नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासमार्फत स्वस्थ र सभ्य समाज निर्माण गर्न प्रेरित गर्नुपर्ने बताएका छन्।
प्रज्ञास्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथुन, २०७८ को समापन समारोहमा उनले खेल क्षेत्रलाई सबैले प्रेरित गर्नुपर्ने बताएका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले चितवन सबै दृष्टिकोणले खेल क्षेत्रको केन्द्र बन्दै गइरहेको बताए।
उनले भने, 'निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र अन्य इन्डोर खेलको पूर्वाधार निर्माणले यसको सम्भावनालाई उजागार गरेको छ।'
निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको बाँकी काम पूरा गर्नेगरी सहमति कायम भई प्रक्रिया अगाडि बढिरहेको उनले बताए। उनले थपे, 'छिट्टै निर्माणकार्य सुरु हुनेछ।'
साइकल परापूर्वकालदेखि मानव जीवनको अभिन्न अङ्गका रूपमा रहेको भन्दै उनले पछिल्ला दिनमा साइक्लिङ खेलको रूपमा समेत विकास भएकोमा खुसी व्यक्त गरे।
पुरस्कार वितरण कार्यक्रममा युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले प्रज्ञास्मृति प्रतिष्ठानले सुन्दरनगरी भरतपुरमा साइक्लिङ म्याराथुन गरेर अनुकरणीय काम गरेको बताए।
उनले साइक्लिङ खेललाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। स्वस्थ र सभ्य नागरिक उत्पादन गर्न खेल क्षेत्रमा सम्पूर्ण नागरिकलाई केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै मन्त्री गहतराजले खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन र आर्थिक वृिद्ध गर्न सकिने बताउनुभयो।
उनले नागरिकस्तरबाट निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम अगाडि बढाउन नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्ने जानकारी दिए। राष्ट्रिय सहमतिको गौरवको आयोजना कुनै पनि हालतमा अलपत्र नबन्ने उनको भनाइ थियो।