अमेरिकी सरकार र यहाँको नेपाली डायस्पोरा अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीको प्रतीक्षा गरिरहेका छन् । लामो समय लगाएर एग्रिमो आएपछि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई औपचारिक रूपमा राजदूत नियुक्त गरेकी हुन् ।
राजदूत नियुक्तिसँगै उनको वासिंगटन डिसी आउने बाटो खुलेको छ । एमसिसीका कारण तिक्तताको पारो सीमामा पुगेर घटिरहेका वेला त्यसलाई सम्याउन उनको भूमिका अपेक्षित छ । र, यसका लागि जति छिटो आएर उनले त्यो काम सुरु गर्नेछन्, त्यति नै छिटो यो समस्या सम्मिएर नेपाल–अमेरिकाबीचको सम्बन्ध सामान्य हुनेछ ।
प्राध्यापक खत्री औपचारिक रूपमा राजदूत नियुक्त भएसँगै अमेरिकाको नेपाली डायस्पोरामा उनको चर्चा–परिचर्चा पनि सुरु भएको छ । डा. खत्रीको योग्यता, अनुभव र व्यक्तित्वलाई लिएर कसैले पनि प्रश्न उठाएका छैनन् र उठाउन पनि सक्दैनन् । तर, नामअनुसार गरिएको ठूलो अपेक्षामा उनी खरो उत्रन सक्छन् कि सक्दैनन् भन्ने प्रश्नचाहिँ सबै कोणबाट उठेको छ र यो उठ्नु स्वाभाविक पनि हो ।
प्राध्यापक खत्रीका लागि अमेरिकास्थित नेपाली राजदूतावासमा चुनौतीका पहाडसँगै अवसरका मैदान पनि पनि प्रतीक्षारत छन् । चुनौतीको कुरा गर्दा पहिलो चुनौती त यसअघिका दुई कम्युनिस्ट पृष्ठभूमिका राजदूत त्यसमा पनि खासगरी डा. अर्जुन कार्कीले थुपारेको फोहोरको चाङ सफा गर्नु छ । कार्कीले घर्रामा थन्क्याएका भ्रष्टाचारका फाइल खोल्नु छ र त्यसका आधारमा संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्नु छ । त्यसमा उनी कत्तिको खरो उत्रन्छन्, त्यसैमा उनको खास परीक्षा हुनेछ ।
दोस्रो चुनौती भनेको एमाले केन्द्रीय सदस्यसमेत भएका डा. युवराज खतिवडालाई बीचैमा फिर्ता बोलाएर उनी आएका हुन् । यस पृष्ठभूमिमा आएका प्राध्यापक खत्रीका लागि अमेरिकामा रहेका एमाले पक्षधर संघसंस्था त्यसमा पनि खासगरी ओलीमा ‘बा’ देख्नेहरू सुरुदेखि नै पूर्वाग्रही हुनेछन् । लोकप्रिय राजदूतका रूपमा काम गर्न उनीहरूलाई समेत विश्वासमा लिएर काम गर्नुपर्ने भएकाले उनका लागि यो सोचेजस्तो सजिलो हुनेछैन । किनकि, नेपालमा जसरी ओली अप्ठ्यारो आसनमा बसेका छन्, यहाँ उनका अनुयायीहरू पनि त्यतैतिर फर्केर बसेका छन् । उनीहरूलाई दाहिना फर्काउन सजिलो छैन ।
