क्रमशः निर्वाचन उन्मुख रहेको नेपालमा अबको स्थानीय तहदेखि संघीय निर्वाचनमा उठ्ने उमेदवारहरूको चर्चादेखि दलीय घोषणापत्रको तयारी समेत सुरू भएको छ।
नेपाली जनताको विकसित चेतना, सञ्चार क्षेत्रको पहुँच र सचेतनाको जगमा यत्रतत्र/सर्वत्र इमान्दार मानिसहरूले चुनाव जित्न सक्ने आँकलन हुनुपर्ने हो। तर, सधैझैं पैसा र शक्तिको आडमा निर्वाचनको परिणाम निर्धारण हुने अपेक्षादेखि आशंका गर्नेहरू अझै पनि प्रसस्तै छन्।
त्यसै अनुसारका अपेक्षा गर्ने सत्तारुढहरु मध्यका केही हर्ताकर्ताहरू सत्ताको आडमा शक्तिको दुरुपयोगको सपना देखिरहेका छन्।
आफू सत्तामा रहँदा गर्नु/नगर्नूसम्म गरेका हालका प्रतिपक्ष नेता केपी शर्मा ओलीलाई नै हुँदाहुँदा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सत्तापक्ष लागेको आरोप लगाउँछन्। एमाले भनिने ‘बा’माले चाहिँ चुनाव हार्ने डरलाई गजबले व्यक्त गरिरहेको छ। जब–जब निर्वाचनमा सत्ता दुरुपयोगको कुरा आउँछ, त्यसको आसय वा संकेत चाहिँ प्रहरी–प्रशासनतर्फ सोझिने गर्छ।
सत्ता दुरुपयोग गर्ने आशा वा आशंको संकेतको सम्वन्धसँग जोडिएको सत्य यही हो। यद्धपि, त्यस्तो गर्न सकिने आशा वा त्यस्तो हुने आशंका गर्नेहरुले नबुझेको वा बुझ्न नचाहेको अर्को सत्य चाहिँ के हो भने नेपाली जनताको भोट डर, त्राश वा लालचको बलबुतामा निश्चय गर्न सकिने गरेको चाहिँ पाईंँदैन।
यदी त्यसो हुँदो हो भने राजतन्त्रको जग हल्लाउने आन्दोलन गरेका काँग्रेस र कम्युनिष्टले २०४८ को चुनाव जित्ने थिएनन, अनि २०५१ मा एमालेले, २०६४ सालमा माओवादीले चुनाव जित्न सक्ने थिएनन्। समय–समयमा प्रमाणित सत्य के हो भने नेपाली जनताले जहिल्यै पनि शक्तिमा पुगेर राम्रो गर्छु भनेर भोट माग्ने निम्क्षराहरुलाई नै भोट दिँदै आएका छन। दुर्भाग्य त यो हो कि शक्तिमा गएर देश र जनताको पक्षमा काम गर्छु भनेर भोट माग्ने र जित्नेहरुले अक्सर जितिसकेपछि जनताको भावनामाथि कुठाराघात गर्दै आएका छन। पहिलो पटक जनताको भोटले जितेका तिनै अवसरवादी, बहुरुपीयाहरु दोहोर्याएर चुनाव लडन पर्दा जनतामा भन्दा ज्यादा प्रहरी प्रशासन र तस्करका पैसाको भर गर्ने गर्छन। यो पनि दुखद सत्य हो। यही सत्यको स्मरण गर्दै गर्दा एउटा सवाल मनमा जबर्जस्त आउँछ, त्यो के भने,‘के साँच्चैमा हाम्रो प्रहरी प्रशासन जनताको मतलाई सत्ता र शक्तिको आडमा आफू अनकुल ल्याउन तम्सिनेहरुको सहयोगी बन्ने गरेको छ त ?’
