शनिबार, १२ जुलाई २०२५

पल शाहको पछि लाग्दा युट्युबरको भागाभाग, पुण्य गौतमको रुवाबासी 

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-03-08 19:10:00
Breaknlinks
• • •

आइतबार नेपाल प्रहरीको साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एकाएक पुण्य गौतम देखिए। बाटो हिँड्दा समेत दायाँ-बायाँ युट्युबर च्यापेर हिँड्ने गौतमको अगाडि पछाडि भने कोही पनि देखिएनन्। बरु कसैले देख्ला कि जस्तै गरी उनी एक नेतालाई लिएर प्रहरी कार्यालय पुगेका थिए।

केही महिनाअघि मात्र जन्मिएको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय नेता भन्दै प्रचारसमेत गर्न भ्याएका गौतम प्रहरीमा एकाएक किन पुगे ? दुई दिनअघि मात्र तनहुँको दमौली बजारको भिडलाई उत्तेजित बनाउँदै युट्युबमा भाषण दिइरहेका गौतम लुसुक्क प्रहरीमा पुग्नु रहस्य के थियो...?

फागुन १५ गते जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाह प्रहरी हिरासतमा छन्। पललाई प्रहरीले नियन्त्रणमा लिएको भोलिपल्टन नै गौतम र कलाकार जयकिसन बस्नेतसहितको टोली दमौली पुगेको थियो। केही युट्युबरहरु पनि पल शाह प्रकरणबाट भ्यूज बटुल्न उतै हुत्तिए। युट्युबरसँग दमौलीमै बसेर रमाए।

कानुनलाई समेत बिर्सिएर पलको अन्धभक्त झैँ चर्का नारा लगाएका गौतमका त्यही कुरा युट्युबमा हालेर डलर झार्नका लागि पनि रामै मसला बन्यो। तर जघन्य अपराध र पीडित पक्षलाई यस्ता अनावश्यक कुराले झनै पीडा दियो।...

एक नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका पल शाहका घर–परिवार र उनका नजिकका आफन्तले केही प्रतिक्रिया दिएका छैनन्। सायद उनीहरूलाई थाहा छ होला, पल शाहमाथि एक गम्भीर आरोप लागेको छ। बोलेरभन्दा पनि कानुनी प्रमाणले नै उनलाई दोषी वा निर्दोष साबित गर्ला।...

तर एक हप्तासम्म दमौली युट्युबरको एक पक्षीय कुराले तात्यो। बजारका अधिकांश होटल नै कब्जा गरी युट्युबरहरुले बिहान घाम उदाउँदादेखि अस्ताउँदासम्म प्रहरी कार्यालय घेरे। काठमाडौँदेखि बस नै रिजर्भ गरी दमौली पुगेका अभियन्ता बताउने र आफूलाई मिडियाकर्मीको दाबी गर्ने युट्युबरहरुका कारण तनहुँ प्रहरीलाई हैरानी भयो।

भिडले पलको जय-जय मात्र गर्‍यो। हिरासतमा रहेका शाहको जय-जय मात्र भएन बाहिर पट्टी पीडित किशोरीको नाम नै लिएर मुर्दावाददेखि अन्य गालीगलाैजमा नै उत्रियो भिड। यही भिडलाई गौतम जस्ता व्यक्तिले आगोमा घिउ थपिरहेका थिए। त्यो बिचमा कोही युट्युबरहरुले पल शाह निर्दोष साबित भएको दाबी गर्दै आम नागरिकलाई भ्रम फैलाउने काम गरे भने काेहीले पल शाह १२ वर्षसम्म जेल पक्का भन्दै हेडलाइन बनाए।

आफूलाई अभियन्ता बताउने पुण्य गौतम, शर्मिला वाइबाको समूहले तनहुँ प्रहरीमा ताण्डवै देखायो। दिनमा २ पटक पुण्य गौतम पल शाहको प्रवक्ता बनेर युट्युबमा हिट भए। पुण्य गौतम मात्र हाेइन, आफूलाई अभियन्ता तथा सञ्चारकर्मी बताउने शर्मिला वाइबाले पनि दमौलीमा पलका बारेमा धेरै भाषण गरिन्। वाइबाले पलका बारेमा मात्र कहाँ बोलिन् र, आफ्नो स्वतन्त्र अभिव्यक्ति दिने अन्य कलाकारलाई पनि उनले तथानाम भनिन्।...