तेस्रो चुनौती भनेको वासिंगटन डिसी महानगरीय क्षेत्रमा एउटा यस्तो नेपाली डायस्पोरा छ, जसका धेरैजसो सदस्य आफैँलाई ‘मिनी एम्बेसडर’ ठान्छन् । विगतका राजदूतले लोकप्रिय हुने नाममा छिमेकका यी मिनी एम्बेसडरहरूलाई वेलावेलामा ‘वाइन एन डाइन’ गराएर खुसी बनाउँदै आएका छन् । यति मात्र होइन, उनीहरूका लागि राजदूतको ढोका सधैँ खुला राखिदिएका छन् र वेलावेला फोटो–अपको अवसर पनि दिएका छन् । यसरी ‘प्याम्पर्ड’ बनाइएकाहरूका लागि प्राध्यापक खत्री पनि त्यसरी नै प्रस्तुत हुन्छन् कि उनीहरूसँग निश्चित कूटनीतिक दूरीमा रहेर व्यवहार गर्छन्, यो पनि एक किसिमको चुनौती नै हो ।
चौथो चुनौती भनेको उनी प्राज्ञिक, कूटनीतिक व्यक्तित्व भए पनि कांग्रेस घरधुरीबाट अमेरिका आउँदै छन्, अमेरिकामा कांग्रेसका एक होइनन्, अनेक घरधुरी छन् र एकले अर्कासँग पानी बाराबार नै गरेर बसेका छन् । यस्तो अवस्थामा सबै घरधुरीसँग सही समीकरण बनाएर खुसी पार्न सक्छन् कि सक्दैनन्, त्यसमा पनि उनको कूटनीतिक परीक्षण हुनेछ । किनकि, यी सबै घरधुरीलाई मिलाउन सकिएन भने एकले अर्काको रिस फेर्न पनि उनीहरू प्राध्यापक खत्रीलाई नै अचानो बनाएर जाई लागिहाल्न सक्छन् । यो उनीहरूको नेपालदेखिकै कांग्रेसी खानदानी बानी हो ।
वासिंगटन डिसीमा रहेको नेपाली डायस्पोराका अधिकांश सदस्य आफैँलाई ‘मिनी एम्बेसडर’ ठान्छन् । विगतका राजदूतबाट ‘प्याम्पर्ड’ बनाइएका उनीहरू नवनियुक्त राजदूत खत्रीका लागि चुनौती बन्न सक्छन् ।
पाँचौँ चुनौती, अमेरिकामा अव्यावसायिक रूपमा हुर्किएको ठूलो नेपाली डायस्पोरिक मिडिया छ । जस्तै भए पनि यही नै हाम्रो नेपाली मिडिया समुदाय हो । यो मिडिया क्षेत्रलाई विगतमा राजदूतहरूले सही किसिमले प्रयोग गर्न जानेनन् । यसलाई समान किसिमले सूचनाको पहुँचमा ल्याइलिएर कम्तीमा महिनामा एउटा जुम मिट द प्रेस गरिदिने हो भने पनि ठूलो समस्या समाधान हुनेछ । यसो गर्न सकियो भने उनीहरूसँग प्रश्न बाँकी हुँदैनन् र काम गर्नका लागि उनीहरू बाधक होइन, साधक नै हुन सक्छन् ।
छैटौँ चुनौतीका रूपमा अमेरिकामा रहेका एनआरएनलगायत हजारौँ संघसंस्था देखिन्छन् । भिजिटिङ कार्ड बनाउन र कतिपय अवस्थामा नेपालबाट मानव तस्करी गर्ने ‘हिडेन एजेन्डा’साथ स्थापना गरिएका यी संघसंस्था राजदूतावासका लागि ‘नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाबुको अनुहार’ जस्ता हुनेछन् । यिनीहरूलाई बेवास्ता गरेर पनि धर पाइँदैन, वास्ता गरेर पनि सम्भव हुँदैन । यिनलाई कसरी ‘डिल’ गर्ने ? यो पनि राजदूत खत्रीका लागि एक चुनौतीको थुम्को हो ।
सातौँ चुनौती भनेको अमेरिकामा अमेरिकी र नेपाली मूलका थुप्रै अवैतनिक महावाणिज्यदूत र वाणिज्यदूत छन् । यी दूत त्यसका लागि आवश्यक न्यूनतम योग्यता भएर भन्दा पनि भनसुन र पहुँचका आधारमा तोकिएका हुन् । राजदूत खत्रीले उनीहरूलाई हटाउन नसके पनि काम लगाउन सक्छन् र नगर्नेलाई हटाउन सिफारिस गर्न सक्छन् । सिफारिसले काम गर्छ कि गर्दैन, त्यो बेग्लै कुरा हो । तर, काम नगरेको भनेर अभिलेख बस्यो र त्यो समाचार बन्यो भने पनि उनीहरूलाई सप्रिन ठूलो सहयोग पुग्नेछ ।
