अतिक्रमित भूमि नजिकको छाङ र तिंकरको मतदान केन्द्र निरीक्षण

file photo
file photo

भारतले अतिक्रमण गरेको कालापानी नजिकको क्षेत्रमा स्थानीय तह निर्वाचनको लागि जिल्ला सुरक्षा समितिले आज अनुगमन निरीक्षण गरेको छ। 

नेपाली सेनाको हेलिकोप्टर मार्फत छाङ रु पुगेर मतदान स्थल लगायत सुरक्षा व्यवस्थाको अनुगमन गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

छाङ रु पुगेको सुरक्षा समिति र नेपाली सेनाको टोलीले त्यहाँ स्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्म र प्रहरी चौकीको पनि निरीक्षण अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। त्यस क्षेत्र सम्म पुग्नका लागि नेपाली क्षेत्रमा बाटो नभएकाले निर्वाचनमा खटिने सुरक्षाकर्मी त्यहीबाट व्यवस्थापन गर्ने योजना रहेको उनले बताए। निर्वाचन सामग्री र कर्मचारीहरूलाई भने हेलिकोप्टरमार्फत पुगाइने छ।

व्यास गाउँपालिकाको वडा नम्बर १ छाङ रु र तिंकरमा दुई वटा मतदान केन्द्र छन्। निर्वाचनका लागि मतदाता भने अझै गाउँ पुगिसकेका छैनन्। हिउँदमा चिसो छल्न दार्चुला सदरमुकाम झरेका ब्यासवासी भारतको बाटो भएर गाउँ जाने तयारीमा रहेका छन्। 

भारतको बाटो प्रयोग गर्नका लागि त्यहाँका दुई सय परिवारलाई भारतीय प्रशासनको अनुमति प्राप्त भइसकेको व्यास गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए। उनका अनुसार छाङ रु र तिंकरका बासिन्दा भारतीय बाटो भएर केही दिनमा गाउँतिर जाने तयारीमा रहेका छन्।

प्रकाशित मिति: : 2022-04-21 20:34:00

प्रतिकृया दिनुहोस्