यो एउटा गम्भीर सवाल हो। जसको जवाफ खोज्न सहज त छैन तर अनुत्तरित छोडने हो भने चाहिँ राष्ट्रसेवाको एक मात्रै संकल्प लिएर जागिर खाने हजारौंप्रति अन्याय हुनेछ। त्यसैले यस सवालसँग अविछिन्न जोडिन बाध्य हुँदै आएको प्रहरी र यसको भूमिकाको चर्चाबाट त्यस सवालको उत्तर खोज्ने कोशिस यहाँ गरिएको छ।
नेपालको आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको नेपाल प्रहरीले जनताको जन/धनको सुरक्षा गर्ने आफ्नो दायित्व सदैव वहन गर्दै आएको छ। जहाँ–जहाँ संकट र समस्या त्यहाँ–त्यहाँ समाधान बनेर नेपाल प्रहरी भन्न सकिने ढंगले प्रहरीले गर्दै आएको कामलाई कोही कसैले पनि नजरअन्दाज गर्न सक्दैन। बाढीपहिरो, आगलागी, भू-कम्पजस्ता प्राकृतिक विपत्तिदेखि लुटपाट, बलात्कार, हत्या र अपहरणजस्ता संगिन अपराधिक घटनामा पीडितको उद्दार र सुरक्षाको लागि जीवनको बलिदान गर्न तयार भएर लाग्ने प्रहरीको योगदानको अवमुल्यन कसले पो गर्न सक्ला त ? तर, त्यस्तो साहसिक काम गर्ने बहादुर तिनै राष्ट्रसेवक प्रहरीलाई के/कति कारणले जनताको अभिमतलाई प्रभावित पार्न प्रयोग हुने डफ्फाको रुपमा चर्चा गर्न मानिसहरु उद्दत हुने गर्छन होला ? किन सत्तापक्षमा रहनेले प्रहरी सहयोगमा आफुहरुले चुनाव जित्ने अनि प्रतिपक्षमा रहनेले प्रहरीको असहयोगले आफुले हार्ने ठान्ने गरेका होलान ? यो चाहिँ बढो जटिल सवाल हो। भने, साथसाथै यो नेपाल प्रहरीको निम्ति अत्यन्त चिन्ताको विषय पनि हो।
नेपाल प्रहरीका सिपाहीदेखि आईजीपीसम्मले चाहेर पनि रोक्न नसक्ने यस्ता आरोप र आशंकाहरुले प्रहरीलाई स्थापनादेखि अहिलेसम्म पछ्याई रहेका छन। राजनीतिमा विकृत पात्र र प्रवृति रहुञ्जेल यस्ता आशंका, आरोप र आशाहरुले प्रहरीलाई छाँयाजस्तै बनेर पछ्याई रहने नै छन। प्रहरीले चाहेर पनि त्यसलाई निर्मुल पार्न सक्ने छैन। तर, नेतृत्वदेखि तलसम्मले इमान्दार कोशिस गर्दा चाहिँ त्यस्ता आरोप र आशंकालाई मिथ्या सावित गर्दै त्यस्तो गर्ने आशाहरुलाई निरासामा बदल्न भने कठिन छैन। त्यस्तो भएको पनि छन तर अहिलेको अवस्थामा चाहिँ प्रहरीप्रतिको आशंकाहरु घनिभूत हुने अनि यसले निस्पक्ष काम गरोस् भन्ने अपेक्षा गर्नेहरुको विश्वास चाहिँ कमजाेरी हुने सम्भावना ज्यादा देखिएको छ।
