरि वडा–६ मा पनि इन्डोरसहितको अर्को कभर्डहल निर्माण भएको छ।
दीर्घकालीन योजनाका अरु काम के गर्नुभयो ?
सैनामैना नगरपालिका ८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट निर्माण हुने भएको छ। नगरपालिका र सुन्दर ट्रेडर्स प्रालि काठमाडौंबीच कम्पनी सञ्चालन गर्ने सम्झौता भएको छ। नगरको भँडसी, भँड्छा र शङ्करपुर गरी तीनवटा टोलको करिब ९ बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण गर्न नगरपालिकाल २५ वर्षका लागि जग्गा लिजमा दिनेगरी सम्झौता गरिएको छ।
पहिलो चरणमा सैनामैनामा करिब तीन अर्ब ६० करोडको लगानीमा कम्पनी संचालनमा आउने छ। प्रालिले नगरमा विद्युतीय बस, मोटरसाइकल, जिप र कारहरू निर्माण गर्नेछ। प्लान्टले पहिलो वर्ष ३ सय सवारी साधन एसेम्बल गर्ने लक्ष्य लिएको छ। एसेम्बल प्लान्ट निर्माणपछि यहाँका स्थानीयले रोजगारी पाउने, वैदेशिक लगानी भित्रिने, राजश्व वृद्धि हुने, वातावरणमैत्री उद्योग स्थापना हुने, आर्थिक सामाजिक रुपान्तरण भई समृद्ध नगरपालिका बन्ने आधार तयार हुनेछ।
त्यस्तै यातायात सेवालाई व्यवस्थित गर्न वडा–१० सालझण्डीमा बसपार्क निर्माण गरी सञ्चालनमा ल्याइएको छ भने सैनामैना-९ पिपलडाँडामा प्रदेशस्तरीय रिफ्रेस सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो पनि देशकै नमुना योजना हो। राजमार्गमा संचालन हुने सवारी साधनका लागि ध्यानमा राखेर हामीले यो योजना प्रदेश सरकारको समन्वयमा अगाडि सारेका हौं।
सैनामैनामा विद्युतको लो-भोल्टेजलाई दीर्घकालीन रुपमा समाधानका लागि नगरमै विद्युतको सब-स्टेसन निर्माण गर्ने योजना अघि बढेको छ। संघीय सरकारको सहकार्यमा सैनामैना–९ पिपलडाँडामा रहेको उपयुक्त जग्गामा करिब १९ करोड बराबरको लागतमा दुई चरणमा सव–स्टेशन निर्माणको काम सुरु भएको छ।
शैक्षिक क्षेत्रको विकासमा के काम गर्नुभयो ?
नगरपालिकाले सामाजिक क्षेत्रको शिक्षा क्षेत्रलाई पनि महत्वका साथ अगाडि बढाएको छ। सुरुमै विद्यालयको सिकाई उपलब्धिस्तर मापन गर्यौँ। त्यतिबेलाको समयमा सामुदायिक विद्यालयको सिकाई स्तर ३० देखि ४० प्रतिशत र संस्थागत विद्यालयको ५० देखि ६० प्रतिशतसम्म थियो। त्यसले हामीलाई योजना बनाउन मद्दत गर्याैँ।
४ वर्षपछि फेरि मापन गर्दा न्युनतम सिकाइस्तर सामुदायिकमा ६० प्रतिशत र संस्थागतमा ७० प्रतिशत देखिएको छ। यस्तै सुरुको अवस्थामा नगरमा २७ वटा सामुदायिक विद्यालय थिए। पछि नगरपालिकाले सञ्चालनामा कठिनाइ भएका र कम विद्यार्थी भएका १० वटा विद्यालयलाई समायोजन गरेको थियो। यसरी काम गर्दाे अभिभावक र विद्यार्थीको रोजाईमा सामुदायिक विद्यालय पर्ने स्थिति सिर्जना भएको छ।
प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षामा जोडबल गर्दै सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई आइटीसम्बन्धि आधारभूत तालिम र नैतिक शिक्षा तालिम पनि प्रदान गरेका थियौँ। यसपछि प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाइ गराउने कार्यको थालेका छौँ।
यस्तै यसवर्षदेखि ‘एक शिक्षक एक ल्यापटप योजना’ अघि सारेका छौँ। विद्यालयको भौतिक संरचना, छात्राहरुका लागि सेनिटरी प्याड, दिवा खाजा लगायत आधारभूत विद्यालयमा आवश्यक पर्ने सुविधाहरू उपलब्ध गराउने प्रबन्ध मिलाएका छौं। प्रत्येक सामुदायिक विद्यालयमा शुद्ध खानेपानी उपलब्ध गराउनका लागि उच्च स्तरको फिल्टर नगरपालिकाले उपलब्ध गराएको छ।
नगरभित्रका बेरोजगार युवालाई स्वरोजागरमूलक कामका लागि दक्षता बढाउन कोरिया नेपाल इष्टिच्युट अफ टेक्नोलोजिमा मेकानिकल, इलेक्ट्रिक र अटो मोबाइल इन्जिनियरिङ्गतर्फ १८ महिने रोजागारमूलक तालिम दिइरहेका छौँ। नगरपालिकाबाटै महिला लक्षित विद्यालय पनि संचालनमा ल्याएका छौं।
स्वास्थ्य क्षेत्रमा के काम गर्नुभयो?
