‘कौसी क्वीन’ अर्थात् कृषि मेलाकी रेखा (भिडियो)

ललितपुरको जावलाखेलमा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा २३ औं पुष्प मेला प्रदर्शन सुरू भएको छ।

हिजोदेखि सुरू भएको मेलामा ६२ वटा स्टलहरू राखिएका छन्। त्यहीँ स्टल प्रदर्शनीमा थिइन्– रेखा महर्जन। जसले विभिन्न फूलका बिरूवा सजाएर प्रदर्शनीमा राखेकी थिइन्। 

उनले फूल मात्र नभई दाउरा र दोरीबाट बनाइएको फूल झुण्डाउने अर्थात् ‘वृड ह्याङगर’ पनि बेचिरहेकी थिइन्। जसलाई घरमा सजाउन प्रयोग गरिन्छ।

विदेशको घरहरूमा सजाइएको ‘म्यारी कम’ लाई उनले नेपालमै बनाउने निधो गरिन्।   

सुरूमा उनले लठ्ठी र दोरी भेला पारिन्। त्यसलाई उनले एकअर्कासँग कसिलो बाधिँन। अनि बन्यो उनले ‘म्यारी कम’ अर्थात् वृड ह्याङगर बनाइन्। ‘विदेशतिर यसलाई म्यारी कम भनेर चिनिन्छ’ उनले भनिन्। 

सुरूको दिनमा उनलाई वृड ह्याङगर बनाउन ५–६ घण्टा लाग्यो। तर विस्तारै बनाउन जानेकी उनलाई आजभोलि एउटा ह्याङगर बनाउन २ घण्टा मात्र लाग्छ। 

‘मैले विदेशमा देखेको कुरालाई नेपालमा बनाएँ, म चाहन्थेँ फूललाई नयाँ अवतार मिलोस्’ उनले बिएल नेपाली सेवासँग भनिन्, ‘फूललाई सजाउने नयाँ तरिका मिल्यो।’ 

आफूलाई ‘प्लान्ट लबर’ बताउन रूचाउने उनी देशलाई हरियाली बनाउनुपर्ने बताउँछिन्। ‘मलाई हरियाली मनपर्छ, त्यसैले विरूवालाई माया गर्छु’ उनले भनिन्। 

आफूले प्रदर्शनीमा राखेको फूलहरू देखाउँदै उनले भनिन्, ‘यो फूल हो–बेगम बेली, यो पेनीलल, यो अजेरिया र यो गुलाफ हो। मलाई फूलहरूको बारेमा सबै थाहा छ।’

उनको सानोदेखिकै सपना रहेछ–बिरूवा रोप्ने, हुर्काउने। त्यसैले उनले ५ वर्षको उमेरदेखि नै सुरू गरेकी थिइन्, विरूवालाई माटोमा गाड्न।

आफूले बिरूवालाई माया गर्न हजूरआमाबाट सिकेको उनी बताउँछिन्।

‘मेरो हजूरआमाको नर्सरी थियो, जहाँ उहाँले बिरूवालाई माया गरेर हुर्काउनु हुन्थ्यो, जसलाई देखेँर म पनि निकै खुशी हुन्थेँ’ हजूरआमा सम्झिदै उनी भन्छिन्, ‘हजूरआमाले मलाई जे दिनु हुन्थ्यो, म त्यहीँ रोपिहाल्थेँ।’

बच्चाबेला नै हरियालीमा चासो राख्ने उनले ०६९ सालमा स्वयम्भूको डल्लुमा नर्सरी खोलिन्। ‘मैेले हजूरआमाबाट सिकेको सिपलाई बाहिर निकालेँ’ उनले भनिन्।

तीन वर्षसम्म फूल स्याहारेर बसेकी उनको भूकम्पका कारण नर्सरी बन्द भएको बताउँछिन्।  ‘भूकम्पले मेरो काम बर्बाद भयो’ उनले भनिन्।

भूकम्पबाट नर्सरी ध्वस्त भएपछि उनले कौसी खेती गर्न थालिन्। जसबाट उनले मनग्यै तरकारीलगायत फूलहरू फुलाउन थालिन्।

कौसी खेती गरेकी उनी ‘कौसी क्वीन’ बन्न पनि सफल भएको बताउँछिन्।

‘मैले कौसीमा खेती गरेर पुरस्कार जितेकी छु’ उनले भनिन्, ‘कौसीमा फूल रोपेको कारण दोस्रो भएँ।’ 

पुस्कार जितेर ऊर्जा पाएको बताउने उनी भन्छिन्, ‘पुरस्कार पाएपछि झनै कौसी खेती गर्न प्रोत्सान मिल्यो।’

कसरी गर्ने कौसी खेती ?

मानिसहरूले कौसी खेती गर्ने भनेर बोरालगायत ड्रमहरूमा भारी माटो हाल्छन्। जसले बिरूवालाई राम्रो नभई सुकाउने गरेको उनी बताउँछिन्। 

‘कौसी खेती गर्नका लागि हलुका माटो चाहिन्छ, भारी माटो हाल्दैमा बिरूवा सप्रिदैन’ उनले भनिन्, ‘थोरै माटो र हल्का पत्कर हाले बिरूवा राम्रो हुन्छ।’ 

मान्छेले कौसी खेती गर्छु भनेर लापारवार्ही गर्न नहुने बताउँदै भन्छिन्, ‘कौसी खेतीमा वेवास्ता गरे दुर्घटना समेत हुन सक्छ।’ 

 

प्रकाशित मिति: : 2022-03-25 19:40:00

प्रतिकृया दिनुहोस्