‘द कश्मिर फाइल्स’ को चर्चा

वलिउड चलचित्र ‘द काश्मिर फाइल्स’को चर्चा भारतमा मात्रै सीमित रहेन। सो चलचित्रले अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान खिच्नमा सफल भएको देखिन्छ।

भारतको काश्मिर राज्यका पण्डितहरुलाई पुख्यौली घर र सम्पत्ति छोडेर रातारात किन पलायन हुनु परेको भन्ने घटनामा आधारित सो चलचित्र विवेक अग्निहोत्रीको निर्देशनमा तयार भएको हो।

काश्मिर फाइल्स चलचित्रमा अनुपम खेर, मिथुन चक्रबर्ती,पल्लवी जोशी, दर्शनकुमार, पुनित ईशर, चिनमे मन्डेकललगायतले अभिनय गरेका छन्। यो चलचित्र ११ मार्चमा रिलिज भएपछि एक सातामै एक सय करोडभन्दा बढीको व्यापार गरिसकेकाे छ।

व्यापारिक दृष्टिले हेर्दा यो फिल्मीले नयाँ रेकर्ड बनाउने देखिन्छ। सुरु सुरुमा भारतको विभिन्न शहरको ६ सय स्क्रिनमा देखाउँदै थियो। दर्शकको दबाबपछि अहिले भारतका विभिन्न शहरमा चार हजार र विश्वको अन्य २५ मुलुकको ३५० स्क्रिनमा यो फिल्म प्रदर्शन भइरहेका छन्।

बलिउडका चर्चित हस्तीहरुले यस फिल्मको प्रमोसनका लागि कोही पनि अगाडि नआएपनि सामाजिक सञ्जालका साथै दर्शकहरुले नै यस फिल्मको व्यापक रुपमा प्रचारप्रसार गर्दा चलचित्र भवनमा टिकटको लागि अहिले पनि तछाडमछाड जारी छ।

काश्मिरमा बहुसङ्ख्यक मुशलमान छन्। मुश्लिम चरमपन्थीहरु काश्मिर राज्यलाई पाकिस्तानमा विलयका लागि हिसांत्मक गतिविधिमा संलग्न छन्। सन् १९९० जनवरी १९ तारेखमा काश्मिर घाटीमा मुश्लिम चरमपन्थीहरुद्वारा पण्डितहरुमाथि घटित हिंसात्मकलगायतका घटनाहरु सो फिल्ममा समावेश गरिएको हो।

३२ बर्षअघिको सो घटनाले गर्दा पाँच लाखभन्दा कश्मिरी पण्डितहरु आ–आफ्ना घरवार छोडेर पलायन हुनु परेको थियो। लामो समयसम्म जम्मु, दिल्ली र मुम्बईको शिविरमा शरणार्थीकै रुपमा जीवनयापन गर्दै उनीहरुमध्ये अधिकांशले आफूलाई आत्मनिर्भर बनाउनमा लगभग सफल भएका छन्। उतिखेर, काश्मिरी पण्डितहरुको काश्मिरमा शिक्षाका साथै व्यापारलगायत विभिन्न क्षेत्रमा राम्रो पकड थियो।

सो काश्मिर फाइल्स हेरेपछि कतिपय दर्शकहरुले यस्ता अमानवीय घटनालाई सरकारहरुले किन लुकाएको र सञ्चार जगत किन मौन रहेको भन्ने विषय जोडदार रुपमा आवाज उठाउन थालिएको देखिन्छ। काश्मिर फाइल्स सिनेमाप्रति आकर्षण बढ्न थालेपछि केही दिनदेखि भारतका विभिन्न न्यूज च्यानलहरुबीच सो फिल्मका निर्देशक विवेक अग्निहोत्री, कलाकार अनुपम खेर र पल्लवी जोशीको अन्तर्वार्ता लिनका लागि होडवाजी सुरु छ।यसका साथै, काश्मिरी पण्डितहरुसँग पनि घटनाका बारेमा जानकारी लिन थालिएको छ। भारतका विभिन्न न्यूज च्यानलहरुमा काश्मिर फाइल्स र पण्डितहरुको दैनिक रुपमा बहस भइरहेको देखिन्छ।

