बुटवलको सहरी कृषि प्रवर्द्धन कार्यक्रम मुलुकमै अनुकरणीय
बुटवलको चौराहामा चहलपहलका बिच टायल मार्बल र हार्डवेयरका सामान बेच्न व्यस्त रहने सेमलारमा खमबहादुर थापा आजभोलि तरकारी खेतीमा रमाउन थालेका छन्। २० हजारबाट सुरु भएको उनको तरकारी खेतीको यात्रा अहिले लाखको हाराहारीमा पुगेको छ।
आफ्नै स्वामित्वको जमिनमा दुई वर्षअघि एक्लै व्यवसायिक खेती थालेका थापा आजकाल १२ जना स्थानीय कृषकहरूसँगै काममा हुन्छन्। उनकै नेतृत्वमा कृषक समूहको पनि गठन भएको छ।
गाउँमै तरकारी संकलन तथा बिक्री केन्द्र सञ्चालन भएको छ। केही कृषक, कृषक समूह र स्थानीय सहकारीको समेत लगानी रहनेगरी बुटवल जैविक कृषिउपज संकलन सहकारी संस्थाको गठन भएको छ। समय बिताउन साँझ-बिहान वरपर टहलिने र गफिने उनीहरू आजभोलि बिहान घाम नझुल्कँदै खेतमा पुग्छन् र तरकारीको गोडमेलमा लाग्छन्।
खमबहादुरको समूह प्रायः बिहान ४ बजे नै उठ्छ। घरायसी काम सखारै सक्छन् र ६ बज्दा नबज्दै सामूहिक खेतीमा जुट्छन्। प्रत्येक घरका एक-एकजना निस्कने नियम छ। कोही गोडमेल गर्छन्, कोही रोग फैलाउने किरा छन् कि भनेर हेर्छन् त कोही टिप्न तयार भएका तरकारीहरू टिप्छन्।
समूहका सचिव ६६ वर्षीय चिरञ्जीवी लम्साल अलि रसिला छन्। उनी कथा-कहानी सुनाउँदै काम गर्छन्। काममा लाग्नेलाई हसाँएर समूह सदस्यहरूको थकाइ मारिदिन्छन्। शिक्षण पेसाबाट सेवा निवृत्त भएका लम्साल २०७२ सालमा बसाइ सरेर सेमलारको यो बस्तीमा आएका हुन्। तराई त झरियो के कसो हुन्छ भन्ने आशंका मिश्रित डर मनमा लुकाएर हिँडेका उनलाई सामूहिक तरकारी खेतीले फुरुङ्ग गराएको छ।
जग्गा भाडामा लिएर खेती गर्नेलाई प्रोत्साहन
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ को सेमलार बजारदेखि दक्षिण पश्चिममा रहेको सिर्जना टोलमा स्थापित जागरुक बहुउद्देश्यीय कृषक समूह थोरै लगानीमा पनि तरकारी खेतीबाट जीवन चलाउन सकिन्छ भन्ने उदाहरण बन्दै गएको छ।
वार्षिक प्रतिकठ्ठा २ हजारको दरले भाडा तिरेर २२ कठ्ठामा लगाएको तरकारी खेतीमा अहिले काँक्रा, टमाटर, फर्सीका मुन्टा तयार भएर दैनिक बिक्रीमा छन्। हलहल्ती मल्केर झाँगिएका थरिथरिका वोडी, घिरौंला र करेला अब फल लाग्ने तयारीमा छन्। कतै भर्खरै लगाइएका खुर्सानी, फर्सी, काँक्रा, सिम्लामिर्चहरू भर्खर जमिन छोड्दैछन्। हेर्दै रहर लाग्दो यो तरकारी खेतीको सुरुवात त्यति सजिलो भने थिएन।
समूहका अध्यक्ष खमबहादुर थापा आफ्नो पुरानो व्यापारभन्दा यसैलाई समय दिँदैछन्। उनकै सोच र नेतृत्वमा समूहले गति लिएको हो। सामूहिक खेतीको सुरुवातबारे उनी भन्छन्, ‘कोरोनाले टायल, मार्बलको पसल नचलेको बेला के गर्ने, कसो गर्ने भनेर सोच्दै थिएँ, बुटवले सुरु गरेको सहरी कृषि प्रवर्द्धन कार्यक्रमले मालामाल बनायो।’
