नेपाल एसोसिएसन युएईको साधारणसभामा जे देखियो

फोटो : कृष सुनार/रामु शाही
फोटो : कृष सुनार/रामु शाही

देरा दुबईस्थित समुन्द्रको किनारमा अवस्थित होटल काल्टन टावरमा हिजो (आइतबार) नेपाली समुदायको चहलपहल हेर्न लायकको थियो।

नेपाल एसोसिएसन युएईको साधारणसभामा नेपाली पहिरनले चिटिक्क सिंगारिएर आएका कलाकारहरुको टोली, दौरा सुरुवाल अनि भादगाउँले टोपीमा ठाँटिएका नेपाली व्यवसायी र सर्ट, पाइन्ट, कोटमा सजिएका अतिथिहरुको उपस्थितिले होटलको सभाहल रंगिएको थियो।

हिजो दिउँसो करिब ३ बजे सुरु हुने तय गरिएको कार्यक्रम झण्डै डेढ घण्टा ढिलो सुरु भयो। नेपाल एसोसिएसनका महासचिव नरेस सेनले बिओडि कृष्ण पौडेललाई माईक्रोफोन हस्तान्तरण गरेसंगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास युएईकी श्रम काउन्सिलर निर्मला थापा सहभागी भइन् भने उनीसंगै दूतावासका अन्य कर्मचारीहरु पनि अतिथिका रूपमा सहभागी भएका थिए।

पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेसंगै संस्थाका महासचिव नरेस सेनले स्वागत मन्तव्य राखे। त्यसलगत्तै ईनास आवद्ध नेपाली कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

प्राविधिक गडबडीका बाबुजुद कार्यक्रमको बिचबिचमा ईनास युएईका नेपाली कलाकारहरु अंकुस राई, निशा लामा, सुसिला गुरुङ, संगिता परियार, मिथी आले, ईसा परियार, शान्त बस्नेत, पल श्रेष्ठ, कृष्ण खवासलगायतको प्रस्तुती तारिफयोग्य थियो।

कार्यक्रममा एसोसिएसनका गतिविधिहरुको बारेमा नवराज श्रेष्ठले प्रस्तुती राखेका थिए भने कोषाध्यक्ष विकास शाहीले आर्थिक प्रतिवेदन वाचन गरेका थिए।

यस्तै एसोसिएसनमार्फत संचालन भएका राहत वितरण एवम् उद्दारका गतिविधिहरुको बारेमा रुमा अधिकारीले प्रस्तुति राखेकी थिइन्।

मन्तव्यका क्रममा प्रमुख अतिथी निर्मला थापाले नेपाल एसोसिएसनले अप्ठ्यारोमा परेका नेपालीहरुको सहयोगमा खेलेको भुमिका अविस्मरणीय रहेको बताइन्। उनले युएईमा नेपाली समुदायबीच भएको मेलमिलाप र भाइचारको प्रसंसा समेत गरेकी थिइन्।

एसोसिएसनको आगामी नेतृत्वका लागि परेको नोमिनेसनहरु र नयाँ नेतृत्व छनौटको विधिबारे बिओडी राम तामाङले जानकारी गराएका थिए।उनले प्राप्त आकांक्षीहरुको नामावली सार्वजनिक गर्दै अन्तिम निर्णय सिडिएबाट आउने जानकारी दिएका थिए।

कार्यक्रममा एसोसिएसनका स्वयंसेवक , सहयोगी एवम् दुबई र अबुधाबी च्याप्टरमा रहेका सदस्यहरुलाई प्रशंसा पत्र समेत वितरण गरिएको थियो। यसैगरी एसोसिएसनको लोगो निर्माण प्रतियोगिताका विजयी दिनेश सुवेदीलाई पुरस्कार प्रदान गरिएको थियो।

झन्डै ४ घण्टा सञ्चालन भएको साधारणसभाको अन्त्यमा कार्यक्रमका सभापति रमेश श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित मिति: : 2022-03-14 11:47:00

प्रतिकृया दिनुहोस्