न्यादी जलविद्युत आयोजनाबाट विद्युत परीक्षण उत्पादन सुरु

लमजुङको न्यादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले विद्युतको परीक्षण उत्पादन सुरु गरेको छ।

चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी विद्युतगृह सञ्चालन गरिरहेको सिनो हाइड्रो सगरमाथा कम्पनीले असहयोग गरेका कारण आयोजनाको उत्पादन साढे २ महिना ढिलो हुन गएको छ।

अहिले सबै कुरा मिलिसकेको हुँदा विद्युत उत्पादनको चरणमा पुगेको न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए। आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले–मध्यमस्र्याङ्दी  १३२ केभी प्रसारण लाइनमा जोडिने छ। ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत उत्पादन हुनेछ।

सन् २००० मा लमजुङ विद्युत विकास कम्पनी (लेड्को) ले आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो। बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेड र लेड्कोको सहमतिपछि २०६३ फागुन १७ गते न्यादी कम्पनी खोलेर आयोजना अगाडि बढाइयो। सुरुमा २० मेगावाट पहिचान भएको आयोजना क्षमता विस्तार गरी ३० मेगावाट पुर्याइएको थिाो।

विद्युत उत्पादन गर्न न्यादी खोलामा बाँध बाँधेर फर्काइएको पानी करिब ४ किलोमिटर सुरुङ र साढे ७ सय मिटरको पेटस्टक पाइपबाट ठूलीबेँसीस्थित विद्युतगृहमा खसालिएको छ। आयोजनाको सिभिलतर्फको निर्माणको जिम्मा चीनको झेजियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले अध्ययन, खरिद र निर्माण (इपिसी) मोडलमा पूरा गरेको छ। कम्पनीसँग २०७३ साल माघ ३ गते ठेक्का सम्झौता गरिएको थियो।

आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले आयोजनामा लगानी गरेका छन्। नबिल, ग्लोबल आइएमई, हिमालयन, सनराइज बैंक तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को लगानी छ। नेपाल विद्युत प्राधिकरणका प्राविधिकले परीक्षण सुरु गरेको हुँदा केही दिनभित्रै व्यापारिक उत्पादन हुनेछ।
 

प्रकाशित मिति: : 2022-04-22 18:38:00

प्रतिकृया दिनुहोस्