भित्तामा बिक्रम सम्बतको पात्रो फेरिनै लागेको छ। पहिला यो भित्ता ढुंगा, माटो, इटा, सिमेन्ट, काठ यस्तै यस्तैको हुन्थ्यो, हिजोआज यो भित्ता अरू नै केहीले बन्छ। प्रविधिमैत्री आजका धेरै मानिस चरम उपभोक्ता भएका छन् र यसलाई ‘स्क्रिन’ भन्न थालेका छन्।
मेरो घरदेश नेपालमा बिक्रम सम्बत् २०७९ को पहिलो घाम झुल्किसक्यो, म भने त्योभन्दा पश्चिम गोलार्द्धको परदेश अमेरिकामा छु, अझै मलाई त्यो घामको झुल्को पाउँन अरू केही घण्टा पर्खनुपर्ने हुन्छ, अहिले म त्यसैको प्रतिक्षामा छु।
आज म जहाँ छु, त्यहाँ बिक्रम सम्बतको प्रयोजन छैन। तर, म बिक्रम सम्बतमै जन्मे र त्यहीमा जीवन नाप्दै आधा बाटो नाघिसकेँ। २०२३ यता २०७३ सम्म, आधा शताव्दी नै नापेछु बिक्रम सम्बतमा जीवन। हो, अहिले दैनिक जीवनमा यसको प्रयोजन छैन, तर यसो भन्दैमा म योसँगको नाता तोड्न सक्दिन।
मेरो घरदेशको जीवन र जिन्दगीहरू अहिले पनि यसैमा नापिन्छन्, वैशाख १ देखि चैत ३१सम्म। वैशाख १ गते वर्ष सुरू हुँदा शुभकामना दिइन्छन्, यो गर्ने र त्यो गर्ने भनेर योजना बनाइन्छन्। जब चैत ३१ गते हुन्छ, फेरि अर्को वर्षका लागि शुभकामना त नवीकरण गरिन्छन् तर ३६४ दिनअघि बनाइएका योजनाहरू भने लगभग अधुरै हुन्छन्।
यही नियमित आकस्मिकतामा बिक्रम सम्बतका सालहरू रेलको डिब्बा जस्तै आउने जाने गरेका छन्। अनि तिनै डिब्बामा नेपाली जीवन र जिन्दगीहरू पनि यात्राका लागि आआफ्नो गन्तव्यतिर छुटिरहेका छन्। एकपटक र एक वर्ष हैन, धेरैपटक र धेरैवर्ष। यसरी नै नाप्दानाप्दै एकदिन जिन्दगी मान्छेतिर फर्किएर उसकै चोला नाप्न थाल्छ।
हुन त अब नेपाल पनि विश्व भूमण्डलीयकरण (ग्लोबलाइजसेन) को तालमा ताल मिलाउन बाध्य छ। यस क्रममा ईश्वी सन् ठूलो मुख बाएर नेपाल छिरिसकेको छ। ग्लोबलाइजेसन रोक्न जति नै ग्लोकोलाइजेसन गर्न खोजे पनि यसको एक सिमा हुन्छ। त्यो सिमा पार भएपछि कुनै दिन यो बिक्रम सम्बतको पात्रो सकिने छ र यसको हालत पनि लगभग संस्कृत भाषाको जस्तै लोपोन्मुख हुनेछ।
सूचना प्रविधिले संसारलाई सानो गाउँ बनाएको छ जहाँ आधासरो बाबुहरू अहिलै ड्याडी भैसके, आधासरो आमाहरू ममी भैसके। चलनमा रह्यो भने बच्ने हो कुनै प्रचलन, जब आमा र बाबु भन्ने पुस्ता सकिन्छ, त्यसपछि बैशाख, जेठको प्रयोग पनि नसकिएला भन्न सकिन्न। हाम्रो जीवनमै पनि यो हुन सक्छ। किनकि ग्लोवलाइजेसन बयलगाडा चढेर हैन, नयाँ नयाँ भर्सनको ‘जी’ चढेर आउँछ, अहिले नै यो ‘फाइव-जी’मा सवार छ।
मानिसहरू यतिबेला वर्ष २०७८ मा के के भए भनेर त्यसको लेखाजोखा गरिरहेका छन्। एक कोणबाट हेर्दा यो ठीकै पनि हो। तर, अर्को कोणबाट हेर्दा त्यसो गरेर के फाइदा जबकि हामी हरेक वर्ष कमी-कमजोरीका खाल्टाहरू सम्याइरहेका छैनौ। न गल्तीबाट सिकिरहेकै छौं। जबसम्म कमी कमजोरीलाई पाठशाला र गल्तीलाई विश्वविद्यालय बनाइदैन, जिन्दगीहरू अगणित गल्तीका श्रृङ्खला बन्छन्। यदाकदा त कस्तो पनि हुन्छ भने जिन्दगी गल्ती गर्नकै लागि हो।
एउटा बहुचर्चित भनाइ छ, विगतलाई हेर्न मात्र सकिन्छ तर बदल्न सकिदैन। त्यसैले हरेक मानिसले यस्तो बर्तमान बनाउन प्रयत्न गर्नुपर्छ ता कि त्यो भोलि बिगत हुँदा पनि बदल्नुपर्ने नहोस्।