२०७७ जेठ महिनाको एक दिन बुटवल उपमहानगरपालिकाले कोरोनाको विशेष कार्यक्रमअन्तर्गत तरकारी खेतीको लागि उपमहानगरले निवेदन मागेको थियो। बढीमा ४० हजारको कार्यक्रम थियो। त्यो पनि ५० प्रतिशत उपमहानगरपालिका र ५० प्रतिशत निवेदकको लगानीमा काम गर्नुपर्ने सर्त। जे होला भनेर निवेदन दिएका थापाजस्ता धेरैलाई यो कार्यक्रम फलिफाप भयो।
तीन कठ्ठामा लगाएको बोडी १५ क्वीन्टल फल्यो। पहिलो लटमै मैले डेढलाख आम्दानी गरिसकेको थापाको भनाइ छ। खमबहादुरलाई व्यावसायिक तरकारी खेतीको यो नै पहिलो अनुभव थियो। राम्रो भएपछि उपमहानगरपालिकाबाट पष्मुक शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यसहित पुगेको प्राविधिक टोलीले धन्यवाद पनि दियो। अनि समूह बनाएर काम गरेका थापाजस्ता धेरै किसानका लागि बरदान सावित भयो।
प्राविधिक ज्ञान, सीप, उपकरण, बीऊ बिजन र सुविधा पाएपछि को थप सहकार्य गर्ने र सुविधा पनि पाएपछि किसानहरुमा हौसला बढेको छ। खेती गर्न जमिन नहुनेले पनि कौसीमा खेती गर्न थालेका छन्। कोरोनाले घरभित्रै थन्किएका धेरैलाई काममा जोडिने अवसर सिर्जना भयो। थापासहितका स्थानीय १३ जना मिलेर २०७७ असोजमा जागरुक बहुउद्देश्यीय कृषक समूह गठन गर्यौ। समूहका सदस्यले सुरुमा १०-१० हजार उठाए। गाउँकै २२ कठ्ठा जग्गा भाडामा लिएर काम सुरु गरे।
थोरै समयमा नै उनीहरूले व्यावसायिक कृषिको लागि व्यवस्थित योजना बनाए। काम थाल्न पैसा अघि लगाउन पर्ने। खोजविन गर्दै जाँदा उपमहानगरपालिकाको अर्को योजना पनि भेटाए। तर १३ लाखको सो कार्यक्रमको लागि उपभोक्ता कृषकले आधा लगानी गर्नै पर्ने प्रावधान रहेछ।
कृषकसँग पैसा उठाउने सम्भावना उनीहरूले देखेनन्। नजिकका सहकारी र बैंकमा धाए तर ऋण सापटीको केही उपाए लागेन। बरु ५/७ हजार अनुदान धेरैले दिए। नमूना महिला सहकारीले भने उनीहरूलाई पत्यायो र ऋण लगानी गर्ने भयो। उनीहरू जोस र जाँगरका साथ काममा जम्न थाले। अहिले उनीहरूले जैविक मल र विषादी पनि आफैँ बनाउँछन्। त्यसको प्रयोग गरेपछि तरकारीको गुणस्तर पनि सुरक्षित भएको छ।
एक गाउँ, एक उत्पादन
बुटवलका कृषि विकास शाखा प्रमूख सन्तोष जिसीले उनीहरूको काममा हौसला थप्ने र केही सुझावहरू पनि दिँदै गए। वडाध्यक्ष डम्बरबहादुर भण्डारीले पनि चासो र साथ दिए। २०७७ माघमा उपमहानगरपालिकाको कोभिड विशेष कृषि कार्यक्रमअन्तर्गत ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमको तरकारी बाली अनुदान पाउन पनि यो कृषक समूह सफल भयो।
