कृषि गणनाका लागि आग्रह

File Photo
File Photo

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण रहेको कृषि क्षेत्रको गणना सफल बनाउन आग्रह गरिएको छ।हेटौँडास्थित बागमती प्रदेश  कृषि गणना कार्यालयद्वारा आज हेटाँैडामा आयोजित  जिल्लास्तरीय कृषि गणना सचेतना गोष्ठीमा मुलुकको आर्थिक विकासका लागि योजना  तथा नीति बनाउन कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले सम्बन्धित निकायबाट सही एवं विश्वासिलो आधार उपलब्ध गराउनका लागि सो आग्रह गरिएको हो।
 
आगामी  वैशाख  ६ गतेदेखि जेठ १९ गतेसम्म किसानका घर दैलोमा पुगेर गणना गरिने भएकाले त्यसका लागि आवश्यक प्रचारप्रसार र जनचेतना जगाउन पनि जोड दिइएको छ। विसं २०१८देखि प्रत्येक दश वर्षमा कृषि गणना हुँदै आएकोे छ । सतहत्तरवटा जिल्लाका ७५३ स्थानीय तहअन्तर्गतका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा छनोट गरिएका प्रतिनिधिले वडा वडाका  किसानसँग भेटी कृषिसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने कृषि गणना अधिकृत राजेश दासले जानकरी दिए।
 
सचेतना गोष्ठीमा कृषि गणना सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै  उहाँले यसबाट प्राप्त तथ्याङ्कको आधारमा सरकारले परिकल्पना गरेको कृषि क्षेत्रको विकासमा सहयोग हुने बताए।

हेटौँडा उपमहानगरपालिका उपप्रमुख मीना लामाले  नेपालको कृषिलाई व्यवसायमा आधारित र निर्यातमुखी बनाउन समग्र कृषि क्षेत्रको तथ्याङ््क सङ्कलन आवश्यक रहेको  र त्यसबाट कृषिको अवस्था थाहा हुने जानकारी दिए। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नेपालको बहुसङ्ख्यक  जनता  कृषि पेशामा लागेकाले  सही तथ्याङ्कका लागि अनुगमनको प्रभावकारितामा जोड दिए।

 यस पटकको कृषि गणनामा घरपरिवार र  समुदायमा आधारित कृषिका अतिरिक्त सरकारी, अर्धसरकारी, सहकारी र संस्थागतरुपबाट  सञ्चालिन व्यावसायिक कृषि कार्यको पनि तथ्याङ्क  सङ्कलन गरिने बताइएको छ। चैत १ गतेदेखि हेटाँैडामा बागमती प्रदेश कृषि गणना  कार्यालय स्थापना भई गणनाको कार्य थालिएको  छ। 
 

प्रकाशित मिति: : 2022-03-31 12:58:00

प्रतिकृया दिनुहोस्