उनीहरू मात्र होइन, पहिलेदेखि नै पलको पक्षमा वकालत गर्दै आएकी नायिका पूजा शर्मा पनि त्यही भिडमा पुगिन्। उनी पुगेपछि झनै भिड हौसियो। भिड उत्तेजित भएपछि प्रहरी प्रशासनसमेत चनाखो भयो। त्यसपछि भिड कसरी नियन्त्रण गर्ने भन्ने उपाय खाेजियाे। भिडले कुनै अन्यायमा परेका मानिसको आवाज उठाएको थिएन।

भिडलाई उक्साएको र जथाभावी बोलेको विषयमा प्रहरीको निशानमा पुण्य गौतम परेका थिए। अनि शर्मिला वाइबा। यिनीहरूले बोलेको कुरालाई लिएर नायिका रेखा थापाले पनि प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि केन्द्रीय प्रहरी नै दमौलीको भिड नियन्त्रण गर्न तात्यो। वाइबालाई प्रहरीले सम्पर्क गर्न खोज्यो। उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेपछि मोबाइल अफ गरी फरार भएकी छन्।...

गौतम कानुनी फन्दामा परिएला कि भन्ने डरले आइतबार ब्यूरोमा छिरेका रहेछन्। त्यसपछि उनले त्यहाँका अधिकारीलाई बिन्ती बिसाएरै आफूले गल्ती गरेको भन्दै आइन्दा यस्तो गल्ती नगर्ने सर्तमा बाहिरिए। उनले आफू झुकेको र गल्ती बोलेको कुरा युट्यबमा त्यसरी नै सार्वजनिक गर्न चाहँदैन थिए। त्यसैले त होला भिड लिएर हिँड्ने पुण्य लुसुक्क प्रहरी कार्यालयमा पुगेका।...

पल शाह प्रकरणपछि कतिपय अनलाइन, युट्युब र गौतम समूह गालीगलौजमै उत्रेपछि प्रेस काउन्सिलले त्यस्तो कार्यमा संलग्न युट्युबरलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरेपछि गौतम समूह तनावमा परेको हो। पल शाहको नाम लिँदै दमौलीमा तमासा देखाउने अभियन्ता र युट्युबबरको अहिले भागाभाग मात्र भएको छैन, रुवाबासी नै मच्चिएको छ।

पछिल्लो घटनाक्रमसँगै पल शाहको पक्षमा आन्दोलन गर्ने र अरूकाे चरित्र हत्या गर्ने खालका प्रक्रिया दिनेहरूलाई प्रहरीले निगरानी बढाएपछि कलाकारहरूमा समेत भुइँचालो गएको छ। काठमाडौंदेखि दमौली पुगेकी नायिका पूजा शर्माले समेत प्रहरीको हिरासतमा रहेका पलका बारेमा धेरै बोलिन्। उनले पनि प्रहरी अनुसन्धानमा हरेका पलका बारेमा के बोल्ने, के नबोल्ने भन्ने हेक्का राखिनन्। कुनै फिल्मको सुटिङ जस्तै गरी दमौली पुगेकी शर्माको पनि हाउभाउ उस्तै थियो। तर अहिले उनी पनि चुइँक्क बोलेकी छैनन्।

नाबालिका बलात्कारको आरोप लागेर प्रहरी अनुसन्धानमा रहेका पलका बारेमा नारा लगाउँदैमा र उनी निर्दोष छन् भन्दैमा कानुनी छुटकारा पाइने पक्कै हाेइन। देशमा कानुन छ। कानुनले दोषी देखाए भोलि पल शाह जेल जालान्, या त उनले कानुनबाट छुटकारा पाउलान् त्यो भने भोलिको दिनले नै बताउने छ। तर सेलिब्रेटी भन्दैमा उनका बारेमा हुटिङ गर्न जरुरी छैन।

युट्युबका कारण समाज यस्तो भइसकेको छ कि वर्णन गर्न पनि सकिँदैन। कानुनलाई कुल्चेर के गर्न हुने, के गर्न नहुने भन्ने कुरालाई भुलेर डलर कमाउने चक्करमा लागेका युट्युबबरका कारण पत्रकारिता क्षेत्र नै दूषित भएकाे छ।

यस्ता कुरालाई ख्याल गर्दै नेपाल प्रेस काउन्सिलमा धेरै पहिला आवाज उठेको भए पनि सुनुवाइ भएको थिएन। तर गत शुक्रबार काउन्सिलले गरेको निर्णयलाई सबैले स्वागत गरेका छन् भने उक्त निर्णयले प्रहरी अनुसन्धानलाई पनि मदत पुग्ने विश्वास गरेका छन्।  युट्युब मात्र हाेइन, कतिपय अनलाइनले पनि आफ्नो मर्यादा बाहिर गएर समाचार लेख्ने गरेका छन्। उनीहरूले पनि आज युट्युबले भोगेको जस्तै समस्या भोग्न बेर छैन।

अनुसन्धानमा रहेका पल शाहको बारेमा अनेक टिकाटिप्पणी गर्दै समाजमा भ्रम फैलाएको भन्दै प्रेस काउन्सिलले १६ ओटा युट्युब च्यानललाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरेको छ।

काउन्सिलको पत्रलाई आधार मानेर ब्यूरोले ती १६ ओटा युट्युब च्यानलका बारेमा अनुसन्धान थालेको छ। ब्यूरोले सोमबार मात्र केही युट्युब च्यानलका संचालकलाई पक्राउ गरेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?