उपमहानगरपालिकाबाट ३ लाख ८२ हजार, कृषक समूहको ३ लाख ६१ हजार र अन्य सहयोग ३६ हजार गरी कुल ७ लाख ८१ हजारको यो कार्यक्रमले जागरुक कृषि सहकारीका कृषकहरूलाई सहकारीको नामजस्तै जागृत बनाएको छ। २०७८ चैतमा यो परियोजना सकिएतापनि जागरुकको कामको गति घटेको छैन, बरु दिनानुदिन विस्तारित हुँदैछ।
जागरुक कृषि समूहको परिवारमा स्थानीय सेवानिवृत्त शिक्षक, नेपाली सेना तथा वैदेशिक रोजगारबाट फर्केका र कोरोनाका कारण विदेश जान नपाएर बसेकाहरू समेत छन्। अहिलेसम्म उनीहरूले घरबाट प्रतिघर १० हजार मात्रै नगद उठाएका छन्। तर काम भने १० लाखभन्दा बढीको गरेका छन्।
आँटेपछि हुँदो रहेछ भन्ने अनुभव उनीहरूले गरेका छन्। तरकारीबाट आम्दानी धेरै भएको बेला ज्याला पनि धेरै हुन्छ। थोरै भएको बेला थोरै हुन्छ। यसरी आफ्नै कामको ज्याला पाउँदा उनीहरूलाई घर खर्च चलाउन पनि सजिलो भएको छ।
कोषाध्यक्ष टीकाकुमारी थापा भन्छिन्, ‘अरुकोमा ज्याला मजदुरी गर्न जान परेन। कसैको अधिनमा बस्नु पनि परेन। सँगै काम गरेर नाफाअनुसारको ज्याला बाँड्न थालेपछि सबैको मन खुसी छ। काठमाडाैँ कताकताबाट हाम्रो समूह हेर्न आउनुहुन्छ। धेरैले चासो लिनुभएको छ। हामीलाई हौसला पनि दिनुहुन्छ। त्यो सुन्दा राम्रै गरिएको रैछ जस्तो लाग्छ’, उनले थपिन्।
खेतबारीमै किन्न आउँछन् उपभोक्ता
पर्वत, बाग्लुङ्ग, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लाबाट बसाइ सरेर बुटवलको सेमलार आएका उनीहरूले घरघरमा निर्वाहको लागि फलफूल तथा तरकारी खेती गरे। परिवारका एक/दुई जना कुनै न कुनै जागिर तथा पसल व्यवसायमा थिए। तर, कोरोना संक्रमणको त्रासको बेला व्यापार व्यावसाय ठप्प भयो। मानिसहरूमा स्वदेश र गाउँ-ठाउँका तरकारी, फलफूलको खोजी हुन थाल्यो।
उनीहरूले पनि घरघरमै केही बढाएर तरकारी खेती गर्न थाले। केही हुन्छ कि भन्ने उत्साहले थालिएको तरकारी केही त राम्ररी बिक्यो। तर कतिकति बेला भने तरकारी उत्पादन राम्रो भएपनि बिक्री भएन। कहिलेकाहिँ त नजिकका बँगुर फारामलाई अनुरोध गरेर पचास रुपैयाँ बोरा काउली लैजान पनि भनियो। अगुवा कृषकहरूको पहलले अहिले भने तरकारी फलाउन सकेमात्र भयो। घर–घर, खेत–खेतमै तरकारी लिने गाडी आउँछन् र लैजान्छन्। दैनिक ६–८ हजारको तरकारी बिकेकै हुन्छ।
बुटवल उपमहानगरपालिकाको सहकार्यमा कृषक समूहले २ वटा हाते ट्याक्टर, मल तथा तरकारी बोक्ने ठेला, थोपा सिंचाइ, मल्चीङ्ग प्लाष्टिक र बलियो टनेल बलाउन सकेका छन्। कृषक समूहका उपाध्यक्ष दुर्गा घिमिरेका अनुसार सामूहिक कृषि खेतीले घरघरमा गरिने खेतीमा पनि प्रविधिको प्रयोग बढेको छ।
