ब्याडमिन्टन: दीपेश र रशिलालाई उपाधि

File photo
File photo

राष्ट्रिय च्याम्पियन एपिएफका दीपेश धामी र सेनाकी रशिला महर्जनले प्रथम राष्ट्र व्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि उचालेका छन्।

पुरुष एकल तर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाइभ लिजर पार्कका विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१–१५, १२–२१, २१–१२ को अन्तरमा पराजित गर्दै उपाधि उचालेका हुन्। तृतीय स्थानमा पुलिसका जीवन आचार्य र विष्णु कटुवाल रहे। सेमिफाइनलमा जीवन दीपेशसँग र विष्णु प्रिन्ससँग पराजित भएका थिए।

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपको महिला एकल तर्फ राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले उपाधि हात पारिन्। विश्व जुनियर युगल तर्फ उच्च ७ मा रहेकी उनले सेनाकै अनुमाया राईलाई २१–९, २१–१९ ले पराजित गर्दै उपाधि हात पारेकी हुन्। तृतीय स्थानमा सेनाकी अमिता गिरी र पुलिसकी निता लम्साल रहे। गिरी सेनाकै रशिलासँग र निता अनुमायासँग पराजित भएकी थिइन्।

नेपाल ब्याडमिन्टन संघको तत्त्वावधानमा भएको च्याम्पियनसिपको पुरुष युगल तर्फ सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले बाजी मारे। उक्त जोडीले कास्कीका भूगोल गुरुङ र विधान अधिकारीको जोडीलाई २१–१७, २१–१३ ले पराजित गर्दै उपाधि जितेका हुन्। तेस्रो स्थानमा एपिएफका दीपेश धामी र विजित थापा मगर एवं १६ फिदरका क्षितिज खनाल र सुजन थापाको जोडी रहे।

लिवालिस्थित कभर्डहलमा यु १५ छात्रा एकल तर्फ बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईले काठमाडौँ ब्याडमिन्टन एकेडेमीकी एञ्जेल लिम्बुलाई २१–१४, २१–१४ को समान अन्तरले पराजित गर्दै स्वर्ण हात पारिन्। तेस्रो स्थानमा सेनाकी रोज पाण्डे र १६ फिदरकी रिहाना शेरचन रहे। सोही विधाको छात्र एकल तर्फ एनआरएनका शाहिल चन्द र सिल्क ग्रुपका कबिर के.सी. बीच भएको प्रतिस्पर्धामा कबिरलेले बाजी मारे। उनले २१–१५, २१–१६ का जित निकालेका हुन्। तेस्रो स्थानमा कपिलवस्तुका रोहित बराल र अभय महरा रहे।

मास्टर्स युगल ४५ तर्फ कास्कीका नरबहादुर गुरुङ र शम्भु श्रेष्ठको जोडीले जित निकाले। उक्त जोडीले गठ्ठाघर स्पोर्टस् क्लबका पूर्णहरि  होना र सञ्जीव कपालीको जोडी लाई २१–१५, २१–१७ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन्। तेस्रो स्थानमा जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नवीन बाबु श्रेष्ठ तथा चन्द्रागिरिका राम के.सी. र हरि खत्रीको जोडी रहे।

विजयी खेलाडीहरूलाई सङ्घीय सांसद प्रेम सुवाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपमेयर रजनी जोशी लगायतले पुरस्कार वितरण गरेका थिए।

करिब ब १६ लाख ८६ हजार ५ सय रुपैयाँ लागत रहेको च्याम्पियनसिपमा यु–१५ पुरुष/महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। पुरुष/महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पारे। भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

चारदिने च्याम्पियनसिपमा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ) बाट २ सय खेलाडीको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2022-03-26 22:08:00

प्रतिकृया दिनुहोस्