यस्तो निराशाजनक निष्कर्ष निकाल्दै गर्दा पनि अत्याधिक संख्यामा रहेको निस्वार्थ, निडर, निष्ठावान प्रहरी कर्मचारीको देशभक्ति र तिनको निष्पक्षतामा सवाल गर्न खोजेको जरुर हैन। न त सत्तारुढ दलहरुमा रहेर प्रहरी प्रशासनको दुरुपयोग गरेर चुनाव जित्छु भन्ने ठान्ने नालायकहरुको सपना पूरा गर्दै सत्ताको आडमा प्रहरीको सहयोग लिएर आफूलाई हराईन्छ भन्ने त्राशमा रहेका अकर्मण्यहरुलाई प्रहरीले सही सावित गरिदिन्छ भन्ने झिनो आशंका नै गरिएको हो। समग्रतामा निष्पक्ष नै रहने आफ्नो इतिहास देखिको बिरासत जोगाउन प्रहरी चुक्ने छैन भन्ने विश्वास कायम राख्दै, प्रहरी सहयोगको (झुटो नै भए पनि) त्राश देखाएर कसैले नजितेको विगतको स्मरण पनि गर्दै केवल भन्न खोजिएको के मात्रै हो भने विगत होस् वा वर्तमान प्रहरी दुरुपयोगको सत्ताधारी सोचदेखि प्रतिपक्षीय त्राश समेतको कारक व्यापक मात्रामा रहेको प्रहरी संगठनको तल्लो तह हाेइन सिमित मात्रामा रहेको प्रहरीको माथिल्लो तह नै जिम्मेवार हो। दुखका साथ भन्नुपर्छ कि अहिले पनि प्रहरीको दुरुपयोग गरेर चुनाव जित्छु भन्नेहरुको मनमा आश अनि प्रहरीको दुरुपयोग हुन्छ र हामी हार्छौं भन्नेहरुको त्राशको सर्जक प्रहरीको कमजाेरी मूल नेतृत्व र अवसरवादी नेतृत्व तह नै हो। प्रहरीको अत्याधिकको व्यवहार त अहिले पनि निष्पक्ष राष्ट्रसेवकहरुको जस्तो हुनुपर्ने हो, त्यस्तै हुने पक्का छ।
यो पढ्दै गर्दा नेपाल प्रहरीका आईजीपीदेखि कतिपय डिआईजी समेतलाई दु:ख लाग्ला तर सत्य यही नै हो। दु:खका साथ लेख्नु परेको छ कि विगत केही समयदेखि आफ्नो सरुवा/बढुवा माग्न प्रहरीहरु प्रहरी प्रधान कार्यालयभन्दा ज्यादा सत्तारुढ दलको कार्यालयदेखि नेता निवास धाउन बाध्य छन। प्रहरी प्रधान कार्यालयकै भर पर्नेहरुको हरिविजोग नै हुने गरेको छ वा उनीहरुलाई ‘यताबाट मात्रै गरेर हुन्न यसो नेताहरुसँग भेटघाट गरेर पनि भन्नु होला है।’ भन्ने सल्लाह नेतृत्व तहबाट नै दिने गरिएको छ। अनि यो बिडम्वना तल्लो दर्जालाई मात्रै हाेइन माथिल्लो दर्जाकालाई झन धेरै परेको छ। त्यसैको परिणाम त हो, ४७ दिन एआईजी हुन पनि केहीले विनाकारण अवसर पाएनन। अनि जसले पाए उनले पनि प्रधानमन्त्रीसँग क्षेत्रीय निकटता भएकोले पाएको आरोप सहनु पर्याे। अनावश्यक रुपमा थप भएको दरबन्दीमा बढुवा हुनलाई प्रधानमन्त्री वा अर्थमन्त्रीको मान्छे हुनुपर्याे, प्रहरी नै भएर मात्रै बढुवा हुन कसैले पाएनन। अनि यस्तो अवस्थामा आफ्नो निगाहमा बढुवा भएका प्रहरीहरुले आफू वा आफ्नाहरुलाई सहयोग गर्लान् भन्ने आशा राख्नेहरु हौसिने अनि आफ्ना प्रतिस्पर्धीको निवास धाएर सरुवा/बढुवा पाउनेले आफ्नो विरुद्ध नै काम गर्छन्, होला भनेर तर्सने कुरा कुन अनौठो भयो र ? सबैभन्दा दुखद र पश्चगामी कुरा त के भने विगतका केही आईजीपीहरुले देखाएको अडान र प्रतिवद्धताले प्रहरीका सरुवामा आर्थिक चलखेलको भूमिका शुन्य र बढुवामा नगण्य हुँदै गएकोमा अहिले त बिना पैसा सरुवा हुन्छ भन्दा कसैले नपत्याउने अवस्था बनेछ।