सुरुवातमा नगरको स्वास्थ्य क्षेत्र कमजोर थियो। हिजोको तुलनामा धेरै सुधारोन्मुख छ। स्वास्थ्य चौकीहरूप्रति सेवाग्राहीको विश्वास बढेको छ। तर चेतनास्तर बढाउन भने अझै जरुरी छ। नगरमा हाल सैनामैना-१ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय सञ्चालनमा छ। प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार हुन्छ।
कोभिड–१९ संक्रमणका बेला त्यहाँ अस्थायी अस्पताल पनि सञ्चालनमा ल्याएका थियौं। त्यस्तै संघीय सरकारको योजनाअनुसार १५ शैयाको अस्पतालका लागि सैनामैनाको वडा–४ मा ठेकेदार निर्माण कार्यका लागि सम्झौता भइसकेको छ। अस्पताल २ वर्षभित्र सञ्चालनमा ल्याउने नगरको योजना छ।
यसैगरी सैनामैना–१० सालझण्डीमा सर्पदंश प्राथमिक उपचार केन्द्र खोलेका छौँ। ११ वटै वडामा आधारभूत स्वास्थ्य चौकी पनि स्थापना भएका छन्। नगरमा २४ सै घण्टा बर्थिङ सेन्टर, १० वटा गाउँ घर क्लिनिक र १० वटा नै खोप केन्द्रबाट नियमित सेवा प्रवाह भइरहेको छ। त्यसैले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको छ। प्राकृतिक चिकित्सालयलाई लुम्बिनी प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने योजना बनाएका छौं।
सैनामैना कृषिको उर्वर क्षेत्र हो। किसानले ५ वर्ष कार्यकालमा के पाए?
यसको हामीले कडा कार्यविधि बनाएका छौं। सैनामैनामा रहेका किसानले मागेजति अनुदान पाएका छन्। सुरुमा केही प्रभावकारी नभएको पाइएपछि किसानले ५० प्रतिशत लगानी गरे जुनसुकै प्रविधिमा हामीले ५० प्रतिशत अनुदान दिने कार्यविधि बनाएर लाागू गरेका छौँ। यसले वास्तविक किसानलाई फाइदा भएको छ।
आर्थिक विकासतर्फ नगरपालिकाले कृषि र पशुपालन गर्ने किसानहरूलाई प्रोत्साहन गरिरहेको छ। कृषितर्फ विशेष गरी नगरपालिकामा कृषकहरुका लागि ११ वटै वडामा टनेल निर्माण गर्नका लागि अनुदान उपलब्ध गराइएको छ। किसानलाई शाखाले अनुदान उपलब्ध गराउँदै आएको छ।
रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न नगरको सबै वडामा गड्यौली (भर्मी मल) मल बनाउने विधि र अनुदान कृषकहरुलाई प्रदान गरिएको छ भने कम्पोस्ट मल बनाउन समेत किसानहरूलाई प्रोत्साहन गर्दै आएको छ।
नगरमा मागमा आधारित अनुदान, सिँचाई पूर्वाधार निर्माण, प्रत्येक वडामा कृषि पाठशाला, आइपिएम प्रविधिबाट तालिम, किसानलाई नै कृषि सहजकर्ताको रूपमा तयार गर्ने, आधुनिक कृषि उत्पादनको प्रविधि हस्तान्तरण गर्ने कामलाई मुख्य प्रथामिकतामा राखिएको छ।
सैनामैनाको ११ वटै वटामा कृषक पाठशाला संचालन गरी करिब २०० जना दक्षता हासिल गरेका तालिम प्रर्याप्त कृषकहरू तयार भएका छन्। नगरमा दुध मासु र अण्डामा आत्मनिर्भर गराउँदै अरु कृषि उपजमा पनि आत्मनिर्भर बनाउने गरी योजनाबद्ध काम हुँदै आएका छन्।
