संकटमा श्रीलंका : २६ जना मन्त्रीले दिए सामूहिक राजीनामा

मानवीय संकटमा फसेका श्रीलंकाका २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन्।

खाद्यान्नको चरम अभाव र बढ्दो महंगीको विरोधमा आम नागरिकले विरोध जनाएपछि २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन्।

प्रधानमन्त्री समक्ष राजीनामा दिने मन्त्रीहरुमा प्रधानमन्त्री राजापाक्षेका छोरा समेत रहेका छन्।

मन्त्रीहरुको राजीनामाले सरकार थप अप्ठेरोमा परेको छ।

यद्यपी राजीनामा दिएका मन्त्रीहरुले जनता र सरकारको स्थायीत्वका लागि राजीनामा दिएको प्रतिक्रिया जनाएका छन्।

श्रींलकामा पछिल्लो समय राजधानी कोलोम्बो लगायतका शहरहरुमा प्रदर्शकारीहरुले कर्फ्यू उल्लंघन गर्दा ६ सय ५० जना प्रदर्शनकारी पक्राउ परेका छन्।

सरकार विरोधी प्रदर्शन चर्कदै गएपछि श्रीलंकामा आइतबारदेखि ३६ घण्टे कर्फ्यू आदेश जारी गरिएको थियो।

औषधी, खाद्यान्न र इन्धन लगायत अत्यावश्यक सामग्रीको अभाव भएपछी सर्वसाधारण दिनहुँ प्रदर्शनमा उत्रिएका छन्।

त्यसलाई नियन्त्रणमा राख्नका लागि सरकारले सामाजिक सञ्जालको पहुँचमा पनि अवरोध गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

गत बिहिबार प्रदर्शनकारीले राष्ट्रपतिको निजी निवास क्षेत्रमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो।

लगातार रुपमा भइरहेको सरकार विरुद्धका प्रदर्शनबाट त्यहाँको जनजीवन थप अस्तव्यस्त बनेको छ ।

प्रकाशित मिति: : 2022-04-04 10:48:00

प्रतिकृया दिनुहोस्