आफ्नो दललाई जिताउन आचारसंहिता नाघेर उपमेयरको दौडधुप

Breaknlinks
Breaknlinks

पथरी शनिश्चरे नगरपालिकाकी उपमेयर यमुना विष्ट बाँस्तोलाले निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेको पाइएको छ।

नेकपा (एमाले) मोरङको जिल्ला कमिटी सदस्य समेत रहेकी उपमेयर बाँस्तोलाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम जारी निर्वाचन आचारसंहिता २०७८ विपरीत नेकपा (एमाले)को उम्मेदवारहरुको पक्षमा भोट माग्दै हिँडेको पाइएको हो।

पथरी शनिश्चरे नगरपालिकाको उपमेयर पदमा बहाल रहेकै अवस्थामा बाँस्तोलाले पार्टीको चुनावी अभियानमा सरकारी गाडीको समेत दुरुपयोग गरेकी छिन भने नगरपालिकाको बजेटबाट विपन्न बस्तिमा बाख्रा वितरण गरेर मतदातालाई प्रभावित पार्ने कोसिस गरेकी छिन।

उपमेयर बाँस्तोला एकै दिन नगरपालिकाको वितरणमुखी कार्यक्रमहरु लिएर विपन्न बस्तिहरु पुग्ने गरेकी छिन भने सोही दिन पार्टीका उम्मेदवारहरुसँग चुनावी प्रचारप्रसारमा समेत हिँड्ने गरेको पाइएको छ।

बाँस्तोलाले गत बिहीबार वडा नं. ४, ८ र ९ मा नगरपालिकाको महिला लक्षित कार्यक्रमबाट १८ जनालाई बाख्रा वितरण गरेकी थिइन भने सोही दिन वडा नं. १ को चुनावी अभियानमा सहभागी भएकी थिइन। यसअघि बुधबार पनि उपमेयर बाँस्तोलाले नगरपालिकाको लघु उद्यम कार्यक्रमको नाउँमा वडा नं ४ र ९ का किसानहरुलाई प्लाष्टिक टनेल वितरण गरेकी थिइन भने सोही दिन वडा नं. ५ मा एमालेको चुनावी घरदैलो कार्यक्रममा सहभागी भएकी थिइन।

बाँस्तोलाले सामाजिक सञ्जालमार्फत् समेत खुलेआम एमालेलाई मतदान गरेर जिताउन आग्रह गर्दै आएकि छिन। बहालवाला उपमेयरले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गर्दा समेत निर्वाचन कार्यालयले भने कुनै प्रतिक्रिया दिएको छैन।

स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा निर्वाचन कार्यालयले आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गरि उल्लंघन भएको पाइए तुरुन्त रोक लगाउनुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: : 2022-05-01 18:25:00

प्रतिकृया दिनुहोस्