गाेरखाकाे लाप्राकमा वैशाख ५ देखि ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

गोरखाको ऐतिहासिक लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ। महाेत्सव यही वैशाख ५ गतेदेखि ७ गतेसम्म हुने आयाेजक ‘सेलिब्रेटी नेपाल’ बताएकाे छ।

पर्यटन प्रवर्द्धनसहित नेपाली चलचित्रलाई गाउँ बस्तिमा पुर्‍याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको ‘सेलिब्रेटी नेपाल’ अध्यक्ष रघुनाथ सापकोटाले बिएल नेपाली सेवालाई जानकारी दिए।

उक्त महोत्सवमा ग्रामिण परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र (सर्ट फिल्म), डकुमेन्ट्री, फिचर चलचित्र र विभिन्न भाषा/भाषीका चलचित्र सहभागी हुने छन्। जुरी टिमले छनोट गरेका चलचित्रहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजककाअनुसार महोत्सवमा प्रदर्शन गरिएका चलचित्रसँग सम्बन्धित फिल्मेकर, कलाकार तथा आम दर्शकबीच अन्तरक्रिया गरिने छ। यसको साथै गाउँले परिवेशमा बनाइने चलचित्र बिषयमा वर्कशप र चलचित्रकर्मीहरु बीचमा ग्रामीण कथा तथा मौलिक चलचित्र निर्माण सम्बन्धी अन्तक्रिया हुने छ। उत्कृष्ट फिल्मलाई निर्णायक टिम (जुरी)को निर्णयअनुसार अवार्ड प्रदान गरिने समेत जनाइएको छ।

महोत्सव चलचित्र विकास बोर्डको सहकार्यमा गर्न लागिएकाे हाे।

नेपाली मौलिक ग्रामिण कथा वस्तुमा बनेका चलचित्र सहभागी रहने महोत्सवमा चलचित्र दर्ता खुलिसकेको आयोजकले जनाएको छ।

ग्रामिण चलचित्र महोत्सवले लाप्राकको प्राकृतिक एवम् सांस्कृति ठाउँको पर्यटनको प्रवर्धनमा मद्दत पुर्‍याउने धार्चे गाउँपालिका वडा न. ४ का अध्यक्ष राज गुरुङले बताए।

‘यस्ता किसिमको कार्यक्रमले हाम्रो गाउँ ठाउँको देशैभर प्रचार हुनेछ,' उनले भने।

नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवदर्धन गरिने छ। नेपाली आम दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रहरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहको छ।

समुद्र सतहदेखि २७५० मिटर उचाइमा अवस्थित उत्तरी गोरखाकाे लाप्राक गाउँ गुरुङ समुदायको ऐतिहासिक बसोवास रहेकाे ठाउँ हो। २०७२ सालको भू–कम्पको केन्द्रबिन्दु बार्पाकबाट करिब १२ किलोमिटरको दूरीमा पर्ने लाप्राकलाई पनि भूकम्पले सम्पूर्ण बस्तीहरु ध्वस्त बनाएको थियो। जसमा २४ जना लाप्राकीले ज्यान गुमाएका थिए।

भू–कम्पले ध्वस्त पारेको लाप्राक बस्तिलाई नयाँ ठाउँ गुप्सीपाखामा स्थानान्तरणको गरेको थियो। जसलाई गैरआवसीय नेपाली संघ (एनआरएन) एकीकृत नयाँ वस्तीको रुपमा निर्माण गरेको थियो।

प्रकाशित मिति: : 2022-04-13 21:19:00

प्रतिकृया दिनुहोस्