यो त्यत्तिकै अनुमानमा भनेको हाेइन। अस्ति मात्रै मैले प्रहरीमा अत्यन्त व्यवसायिक मानिएका एकजना अधिकृत (जसलाई नेपाली काँग्रेसका नेताहरुसँग प्रहरीमा नहुँदा देखिनै राम्रो सम्वन्ध भएका मानिसको रुपमा चिनिन्छ) संँग कुरा गरेको थिएँ। उहाँलाई मैले भने, ‘संगठनमा तपाईंलाई पत्याइहाल्छन, वर्तमान सत्ताको प्रमुख घटक काँग्रेसका नेताहरुसँग तपाईंको राम्रै छ, राम्रो जिल्ला सरुवा भएर जानुस् न।’
मेरो कुरा सुनेर उहाँले भन्नु भयो,‘हैत्तेरीका अहिले हामीलाई कहाँ दिन्छन त ? पैसा नदिनेलाई दिँदैनन् नि। बेला भाको छैन, भन्छन। प्रहरीको नेतृत्वले लत्तो छोडेको धेरै भैसक्यो। अनि के को सरुवा जानु, कसरी जानु’ यति सुनेपछि चाहिँ प्रहरी संगठनलाई माया गर्ने हरेकको मन जस्तै मेरो पनि मन रोयो। मन मनै सोचेँ प्रहरीको नेतृत्व यस्तै कमजाेरी ? अनिर्णायक र अकर्मण्य भएकै समयमा नै हो झन एकाथरीले प्रहरी दुरुपयोगको अपेक्षा र अर्को थरिले आशंका गर्ने पनि।
माथि उल्लेखित कुराहरु मार्फत् स्थापित हुन जाने सत्य के हो भने कुनै पनि चुनावमा प्रहरीले समग्रतामा पक्षपात गर्ने गरेको छैन। कहींकतै गरिहाल्दा पनि त्यसले परिणामलाई प्रभावित पार्न सकेको छैन। तर, जब–जब प्रहरीको नेतृत्व अहिलेको जस्तो कमजाेरी, अनिर्णयको पर्याय अनि अकर्मण्यताको उदाहरण बन्ने गरेको छ, तब–तब प्रहरीको निष्पक्षताको सत्य चाहिँ कमजाेरी र प्रहरी दुरुपयोग गरिने अफवाहहरु चाहिँ बलियो हुने गरेका छन।
सत्य यही हो, भलै यो दुखद हो। त्यसभन्दा अझै दुखद र मनै अमिलो हुने अर्को सत्य के हो भने प्रहरीको इतिहासमै सबैभन्दा इमान्दार, असल व्यक्ति नेतृत्वमा रहेको वर्तमान बेलामा प्रहरीहरु चाहिँ सरुवा/बढुवामा पैसा बुझाउनपर्ने, नेताहरुको दैलो धाउनपर्ने अवस्थामा पुग्न बाध्य भएको छन। सबैलाई थाहा छ, नेपाल प्रहरीका वर्तमान आईजीपी आँखामा हाले पनि नबिझाउने व्यक्ति हुन जसले प्रहरी संगठनमा छिरेदेखि अहिलेसम्म अनुचित रुपमा एक पैसा खाएको छ भनेर कसैले भन्न सक्दैन। यो सवलताको जगमा त उनले जुनसुकै र जस्तोसुकै निर्णय सहासका साथ लिन सक्ने थिए। प्रहरी संगठनको हितमा धेरै काम गर्न सक्ने थिए। कमसेकम पनि प्रहरीमा योग्यता, क्षमताकै आधारमा बढुवा अनि आवश्यकताको आधारमा योग्यता अनुसार सरुवा गर्न उनलाई कसैले रोक्न सक्ने थिएन। तर, खै के कति कारणले हो, उनले लत्तो छोडिदिए। जसको कारण एक पैसा नखाने यत्तिको असल व्यक्तित्व भएको व्यक्ति आईजीपी हुँदा पनि असल इमान्दार प्रहरी कर्मचारी चाहिँ टुहुराझैं बन्न पुगे भने यता/उता गर्ने दाम लिन र दिन जान्नेहरु चाहिँ राजनीतिक नेता र तिनका आसेपासेलाई खुसी पारेर अवसर लिन सक्षम भए। जसले गर्दा प्रहरी आन्तरिक रुपमा खिन्न, प्रहरीहरुको हृदय छिन्नभिन्न भयो।
