अभिताभ वच्चनको शीरमा ढाका टोपी, नेपाली शुभचिन्तकहरू खुशी

शताव्दीकै महानायक अमिताभ बच्चनले शिरमा नेपाली ढाकाटोपी ढल्काएको तस्वीर अहिले चर्चामा छ। सोमवार उनले आफ्नो इन्स्टाग्राममा ढाकाटोपी लगाएको एक तस्विर सार्वजनिक गर्दै क्याप्सनमा ‘केटीको केटीको’ लेखिदिएपछि अमिताभसँगै नेपाली टोपी पनि चर्चित बनेको हो। 

हर्षित मुद्रामा देखिएकाअमिताभ दुई हात कम्मरमा राखेर नाँच्नका लागि तम्तयार देखिन्छन्। तर, उनको यो तस्बिर के प्रयोजनका लागि खिचिएको हो  भन्ने सार्वजनिक भएको छैन।

अमिताभ वच्चन एक नायक त हुन् नै, उनको अद्भूत व्यक्तित्व पनि छ। खासगरी  ‘कौन बनेगा करोडपति’ कार्य्रकम सञ्चालन पछि चलचित्रमा उनको पातलो उपस्थितिका बाबजुद पनि उनी सबै पुस्तामाझ उत्तिकै लोकप्रिय छन्। नेपालमा पनि उनको यो कार्यक्रम नबिराई हेर्नेको संख्या लाखौंमा छ। 

अमिताभको शीरमा नेपाली ढाका टोपी देखेपछि उनका नेपाली शुभचिन्तकहरू खुशी छन्। यसका लागि उनलाई धेरै नेपालीले धन्यवाद पनि दिएका छन्। 

अमिताभ बच्चनले शिरमा नेपाली ढाकाटोपी ढल्काएको तस्वीर इन्स्टाग्राममा राखदै क्याप्सनमा लेखिदिए- ‘केटीको केटीको’। तस्विर के प्रयोजनका लागि खिचिएको थाहा नभए पनि उनको शीरमा टोपी भएपछि नेपाली शुभचिन्तकहरूमा खुशीको वहार आएको छ। 

फिल्मी करिअरको उत्कर्षमा रहेको बेला चलचित्र ‘महान’को छायांकनका क्रममा उनी नेपाल आएका थिए। यही चलचित्रमा उनले दरबार स्क्वायर क्षेत्रमा ‘प्यार में दिल पें’ शीर्षक गीतमा जिनत अमानका साथ नृत्य गरेका छन्। जुन गीत आज पनि चर्चित छ।  

उनी बलिउड चलचित्र ‘उचाइँ’को छायाँकनका क्रममा गत असोजमा नेपाल आउने योजना थियो। तर, हिमाली क्षेत्रको चिसोलाई मध्यनजर राखेर उनी आएनन्। उनको ठाउँमा डमी राखेर काम चलाइएको निर्माण पक्षले जनाएको छ। डमी नै सही, उनी चलचित्र उचाईमा नेपालमा देखिने छन्। भारतमा छाँयाङ्कन गरिएको दृश्यमा भने उनले आफैं अभिनय गरेका छन्।

बीबीसी विश्व सेवाले गरेको एक अध्ययनले यो शताव्दीकै सबैभन्दा लोकप्रिय व्यक्तित्व ठहरिएका उनलाई त्यसयता शताव्दीकै महानायक भन्ने गरिएको छ। उनको शीरमा नेपाली ढाका टोपी हुनु नेपाल र नेपालीको आफैंमा ठूलो प्रवर्द्धन हो। नेपाललाई एक सुन्दर र शान्त देश भनेर प्रशंसा गर्ने उनी नेपाली जातिलाई एक स्वाभिमानी र सोझो जातिका रूपमा सम्मान गर्छन्। 

प्रकाशित मिति: : 2022-03-09 00:41:00

प्रतिकृया दिनुहोस्