साामुहिक खेती, एकीकृत कृषि प्रणालीलाई प्रथामिकता दिँदै चाक्लाबन्दी गर्ने लगायतका कामलाई प्रोत्साहन गर्ने काम भएको छ। त्यस्तै मुर्गिया, कलौनी, सालझण्डीमा रहेका अव्यवस्थित साप्ताहिक हाटबजारलाई पायक पर्ने उपयुक्त स्थानमा स्थानान्तरण गर्ने काम भएको छ।
सैनामैना नगरपालिका र युएनडिपीको साझेदारीमा कोभिड १९ बाट रोजगारी गुमाएका १६ विपन्न घरपरिवार छनोट गरेर जग्गा उपलब्ध गराई आवश्यक बीउ, मल र प्रविधि उपलब्ध गरेर बहुतले कृषि तथा फलफूल उत्पादन कृषक फर्म सञ्चालन भइरहेको छ।
अहिलेको स्थानीय तहलाई अधिकार क्षेत्रभित्र रहेर आफूलाई चाहिने कानुन बनाउन पाउने अधिकार दिएको छ। पाँच वर्षको समयमा के कति कानुन बने ? कसरी काम भयो ?
हालसम्म सैनामैनामा ८५ वटा कानुन निर्माण भएका छन्। स्थानीय सरकार चलाउन संविधानले दिएको अधिकारमा नगरमा ऐन तथा नियमावली बनाएका छौं। न्यायिक निरुपणलाई सहज बनाउन तथा विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्न मेलमिलापकर्ता छनौट गरी तालिमसहित खटाइएको छ। पालिकामा इजलास निर्माण गरी इजलासबाटै न्यायिक निरुपणका कार्य अगाडि बढिरहेको छ।
चुनावमा जनतासँग गरेका बाचाहरूमध्ये के काम गर्न सकिनँ भन्ने पछुतो छ ?
मैले चुनावी प्रतिबद्धतामा घोषणा गरेको लालपुर्जाविहीन रहेका यहाँका नागरिकलाई पुर्जा दिने भनेको थिएँ। जुन पूरा गर्न सकिनँ। पालिकाको तर्फबाट यसका सबै प्रक्रिया पूरा गरिएको छ। प्रक्रियाको अन्तिम चरणमा रहेको बेला संघीय आयोग फेरियो। जसले ढिलाई भएको छ।
अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने, भूमिहिनलाई जग्गाधनी प्रमाणपत्र पुर्जा दिने कामका लागि पालिकाको सबै काम सकिएका छन्। नगरभित्र नापी भइसकेका साविक पर्रोहा र सालझण्डीको गाउँब्लक जग्गाहरूको फिल्ड र श्रेस्ता जाँच गरी जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ। जसमा ४ वर्षको अवधिमा करिब ८ सय जनाले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन्, भने बाँकी नागरिक भने लालपुर्जा पाउन सकेनन्। नगरभित्रको ११ वटै वडामा लागत संकलन गरिसकिएको छ। लागत संकलनपश्चात जग्गा नापजाँचका लागि आवश्यक सबै वडामा करिब १ सय ३० वटा कन्ट्रोल पोइन्ट स्थापना गरिएको छ।
सामाजिक सुरक्षाका काममा के-के गर्नुभयो ?
८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बैंकमा पुग्न नपर्ने गरी व्यवस्था मिलाएका छौं। महिला, बालबालिका तथा अपाङ्गता भएका नागरिकलाई लक्षित कार्यक्रम पनि चलाएका छौं।
विपन्न वर्गका महिलालाई सीप सिकाउने र आत्मनिर्भर बनाउन महिलासँग उपप्रमुख कार्यक्रम ल्याएको छौं। बालबालिकाको क्षेत्रमा एकसय १० बालक्लव गठन गरेर ती क्लबमार्फत कार्यक्रमहरू भइरहेका छन्। अपांङ्गताका भएका व्यक्तिलाई लक्षित गरी क्षमता विकासका तालिमहरू सञ्चालन गर्दै आएका छौं।
सैनामैना लुम्बिनी र बुटवलसँग जोडिएको पालिका हो, जुन लुम्बिनी पर्यटन करिडोरभित्र पर्छ। यहाँको पर्यटन क्षेत्रको विकासमा के काम गर्नुभयो ?