फेरि एकपटक चुनावमा प्रहरीको दुरुपयोग गर्न सक्ने आशाले केही हौसिने अनि प्रहरीको दुरुपयोगको आशंकाले केही तर्सने अवस्था बन्यो। मूल नेतृत्व कमजाेरी र समग्रमा नेतृत्व तह अवसरवादी भएको संगठनहरुप्रति हुने यही नै हो। हिजोदेखि आजसम्म यस्तै हुँदै आएको हो। अहिलेको र पहिलेकाेमा फरक यत्ति हो कि उहिल्यै भ्रष्ट, अवसरवादी, अनैतिकहरुको नेतृत्व हुँदा मात्रै त्यस्तो हुन्थ्यो। र, त्यो स्वाभाविक पनि देखिन्थ्यो किनकि भ्रष्टहरु आफ्नै छाँयासँग पनि डराउन बाध्य हुन्थे। तर, अहिले त स्वच्छ, इमान्दार, असल व्यक्तित्वको नेतृत्व छ, प्रहरीमा। तर, यत्रतत्र/सर्वत्र भ्रष्ट र नालायकहरुको रजगज छ। जुन चाहिँ दुखद र अस्वाभाविक छ। आखिर के त्यस्तो बाध्यता होला आईजीपीको जसले गर्दा आफ्नै व्यक्तित्व विपरितका कामहरुमा उहाँले लाछाप लगाउँदै जानुपर्ने अवस्था आयो ? यसको उत्तर दिए वर्तमान आईजीपीले मात्रै दिन सक्ने कुरा आयो। तर, हामीले चाहिँ यत्ति भन्न सकिने जरुर भयो कि इमान्दारिता, स्वच्छता र सरलताले एक असल व्यक्तित्व निर्माण गर्न सक्दो रहेछ। तर, त्यतिले मात्रै एक कुशल आईजीपी चाहिं बनाउन सक्ने रहनेछ। अनि जब कुशल नेतृत्व हुँदैन तब त्यस्ता व्यक्ति र त्यस्ताको नेतृत्वको संगठनलाई दुरुपयोग गर्न सकिन्छ भन्ने सोचलाई कमसेकम निषेध गर्न चाहिँ पक्कै पनि सकिँदो रहेनछ। बिडम्वना त के भने अकर्मण्य नेतृत्वको कमजाेरी भूमिकाले गर्दा शक्तिमा रहनेहरुमा सिर्जना हुने दम्भ र अहंकारपूर्ण अभिव्यक्तिले गर्दा निष्पक्ष रुपमा राष्ट्रसेवा गर्ने प्रहरीहरुको निष्पक्षतालाई पटक–पटक आशंकाको विषय बनाउँदै आइएको छ। छोटोमा भन्दा आईजीपीको नालायकीले समग्रमा प्रहरीलाई कलंकित पार्ने खेल अनन्तकालसम्म निरन्तर हुने पो हो कि भन्ने देखिएको छ।
त्यसैले कमसेकम आफूलाई जान्ने/बुझ्ने ठान्ने हामीले सत्य बोल्नुपर्छ र भन्नुपर्छ, ‘केहीथान कमजाेरी आईजीपी, अवसरवादी एआईजी/डीआईजीहरु मात्रै प्रहरी हाेइनन्, उनीहरुलाई जस्तै समग्रमा प्रहरी दुरुपयोग गर्न सम्भव थिएन। छैन र हुँदैन।’
सबैले बुझ्नुपर्छ आईजीपीको नालायकीलाई समग्र प्रहरीको परिचय बनाउन मिल्दैन। सबैले बुझे हुन्छ कि आईजीपी कमजाेरी छन भन्दैमा समग्र प्रहरी कमजाेरी हुँदैन। प्रहरीले आमरुपमा आफ्नो भूमिका निर्भिकता साथ गर्छ र त्यसो गर्नु भनेको निष्पक्षताको सवालमा खरो उत्रिने हो भन्ने उसले भुल्दैन। सबैलाई हेक्का रहाेस् यो सत्य भएकै राम्रो।