म एक सामान्य भुइँमान्छे हुँ। आफ्नै देशमा दोस्रो दर्जाको नागरिक भएर बाँच्नुभन्दा अर्काको देशमा स्थायी बासिन्दा भएर बाँच्नु ठीक हो भन्ने नितान्त व्यक्तिगत निर्णय गरेर देश छोडेको एक अकिञ्चन प्राणी। विनम्रतापूर्वक भन्न सक्छु, योग्यता नभएर हैन, योग्यता बढी भएर हिडेको मान्छे। नभएको योग्यता भनेको चाँहि कोही नेताको जोजोम्यान र सबै खाले नातामा तान्न सक्ने हर्सपावर नहुनु मात्र थियो। त्यसबाहेक यो पंक्तिकारसँग नेपालमा चाँहिने अर्को वाञ्छनीय योग्यता पनि थिएन, त्यो के भने बाँच्न जान्ने अतिरिक्त कला, जसले जहाँजहाँका भए पनि शक्तिकेन्द्रलाई खुशी पार्ने क्षमता दिन्छ।
कतिपय घरदेशका मानिसको आँखामा पलायनवादी ठहरिएका परदेशी नेपालीलाई हरेक वर्ष बैशाख १ गतेले पूर्वस्मृतिमा लगेर नमिठोसँग दुखाउँछ। अनि थाहै नपाई मनले भनिरहेको हुन्छ, आज वैशाख १ गते, नयाँ वर्षको शुभकामना ।
हुन त म देश छोड्ने त्यस्तो एक्लो मान्छे हैन, न पहिलो हुँ, न अन्तिम। मजस्ता लाखौं मानिस नेपाल छोडेर संसारभर नेपाली डायस्पोरा बनाउन बाध्य छों। ब्रेन ड्रेन भनिने यो ट्रेन्ड कहिले ब्रेन ब्याकमा परिणत हुने हो या कहिलै नहुने हो, यसै भन्न सकिने अवस्था छैन। संकेतहरू हेर्दा यो चोला त्यो दिन नदेखी उठ्नेजस्तो छ।
मलाई लाग्छ, नेपाली डायस्परोरामा रहेका मजस्ता लाखौ परदेशी नेपालीहरू आज पनि नेपाललाई अत्यन्त माया गर्छन्, हिजो घरदेशमा हुँदाभन्दा पनि बढी माया गर्छन्। तर, उनीहरूको त्यो माया कतिपयका लागि कमजोरी जस्तो लाग्छ। कसैका लागि गोहीको आँसु हुन्छ, कसैकसैले त त्योभन्दा पनि अघि बढेर प्याच्च भनी पनि हाल्छन्, पलायनवादी।
के उनीहरू पलायन हुनुमा आफैं मात्र सम्पूर्ण कारण हुन् त ? केही कारण होलान् , तर सम्पूर्ण हैनन्। उनीहरूलाई त्यो अवस्थामा पुर्याउन आजको नेपालको अवस्था निर्णायक छ। र, त्यो अवस्था सिर्जना गर्नमा आजको नेपालको मूल नेतृत्व जिम्मेवार छ। यो वा त्यो पार्टीको कुरा हैन, सबै पार्टीको। हो, मात्रामा केही तल माथि होला। वर्ष २०७८कै कुरा गर्ने हो भने यसमा सबैभन्दा बढी केपी ओली कारण रहेका छन्। उनको अकर्मण्यता र स्वार्थले नेपालको राजनीतिक स्थायित्वमाथि प्रश्न उठ्यो, त्यसले सुखी नेपाली र समृद्ध नेपालको चाहनामाथि गोर्खेलौरी लगायो। र, धेरै नेपाली अब नेपालमा केही नहुने रहेछ भन्दै मन मारेर परदेशिन बाध्य भए। कति नेपाल फर्कन चाहने गोडा पनि चल्नै नसक्ने गरी भारी भए।
म परदेशिएको देश अमेरिकाको कुरा गरौं । यो वर्ष मात्र करिव पाँच हजार नेपाली नेपालको नागरिकता त्यागेर अमेरिकी नागरिक भए। बितेको तीन वर्षमा मात्र यो संख्या १५ हजारभन्दा माथि छ। र, यो क्रम हरेक वर्ष बढ्दो छ। नेपालको आँखाबाट हेर्दा यो एक टिठलाग्दो तथ्यांक हो। तर, एउटा कुरा नेपालमा धेरै लामो जिन्दगी नापेर आएकाहरू जब अमेरिकी नागरिकको रूपमा सपथ लिन हात उठाउँछन्, संसारकै सबैभन्दा शक्तिशाली देश अमेरिकाको नागरिक हुँदा पनि उनीहरूको ओठमा मुस्कान देखिदैन। अमेरिकी हुनुको खुशीलाई उनीहरूको जन्मभूमी प्रेमले जितिरहेको हुन्छ।
हो, कतिपय घरदेशका मानिसको आँखामा पलायनवादी ठहरिएका परदेशी नेपालीलाई हरेक वर्ष बैशाख १ गतेले पूर्वस्मृतिमा लगेर नमिठोसँग पछार्छ। तैपनि उठेर भन्न मन लाग्छ, आज वैशाख १ गते, नयाँ वर्षको शुभकामना । जहाँ भए पनि आखिर यो मन त नेपाली हो।