युक्रेनमा हरेक एक सेकेन्डमा एक बालक/बालिका शरणार्थीः राष्ट्रसंघ

REUTERS/Marko Djurica
REUTERS/Marko Djurica

२४ फेब्रुवरीमा रुसी सेनाले युक्रेनमा हमला गरेपछि करीब १४ लाख बालबालिकाले युक्रेन छाडेका राष्ट्रसंघले जनाएको छ।

यस हिसाबले हरेक एक सेकेन्डमा एक जना बालका/ बालिका शरणार्थी बनेका छन्। इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेन्सन (आईओएम) ले जारी गरेको ताजा तथ्यांकअनुसार युक्रेनबाट ३० लाखभन्दा बढी मानिस पलायन भएका छन्। तीमध्ये झण्डै आधा बालबालिका छन्।

‘पछिल्लो २० दिनमा औषतमा युक्रेनमा हरेक दिन ७० हजार बालबालिका शरणार्थी बनेका छन्,’राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय यूनिसेफका प्रवत्ता जेम्स इल्डरले भने।

‘गति र मापनको हिसाबले यो संकट दोस्रो विश्वयुद्ध पछि अभूतपूर्व हो,’ उनले भने। युद्ध र द्वन्द्वका कारण आफ्नो घरबाट निकालिएका सबै बालबालिकाहरू जस्तै ती सीमावर्ती देशहरूमा पुगेका युक्रेनी बालबालिकाहरू पारिवारिक बिछोड, हिंसा, यौन शोषण र बेचबिखनको ठूलो जोखिममा भएको उनले बताए।

‘उनीहरूलाई सुरक्षा, स्थायित्व र बाल संरक्षण सेवाहरूको आवश्यकता छ’ उनले भने। 

प्रकाशित मिति: : 2022-03-16 06:33:00

प्रतिकृया दिनुहोस्