मेहनत गर्नेलाई गीत-संगीतमा करियर बनाउन गाह्राे छैन, नाम र दाम दुबै कमाउन सकिन्छ : नन्दु गुरुङ

नेपाली गीत-संगीत क्षेत्रमा एक उदयमान नाम हो, नन्दु गुरुङ। उनी करिब ५ दर्जनबढी गीत गाएर धेरैकाे मनमा बस्न सफल छन्।

बाल्यकालदेखि नै गीत संगीतप्रति रूचि राख्ने उनी गायन क्षेत्रमा लागेकाे लामाे समय भयाे। साे समयमा नेपाली गीत-संगीतलाई राम्राेसँग बुझेका उनले आफ्नाे गायन यात्रालाई कसरी अगाडि बढाइरहेका छन् ? गीत संगीतकाे क्षेत्रमा करियर बनाउन कति सजिलाे छ ? भन्ने लगायतका विषयमा बिएल नेपाली सेवाकाे लागि रविन पुन मगर (आइडु)ले गरेकाे कुराकानी प्रस्तुत छ:-


आज–भोलि के काममा व्यस्त हुनुहुन्छ ?

यही सांंगीतिक गतिबिधिमै व्यस्त छु। नयाँ गीत रेकर्डिङ्का कामहरू भइरहेका छन्। जे होस् गीत संगीतकाे दुनियाँभन्दा बाहिर छैन।

गीत संगीतमा कसरी लाग्नु भएकाे हाे ?

मलाई गीत गाउन चाहिँ बच्चैदेखि मन पर्थ्याे। तर, स्कुल लेभलसम्म पनि खुलेर लागेको थिएनँ। पछि कलेज पढ्ने बेलामा २/४ वटा गीत गाएपछि सबैले राम्रो प्रतिक्रिया दिनुभयो, अनि साथी-भाइ र अग्रजहरुले पनि याे क्षेत्रलाई करिअरकै रूपमा अगाडि बढाउन सुझाव दिनुभयाे। त्यसपछि सिक्दै काम गर्दै अगाडि बढिरहेकाे छु।

तपाईंले गीत लेख्ने र संगीत भर्ने काम पनि गर्नुहुने रहेछ यति धेरै कुरा कसरी सम्भव हुन्छ ?

मेरो मुख्य उद्देश्य र चाहना भनेको त गायन नै हो। र, पनि गीत गाउनु र लेख्नु अन्तरसम्बन्धित हुने भएकाले कहिलेकाहीँ लेख्ने पनि गर्छु। जबर्जस्ति त सकिन्न कहिलेकाहीँ राम्रा शब्दहरु फुर्छन्, ट्युनहरु फुर्छन् त्यस्तो बेलामा चाहिँ शब्द/संगीत पनि गर्छु।

तपाईंको परिवारका अन्य सदस्य यस क्षेत्रमा लाग्नुभएकाे छ ?

त्यस्ताे काेही पनि याे क्षेत्रमा लाग्नु भएकाे छैन। मेरो माइला दाइले अलि बढी गीत गुनगुनाउनुहुन्थ्यो। तर, प्रोफेसन नै बनाउने गरी त कोही लाग्नुभएकाे  छैन।

तपाईंको रोजाइमा कस्ता गीतहरू बढी पर्छन् ?

मलाई समग्र सबै गीतहरु मनपर्छ, सुन्छु पनि। अलि बढी चाहिँ मेरो प्याटर्न मिल्ने लोक,पप र आधुनिक गीतहरु पर्छन।

अहिलेसम्म कति गीत गाउनु भएकाे छ ?

अँ... करिब ५ दर्जनभन्दा धेरै गीत रेकर्डिङ भएका हाेलान्। तर, ठ्याक्कै कति छन् भन्ने गनेकाे छैन।

यी गीतहरुमा सबैभन्दा बढी मनपर्ने गीत कुन हाे ?

आफ्नो सिर्जना हो सबै उत्तिकै मन पर्छ। तर, दर्शक श्रोताको प्रतिक्रिया अनुसार चाहिँ ‘मन पराउछु’, ‘सँग–सँगै कान्छी’ बोलको गीतहरु नै होलान्।

यति मीठो स्वरको धनी हुनुहुन्छ, दर्शकको माया कत्तिको पाउनु भएको छ ?

राम्रो छ। भेट्ने जत्तिले तपाईंको गीत धेरै मनपर्छ भन्नुहुन्छ। म्यासेज पनि गर्नु हुन्छ, तपाईंसँग भेट्न मन छ भन्नुहुन्छ। धेरै सपोर्ट गरिराख्नु भएको छ।

स्टेज प्रोग्रामकाे लागि घर परिवारबाट टाढा जाँदा कसरी म्यानेज गर्नुहुन्छ ?

मलाई यो कुरामा घरबाट धेरै सपोर्ट छ। मेरो काम र पेशालाई बुझिदिनुभएको छ। मैले घरमा कामहरू पनि उहाँहरूले नै सम्हालिदिनु भएकाे छ।

यस क्षेत्रमा करियर बनाउन धेरै गाह्रो छ भन्ने सुनिन्छ साँच्नै कठिन छ हाे ?

दु:ख र संघर्ष त सबै क्षेत्रमा छ। पेशागत रुपमा लागिसकेपछि त्यहाँ आइपर्ने दु:खलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने हुन्छ।

यो पेशामा पनि धेरै सफल अग्रजहरु हुनुहुन्छ। उहाँहरुलाई हेरेर भएपनि दु:ख संघर्ष गर्ने गरिन्छ। बहुआयामिक रुपमा ज्ञान र सीपको प्रयोग गरेर नाम र दाम कमाउन सकिन्छ। आफ्नो मिहेनत र लगनशीलताले एकदिन सबैलाई सफल बनाउँछ। त्यस्तो करिअर बनाउनै गाह्राे छ भन्ने चाहिँ हाेइन।

युट्युबमा धेरै भ्यूज आए मात्रै गीतलाई सफल मान्नेहरू धेरै छन्, त्यसमा तपाई‌काे धारणा के छ ?राम्रो

गीतको राम्रो भ्यूज आउँछ। तर, सबै राम्रा गीतको नआउन पनि सक्छ। दर्शक श्रोताको पनि आफ्नै छनाैट हुन्छ। फेरि, अहिले त टेक्निकल कुराहरु आउँछ, भिडियोहरु बुष्ट गर्ने। त्यसैले युट्युबको भ्यूजले मात्रै गीतको गुणस्तर देखाउँदैन।

तपाईं त गुरुङ समुदायकाे पर्नुभयो, गुरुङ समुदायका परम्परागत गीतहरु गाउनु भएको छ ?

म पूर्वको गुरुङ परेँ। हाम्रो पूर्वमा त्यति धेरै गुरुङ भाषा बोल्नुहुन्न। मैले स्टेजमा अरु स्रष्टहरुको गीत गाएको छु। तर, आफ्नै गीत गाउन पाएको छैन। प्रयास गर्दैछु। आफ्नो भाषाकाे माया लाग्छ।

अन्तिममा यो अन्तर्वार्ता पढ्ने पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?

म आफ्नाे क्षेत्रमा संघर्षरत छु। सबैले माया गरिरहनु भएकाे छ। अझै राम्रा सिर्जना लिने प्रयास गरिराखेको छु। अझै मायाकाे अपेक्षा राखेकाे छु।

प्रकाशित मिति: : 2022-04-13 18:40:00

प्रतिकृया दिनुहोस्