विवेक अग्निहोत्रीले ‘द कश्मिर फाइल्स’ सत्य घटनामा आधारित रहेको दावी गर्दै आइरहेका छन्। उनले सात सय पीडित काश्मिरी पण्डित परिवारका घर-घरमा पुगेर सो घटनाको बारेमा जानकारी सङ्कलन गरेको बताउँछन्। दिल्ली, मुम्बईका साथै अमेरिका, इङ्गलेण्ड, अष्ट्रेलिया, क्यानडालगायत विभिन्न मुलुकमा बस्दै आएका कश्मिरी पीडित परिवारसँग सम्पर्क गरेको उनले विभिन्न सञ्चार माध्यममा दिएका अन्तर्वार्तामार्फत जानकारी गराएका हुन्। सो जानकारी सङ्कलनमा चार बर्षको समय लागेको थियो। ती सात सय जनासँग गरिएकाे कुराकानीको आधारमा पन्ध्र हजार पेजको रिपोर्ट तयार गरेको थियो।

त्यसपछि काश्मिरका पूर्वराज्यपाल जगमोहनद्वारा काश्मिर पण्डितको विषयमा प्रकाशित पुस्तकसँग क्रसचेक गरिएको थियो। पीडित परिवार, जगमोहनको पुस्तक, प्राप्त प्रमाण, आतङ्कवादी सङ्गठनले घर छोड्नका लागि धम्कीसहित पठाएका पत्रहरु र काश्मिरका विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारमा फिल्मको कथावस्तुको रुपमा समावेश गरिएको निर्देशक विवेक अग्निहोत्रीको दावी छ।

सो क्रममा महिलाहरुसँग घटित घटनाको सन्दर्भमा पल्लवी जोशीले बढी जानकारी एकत्रित गरेकी थिइन्। जुन घटनाको प्रमाण जुटाउन सकिएन, त्यस्ता घटनाहरुलाई फिल्ममा समावेश नगरिएको विभिन्न टिभी न्यूज च्यानलमा विवेक अग्निहोत्रीले अन्तर्वार्तामा उल्लेख गरेका छन्। उनले टिभी च्यानलहरुमा अन्तर्वार्ता दिँदै कुनैपनि बेला सर्वोच्चमा मुद्धा पर्न सक्ने भएकाले उतिखेर आतङ्कवादीले बोलेका आवाजको रेकर्ड, श्रव्यदृश्य, प्रहरीको रिपोर्टलगायत आवश्यक सम्पूर्ण प्रमाण जुटाइएको छ। जवाहरलाल युनिभरसिटीमा काश्मिरको आजादीको सम्बन्धमा दिएका भाषणसमेत सङ्कलन गरी राखिएको छ। त्यस्ता, भाषणहरु फिल्ममा एक शब्द पनि हेरफेर नगरी समावेश गरिएको बताएका छन्।

हुन त, काश्मिरका पण्डितहरु आतङ्कवादीको निशानामा पहिलेदेखि नै थिए। राज्यपालको नियुक्तिको विषयमा विवाद हुँदा मुख्यमन्त्री फारुख अब्दुल्लाले सन् १९९० जनवरी १८ तारेखमा पदबाट राजीनामा गरेका थिए। मुख्यमन्त्री र राज्यपाल नभएको मौका छोपी  काश्मिर घाटीमा काश्मिर पण्डितहरुमाथि बर्बरता भएको थियो। किनभने, सिआरपी अर्थात केन्द्रीय प्रहरीलाई परिचालन गर्ने अधिकार राज्यपालमा निहित हुन्छ। यस विषयमा विवेक अग्निहोत्रीले भारतको आजादी सन् १९४७ अगस्ट १५ मा भएको थियो। तर, आजादीको लागि पृष्ठभूमि बर्षौंदेखि बन्दै थियो। एक दिनमै भारत आजाद भएको होइन। त्यस्तै, काश्मिरी पण्डितलाई लखेट्नका लागि लामो समयदेखि पृष्ठभूमि बन्दै थियो। मौका पाउनासाथ १९ जनवरीमा सो घटना घटाइयो।

यो फिल्म धेरै बढी चर्चित भएपछि पक्ष र विपक्षमा बहस सुरु भएको छ। भारतीय जनता पार्टीबाहेक अन्य दलका नेताहरुले फिल्मको विरुद्धमा आ–आफ्ना प्रतिक्रिया दिइरहेका छन्। कतिपयले यस फिल्ममार्फत हिन्दु –मुश्लिमबीच कटुता बढ्ने शङ्का व्यक्त गरेका छन् भने कतिपयले तीन दशक भइसक्दा पनि जनतालाई वास्तविकताबाट टाढा राखिएको र तत्कालीन सरकारहरुले तथ्य लुकाउन खोजेको आरोप लगाइरहेका छन्।

