‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ आज मार्च ८ गते देशभर विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ।
अन्तर्राष्ट्रिय रुपमा महिला अधिकार र श्रममाथि हुने गरेको विभेदका विरुद्ध उठेका मुद्दा महिला आन्दोलनको सुरुवाती अवस्था थियो भने आज एक्काइसौँ शताब्दीको अन्त्यमा आइपुग्दा पनि महिला अधिकारका केही प्राप्तिहरु नारामा र कागजमा मात्रै सिमित रहेका छन्।
असुरक्षा, लैङ्गिक हिंसा, विभेदविरुद्ध र अधिकार प्राप्तिका लागि नेपालमा मात्रै नभएर विश्वभरका महिलाहरु आवाज उठाउन बाध्य छन्।
जबसम्म महिलाहरु आर्थिक रूपमा आफ्नो खुट्टामा उभिन सक्दैनन् र श्रोत हुँदैन, तबसम्म उनीहरुको आत्मबल बढ्दैन। त्यसैले महिलालाई आत्मनिर्भर बनाउनु नै दिगो विकासको पूर्वाधार हो।
महिला सशक्तीकरण भन्ने बित्तिकै प्रमुख दुईटा कुरा अगाडि आउछँन्। पहिलो कुरा हो- शिक्षा। जबसम्म कुनै व्यक्ति शिक्षित हुँदैन, उसंग आफ्नो बारेमा निर्णय लिनेसक्ने सामर्थ्य हुँदैन। जब व्यक्ति शिक्षित हुन्छ, तब निर्णय क्षमतादेखि व्यक्तित्व विकास सम्भव हुन्छ।
दोस्राे कुरा हो- आर्थिक स्राेत। आर्थिक स्राेतका लागि कुनै न कुनै पेशा व्यवसायमा लाग्नुपर्ने हुन्छ। पेशा व्यवसायमा व्यस्तता र त्यसबाट प्राप्त हुने आयआर्जनले महिलाको आत्मसम्मान, इज्जत, प्रतिष्ठा बढ्नुका साथै परिवार र समाजले हेर्ने दृस्टीकोण पनि फरक र उच्च हुन्छ।
जब महिलामा आत्मनिर्भरता बढ्छ, तब उनको निर्णय क्षमतामा पनि विकास हुन्छ। गरेका निर्णय कार्यान्वयन गर्न सक्षम हुन्छन्। छोरीलाई शिक्षामा गरेको लगानीले भविष्यमा उनलाई आफ्नो खुट्टामा उभिने वातावरण मिल्दछ। महिला शिक्षित भए भने सिङ्गो परिवार शिक्षित हुनुका साथै मनोवैज्ञानिक हिसाबले पनि तन्दुरुस्त हुन्छ।
त्यसैले दिगो विकास भन्नू नै सामाजिक न्याय, विकास, सशक्तीकरण, शिक्षा, भौतिक पूर्वाधारको विकास लैङ्गिक समानता जस्ता कुराहरुको समिश्रण भएकोले मार्च ८ सबैको लागि सार्थक बन्न सकोस् हार्दिक शुभकामना।