घरका नर्सरी र तरकारी खेतीमा उनीहरूले तापक्रम सन्तुलन बढाउने फोगरा प्रविधि पनि जोडेका छन्। समूहमा काम गर्न थालेपछि उनीहरूलाई अवकास पछिको समय बिताउन पनि सजिलो भएको छ। समूहका सदस्यबीच आत्मियता पनि बढेको छ। व्यावसायिक खेतीमा अनुभवहरू थपिएको छ।
गाउँका कृषकको तरकारीलाई सजिलोसँग बजार र उपभोक्तासम्म पुर्याउन अहिले सिर्जना टोलबाट केही पूर्वको गाउँ उजेलापूरमा अर्गानिक कृषि उपज संकलन केन्द्र तथा सहकारी पनि खुलेको छ। २०७६ सालमा खुलेको केन्द्रले किसानको तरकारी उठाउने काम गर्यो।
जागरुक कृषक समूह पनि त्यसको सदस्य छ। यो सँगै नगरभित्रमा ८ वटा कृषक समूह, १ सहकारी र बाँकी किसानहरू नै व्यक्तिगत रुपमा सदस्य बनेर १७ जनाको सहभागितामा हाल यो सहकारीको रुपमा दर्ता भएको छ।
लकडाउनको बेला स्थानीय किसानलाई तरकारी बेच्न समस्या परेपछि कृषि उपज संकलन केन्द्र खोल्ने सोच आएको केन्द्रका अध्यक्ष रामनाथ मालीले बताए। ‘हामीले पहिला कृषि एम्बुलेन्स चलाउने सोचेका थियौं। पछि प्रक्रिया बुझ्दै जाँदा समूह बनाएर धेरै तरकारी भएपछिमात्रै त्यसो गर्न सकिने थाहा भयो’, उनले भने।
उपमहानगरपालिकाका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, कृषि शाखा प्रमुख जिसी तथा विभिन्न वडाका अध्यक्षहरुले कृषि विकासका सम्भावनाका बारेमा विज्ञहरुसंग पनि छलफल गर्न थाले, किसानसंग समस्याका बारेमा छलफल चलाए र समाधानका उपाय बनाए।
कृषकले घरमै बसेर आफ्नै मोबाइलबाट बजारमा आफ्नो तरकारी कतिमा बिक्यो भन्ने जानकारी पाउने व्यवस्था गरिएको छ। तरकारी लगाउन नभ्याउनेले संकलन केन्द्रमा आएर तरकारी किनेर लग्छन्। गाउँमा पाएको यो सुविधाले उनीहरूमा धेरै सजिलो भएको छ।
बुटवल उपमहानगरपालिकाले सहरी कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत यो कामलाई सहयोग गरेको हो। वडा नम्बर १५ सेमलारमा जस्तै अन्य ठाउँमा गरी १६ वटा कृषक समूहहरू दर्ता भइ काम गरिरहेको र व्यक्तिगत रुपमा पनि घर वरपर तथा कौसीखेती पनि बढ्दो क्रममा रहेको कृषि शाखा प्रमूख जिसीले बताए।
बुटवलको यो अभ्यासले सहरमा केवल चिल्ला बाटाे मात्रै होइन, खेतीपाती पनि सम्भव छ भन्ने देखाएको छ। सहरका मानिसहरू काम गर्न खोज्दैनन् भन्ने कुरालाई चुनौती दिँदै मिलेर काम गर्दा कम लगानीमा पनि ठूलो योजना सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई पुष्टि गरेको छ।
यसरी सानो समूह, सानो लागानीबाट सुरुवात गरेको सामूहिक तरकारी खेतीले किसानहरूमा जागरण मात्र ल्याएको छैन, कोराेनाको कारणले अस्ताउँदै गएको व्यापार-व्यावसायमा चाँदीको चम्किलो घेरासमेत देखिन थालेको छ। यसलाई उज्यालोको संकेतको रुपमा लिन र बुझ्न सकिन्छ।