नेपाल सरकारले घोषणा गरेका ‘१०० पर्यटकीय गन्तव्य’ मध्ये सैनामैना नगरपालिका पर्छ। यसलाई ऐतिहासिक बुद्धको सहर भनेर समेत चिनाउन सकिन्छ। यहाँ बुद्धसँग सम्बन्धित मुर्ति र भग्नावशेषहरु फेला परेका छन्। दोस्रो पशुपतिनाथ भनेर चिनिने श्री पर्रोहा परमेशवर ज्योर्तिलिङ्ग बोलबम धामलाई प्रदेशकै प्रमुख धार्मिक एवं ऐतिहासिक पर्यटकीयस्थल बनाउने लक्ष्यसहित पालिकाले गुरुयोजना बनाएको छ।
धाममा मूल मन्दिरसहितका संरचनाहरू निर्माण गर्न १४ करोड बढी लागत लाग्नेछ। पहिलो चरणमा धाममा प्यागोडा शैलीमा तामाको छानोसहित दुईतले मूल मन्दिर बनाउन ६ करोड ५७ लाखमा ठेक्का सम्झौता भइसकेको छ।
सैनामैना–३ मुर्गियामा रहेको दुर्गा मन्दिरमा नेपालमै पहिलो पटक शैलपुत्री शक्तिपीठ मन्दिरको निर्माण गरिँदै छ। नगरपालिकाले डिपिआर गरिसकेको छ। त्यस्तै नगरलाई सौन्दर्यकरण गर्न वडा–१ को समावेशी पार्क, वडा–६ स्थित मलमला पर्यटकीय क्षेत्र, वडा नं.९ स्थित बालउद्यान, वडा–१० स्थित फूलवारी पार्क र वडा–११ स्थित राजापानीको जलाधार संरक्षण क्षेत्रको डीपीआर तयार गरिसकेका छौं। बुद्धकालीन सभ्यतालाई संरक्षण गर्नका लागि संग्रहालय निर्माण गर्ने योजना अघि बढाएका छौं। थारु समुदायको संस्कृतिको संरक्षण गरी पर्यटन प्रवर्द्धनको लागि वडा–२ उछ्टिहवामा थारु होमस्टेलाई विकसित गर्दैछौँ।
खेल क्षेत्रको विकासमा के काम गर्नुभयो ?
नगरपालिकाभित्र नगर खेलकूद विकास समिति गठन गरी खेलकुदका गतिविधि भएका छन्। एक वडा एक खेलमैदानको नीति बनाएर कार्यान्वयन भइरहेको छ। त्यसैगरी वडा–४ मुर्गियामा फुटबल रंगाशाला निर्माणका लागि काम भइरहेको छ। वडा–४ अन्तर्गत नै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी सञ्चालनमा आएको छ।
अन्य पालिकाभन्दा केही फरक कुनै काम गरेँ जस्तो लाग्छ ?
अन्तरपालिका विपद् व्यवस्थापन योजना, अन्तर स्थानीय तह फोहोर उत्सर्जन केन्द्र, प्रशोधन केन्द्रको थालनी, बेरोजगार कोभिड पीडितलाई निःशुल्क सामूहिक खेती योजनाबाट सामूहिक उत्पादन प्रणालीको सुरुवात सैनामैनाका केही फरक काम हुन्। यसका साथै कृषिको उत्पादकत्व वृद्धि गर्ने, किसानलाई प्रोत्साहन गर्ने काम भएका छन्।
विकासका काममा अन्य दलबाट साथ पाउनुभयो त ?
पाँच वर्षको अवधिमा कुनै पनि राजनीतिक दललाई आग्रह पूर्वाग्रह राखिएन। समानको व्यवहार गरियो। हामीले गरेको चुनावी प्रतिबद्धता र अरु दलका घोषणापत्रलाई समेत समेटेर हामीले नगरको गुरुयोजना बनाएका हौं।
पहिलो कार्यकाल भएकाले पनि चुनावी प्रतिस्पर्धी नसम्झेर सबैसंग समन्वय गरेर काम गरियो। यो अवधिमा कुनै दलले विकासमा भाँजो हाल्ने काम गरेनन्। सबैको सहकार्य र सहभागितामा डीपीआरदेखि योजना सम्पन्न गर्ने काम भएको छ। यो सुन्दर पक्ष हो। दलहरुबाट, नागरिक अगुवाहरुबाट, सञ्चार जगतबाट निकै सकारात्मक सहयोग भयो।