आठौँ चुनौती भनेको राजदूत खत्री स्वयंको बुढ्यौली पनि हो । उमेरले पाका खत्रीलाई क्षण–क्षणमा बदलिरहने अहिलेको प्रविधि र विषयवस्तुमा अद्यावधिक हुन सजिलो नहुन सक्छ । उनले आफ्नो यस कमजोरीलाई सही सहकर्मी छनोट गरेर पुर्ताल गर्न सक्छन् । त्यसका लागि उनी तयार हुन्छन् कि आफ्ना पूर्ववर्ती डा. कार्कीजस्तै नेपालबाट आफन्त झिकाएर यतै अमेरिकामा छोड्नतिर लाग्छन्, यो पनि एक किसिमको चुनौती नै हो ।
नवौँ चुनौती भनेको राजदूतावासमा रहेको नोकरशाहीतन्त्र हो । सामान्यतः आफूलाई करिअर डिप्लोम्याट ठान्ने उनीहरू बाहिरबाट आएका राजदूतलाई आफ्नो भाग खोसेर आएको सौतेलो छोरोजस्तो ठान्छन् । राजदूत खत्रीलाई स्वागत गरेको दिनदेखि नै उनीहरूले सके खत्रीलाई आफूअनुकूल घुमाउने र नसके असफल गराउने खेल खेल्न सक्छन् । पहिला त उनीहरू आफूले चाहेजसरी घुमाउन खोज्छन्, सके भने उनीहरूको स्वार्थपूर्तिकै लागि काम गर्ने गुलाम बनाउँछन्, सकेनन् भने असहयोग गरेर असफल बनाउनतिर लाग्छन् । वासिंगटन डिसीमा आउने ‘मुन्सीखाना’का कर्मचारी यसै पनि पहुँचवाला हुन्छन् र त्यो पहुँचलाई तालुकवाला परराष्ट्र मन्त्रालयमा प्रयोग गरेर राजदूतलाई असफल बनाउन सक्छन् । यस्ता नजिर एक होइन, अनेक छन्, अमेरिकामै पनि छन् ।
दसौँ चुनौती भनेको नेपालमा परिवर्तन भइरहने सरकार र सरकार परिवर्तनसँगै राजदूत फिर्ता हुने सनातनी परम्परा पनि हो । यो सम्भावना राजदूत खत्रीका लागि पनि यथावत् छ र यो एक किसिमको मानसिक तनावका रूपमा रहिरहन्छ । यो पनि राजदूत प्राध्यापक खत्रीले ‘ब्याक अप माइन्ड’मा राखिरहनुपर्ने हुन्छ । यो पनि एक किसिमको मानसिक चुनौतीको पहाड नभए पनि थुम्को जरुर हो ।
एघारौँ चुनौती भनेको एमसिसी र यसले सिर्जना गरेको पछिल्लो परिस्थिति पनि हो । सम्झौता त संसद्बाट मुस्किलले पारित भएको छ, तर यसलाई कार्यान्वयनमा लैजान सजिलो छैन र त्यसका लागि राजदूतका रूपमा डा. खत्रीको पनि अहम् भूमिका हुन्छ । यो भूमिका सजिलो छैन, त्यसमा उनी कसरी प्रस्तुत हुन्छन्, त्यसमा पनि उनको सफलता निर्भर हुन्छ ।
कामना गरौँ, प्राध्यापक खत्री यी सबै चुनौतीका पहाडलाई अवसरको मैदान बनाएर अगाडि बढ्न सकून् । र, अमेरिकामा बेथितिका रूपमा रहेका थुप्रै समस्या समाधान गरेर एक सफल राजदूतका रूपमा इतिहास बनाउन सकून् ।