उपचार खर्च तिर्न नसक्दा बन्धक

उपचार खर्च तिर्न नसक्दा पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङबुङका ३४ वर्षीय शुक्रबहादुर मगर डेढ महिनादेखि अस्पतालमा बन्धक छन् ।

काठमाडौंको दीर्घायु अस्पताल चावहिलमा फागुन १ गतेदेखि उनी बन्धक बनेका हुन्। उपचार खर्च तिर्न नसक्दा दाजुलाई अस्पतालले बन्धक बनाएको उनकी बहिनी निर्मला मगरले बताइन्। ‘२१४ नम्बरको बेडमा दाजु बन्धक हुनुहुन्छ,’ निर्मलाले भनिन्, ‘दाजुलाई उकास्न नसक्दा दिनप्रतिदिन अस्पतालले बिल बढाइरहेको छ।’ उपचार खर्चमध्ये ४० प्रतिशत रकम भुक्तानी गरिएको निर्मलाको भनाइ छ।

‘अब ७ लाख ३५ हजारभन्दा बढी रकम तिर्न बाँकी छ,’ निर्मलाले भनिन्, ‘अहिलेसम्म रकम जुटाउन सकिएन।’ अप्रेसन शुल्क, बेड शुल्क, औषधि शुल्क र अस्पताल भर्ना शुल्कको रकम तिर्न बाँकी छ। वैदेशिक रोजगारीका लागि आवेदन भर्न काठमाडौं गएका शुक्रबहादुर उच्च रक्तचापका कारण अचानक बिरामी परेका थिए।

उपचारका लागि अस्पताल भर्ना भएका शुक्रबहादुरकोे टाउकोको अप्रेसन गरिएको हो। उक्त अस्पतालका चिकित्सक गोपाल रमण शर्माको समूहले अप्रेसन गरेको थियो। ‘अझै पनि दाजुको एकापट्टिको हातखुट्टा चलेको छैन,’ निर्मला भन्छिन्, ‘थेरापी गर्दा ठीक हुन्छ भनेर चिकित्सकहरूले सल्लाह दिएका छन्। अस्पतालमै बन्धक बनेपछि थप उपचार गराउन पाइएको छैन।’

दीर्घायु अस्पतालको काउन्टरकी कर्मचारी गंगा श्रेष्ठका अनुसार शुक्रबहादुरका तर्फबाट उपचार शुल्क साढे ५ लाख रुपैयाँ तिर्न बाँकी रहेकाले उनलाई अस्पतालमै राखिएको हो। यस विषयमा बिरामीका आफन्तलाई जानकारी गराएपछि उनी बेपत्ता भएका श्रेष्ठको भनाइ छ।
 

प्रकाशित मिति: : 2022-04-06 08:56:00

प्रतिकृया दिनुहोस्