नेपाली युवती आकांक्षा पाठक न्युयोर्क फेसन विकको र्याम्प नाप्ने सबैभन्दा कान्छी एसियाली मोडल बनेकी छिन्। १८ वर्षिया पाठकले शुक्रबार न्युयोर्क फेसन विक २०२२ को र्याम्पमा क्याटवाक गर्दै यो उपलव्धी हासिल गरेकी हुन्।
हाल अमेरिकाको टेक्सासस्थित युनिभर्सिटी अफ नर्थ टेक्सासमा कम्प्युटर साइन्सकी छात्रा पाठक यस वर्ष न्युयोर्क फेसन विकको र्याम्प नाप्ने एक्ली एशियाली मोडल थिइन्। उनी एकहजार मोडलबाट छानिएर उत्कृष्ट ३२ भित्र परेकी थिइन्।
नेपालमा छँदै १६ वर्षको उमेरदेखि मोडलिङ थालेकी पाठक पहिलोपटक एसएलसी प्रिन्सेसमा सहभागी भएकी थिइन्। कासाका लागि सगरमाथा आधार शिविरमा र्याम्प नापेर उनी सबैभन्दा अग्लो स्थानमा र्याम्प नाप्ने गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउने मोडल पनि बनेकी थिइन्। उनी काठमाडौंमा आयोजित थुप्रै फेसन परेडहरूमा पनि सहभागी भएकी थिइन् ।
न्युयोर्क फेसन सप्ताहमा सहभागी हुने मेरो जीवनको ठूलो सपना थियो, यसपटक त्यो साकार भएकोमा म अत्यन्तै खुशी छु। यो उपलव्धी मेरो मात्र नभई मेरो देशको पनि हो। मेरो देशलाई यो उपलव्धी दिलाउन पाएकोमा गौरव महसुस गरिरहेकी छु।
- आकांक्षा पाठक
आकांक्षा मोडलिङमा आफ्नो भविष्य खोज्न लागिपरेकी छिन्। यही क्रममा उनले आउँदो स्प्रिङ ब्रेकमा न्युयोर्कमा सञ्चालन गरिने एक मोडल क्याम्पमा सहभागी हुने योजना बनाएकी छिन्। क्याम्प सुपर मोडल कोको रोचाले सञ्चालन गर्न लागेकी हुन्।
न्युयोर्क फेसन सप्ताहमा सहभागी भएपछि आकांक्षाले आफ्नो जीवनको ठूलो सपना साकार भएको बताइन्। उनले यो उपलव्धी आफ्नो मात्र नभई मेरो देश नेपालको फेसन फर्टिनिटी र देशकै उपलव्धी भएको पनि बताइन्। उनले भनिन्,' मैले मेरो देशका लागि केही गरेकी छु। यसमा मलाई गौरव छ।'
फेसनको संसारमा न्युयोर्क फेसन विकलाई एक तीर्थ मानिन्छ। हरेक दुइ वर्षमा आयोजना हुने यो फेसन महोत्सव विश्वका चार शीर्ष फेशन सप्ताहमध्ये एक हो। यसमा सहभागी हुनु संसारभरका मोडलका लागि सपना जस्तै हो। यस कोणबाट हेर्दा आकांक्षाको यो ठूलो उपलव्धी हो। उनको यो लोभलाग्दो सफलता नेपाली फेसन क्षेत्रका लागि पनि गौरवपूर्ण छ।