यस फिल्मको सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशक विवेक अग्निहोत्री, अनुपम खेर र पल्लवी जोशीसँग भेट गरेर सो फिल्मको विषयमा जानकारी लिएपछि अधिकांशको फिल्मप्रति आकर्षण बढेको देखिन्छ। यस फिल्मको प्रमोट गर्नका लागि वलिउडका हस्ती मानिएका कलाकारहरुले कुनै प्रतिक्रिया दिएका छैनन्। सोनी च्यानलबाट प्रसारित ‘कपिल शर्मा शो’ ले पनि सो फिल्मको प्रमोटका लागि द कश्मिर फाइल्सका कलाकारहरुलाई न बोलाएपछि केही दिनदेखि सामाजिक सञ्जालमा कपिलप्रति आक्रोश पोख्ने थालिएको छ।

 स्रोत : विवेश अग्निहोत्रीले भारतका विभिन्न न्यूज च्यानलहरुमा दिएका अन्तर्वाताको आधारमा समावेश गरिएको हो।)

काश्मिर किन विवादित ?

सन् १९४७ सालमा भारत स्वतन्त्र हुँदा अङ्ग्रेजले काश्मिरसहित पाँच सय रियासतलाई स्वतन्त्र गरेको थियो। भारत वा पाकिस्तानमा विलय हुने कि स्वतन्त्र बस्ने भन्ने सम्बन्धमा ती रियासतका शासकलाई नै निर्णय लिने अधिकार सुम्पिएको थियो। सोमध्ये काश्मिरका राजा हरि सिंह भारत वा पाकिस्तानमा विलय नभई एक स्वतन्त्र राज्यको अस्तित्व रहने पक्षमा थिए।

तर, पाकिस्तान काश्मिरलाई आफ्नो भू-भागमा समावेश गर्न खोजेकाले भारत र पाकिस्तानबीच सम्बन्ध चिसिँदै गएको थियो। सन् १९४८ मा पाकिस्तानले आफ्नो देशमा विलय गराउनका लागि छद्म भेषमा सेना पठाएर काश्मिरमाथि आक्रमण गर्यो। भारतको प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले  काश्मिरको रक्षाको लागि सेना पठाउनमा ढिलो गर्दा धेरै ठूलो भू-भागमा पाकिस्तानको कब्जा भइसकेको थियो। भारतीय सेना काश्मिर पुगेपछि युद्ध सुरु भयो।

पाकिस्तानी सेना पछाडि हटेपनि काश्मिरको एक भागमा पाकिस्तानको कब्जा रह्यो। सो बेलादेखि काश्मिरको एक भाग पाकिस्तानको कब्जामा छ। एक ठूलो भाग भारतको र केही भाग चीनको कब्जामा छन्। राजा हरि सिंहले भारतमा विलयको लागि मञ्जुरी दिएपछि काश्मिरको सो भू-भाग विधिवत रुपमा भारतको अङ्ग बनेको छ। भारतको कब्जामा रहेको भू-भागलाई काश्मिरी मुश्लिम चरमपन्थीहरुले पाकिस्तानमा विलय गराउनका लागि हतियार उठाएका छन्। अहिले पनि काश्मिरमा छिटफुट घटनाहरु भइरहन्छन्।

काश्मिरको विषय लिएर भारत–पाकिस्तानबीच तीनपटक युद्ध भइसकेको छ। र, एकपटक सन् १९७१ मा पूर्वी पाकिस्तानलाई बङ्गलादेश बनाउनका लागि भारतीय सेना पूर्वी पाकिस्तान पुगेको थियो। एक लाखभन्दा बढी पाकिस्तानी सैनिकलाई आत्मसमर्पण गराएर भारतले पूर्वी पाकिस्तानको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएर बङ्गलादेशको स्थापना गराएको थियो। अहिलेसम्म पनि काश्मिरको विषयलाई लिएर दुवै मुलुकबीच सम्बन्ध तनावग्रस्त नै छन्।

प्रकाशित मिति: : 2022-03-21 19:27:00

प्रतिकृया दिनुहोस्