सलमान खानसँगकाे भिडियो कन्फ्रेन्समा मन्त्री आलेले भने, 'हम बहुत खुस हुआ'

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले चर्चित भारतीय बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन्। भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए। कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै अब सबै सामान्य भएको उनको भनाइ थियो।

हिन्दीमा बोल्दै मन्त्री आलेले भने, सलमानजी आप से मिलके हम बहुत खुस हुआ , हम आपको स्वागत करनेके लिए आतुर हे । सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए ।आफूलाई नेपाल निकै मन पर्ने भन्दै उनले चाँडै नेपाल आउन लागेको बताए। 

मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिएका छन्। जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए। तपाईलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउनु आग्रह गर्दछु। यदि तपाईको समय मिल्यो भने म तपाईलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु। त्यसमा तपाईले सहयोग गर्नुपर्‍यो, मन्त्री आलेले भने। 

आलेले आफूले थुप्रै फिल्म हेरेको स्मरण गराए । नेपालमा स्वागत गर्न नेपाली जनता र सरकार तयार रहेको उनको भनाइ थियो। आफ्नो चलचित्रको प्रमोसनका लागि सलमान खान आगामी १४ जेठमा नेपाल भ्रमणमा आउँदैछन्। त्यसअघि नै मन्त्री आलेले सलमानसँग भर्चुअल कुराकानी गरेका हुन्।

प्रकाशित मिति: : 2022-03-23 17:11:00

प्रतिकृया दिनुहोस्