लमजुङमा १२३ मतदानस्थल

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२३ मतदानस्थल तय गरिएको छ। चार नगरपालिका र चार गाउँपालिकामा उक्त सङ्ख्यामा मतदानस्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका अनुसार  चार नगरपालिकामा ६७ मतदानस्थल र चार गाउँपालिकामा ५६ मतदातस्थल तोकिएको छ। यीमध्ये नगरपालिकातर्फ मध्य नेपालमा १८, सुन्दरबजारमा १६, राइनासमा १२ र बेँसीसहरमा २१ वटा मतदानस्थल रहेको छ।

त्यस्तै गाउँपालिकातर्फ दूधपोखरी र क्व्होलासोथरमा १०-१०, दोर्दीमा १६ र मस्र्याङ्दीमा २० मतदानस्थल रहेकोे जनाइएको छ। कार्यालयले स्थानीय तहको चुनावका लागि तयारी अघि बढाउँदै लगेको छ। जिल्ला निर्वाचन अधिकारी मिश्रले भने 'यही फागुन २० देखि २६ गतेसम्म दाबी विरोध कार्यक्रम वडावडामा हुनेछ। २० देखि २४ गतेसम्म नाम हटाउने, सच्याउने, उजुरी दिन पाइनेछन् भने २५ र २६ गते आन्तरिक काम गरेर २६ गते निर्वाचन आयोगमा पठाइने छ।'

अघिल्लो निर्वाचन अर्थात् विसं २०७४ वैशाख ३१ गते भएको निर्वाचनमा जिल्लामा कूल एक लाख पाँच हजार ९९२ मतदाता थिए। विसं २०७७ पुस ५ मा प्रकाशित नामावालीमा एक लाख २२ हजार ८०६ जना रहेकामा सङ्ख्या बढ्दै जाने क्रममा अहिले नौ हजार ६६० मतदाता थपिएको कार्यालयले जनाएको छ।
 

प्रकाशित मिति: : 2022-02-25 15:05:00

प्रतिकृया दिनुहोस्