हिउँ फूल...

म सोच्दछु यो सेतो चिसो मैदानमा उभिएर
किन बासना छैन
किन जिवन्तता छैन
झ्यालको एैनाबाट चियाउँछु
अनि गमक्क न्यानो पारेर
लड्बडिन पुग्छु
हाँस्छु नाँच्छु चिच्याउँछु
कठ्याङ्गरेको हातले कोर्छु
सपनाका रहरहरु
सुन्दरताका कथाहरु
जीवनका अमिट यादहरु
अनि सोच्छु 
जति नै मेहेनत गरे नि
कुनै अर्थ हुन्न
हिउँ न हो, छिनमै पग्लिजान्छ
काश, सबै पग्लि जाने भए
भुल्न नसकेका सम्झनाहरु तिर्सनाहरु
तिमी भन्छौ कति भाग्यमानी 
म भन्छु ,सायद यस्तै रहोस्
पूर्वमा तिमी, पश्चिममा म
मन मात्र न हो समिप
तिमी जीवन कोर्दै गर्दा
रहरको फूल फकर्दै थियो होला 
तिमी त फसल उमार्दै थियौ नि
त्यही हिउँमाथि 
कति अभाव
कति कष्ट हुँदाे हो 
हिँड्न नि गाह्राे होला 
हुम्ला अनि जुम्लाका बाटाहरु 
हेर न, 
समय कति टाढा पुगिसकेछ
चाहेर नि देख्न सकिन्न
तस्बिरमै सही बरु
मुस्कान त देख्न सकिन्छ
म सोच्छु फेरि
हिउँको फूल बनाउँदै गर्दा
तिमी गाउँमा अन्न उमार्दै होला 
चिसोमा  कथ्यान्ग्रिदै !
कति फरक छ यो र त्यो हिउँ ?
तिमी अट्टहासले हाँसेर बढ्छौ
चिसोमा नि न्यानोपन जगाउँछौ
त्यही चिसो हिउँको पानीले प्राण दिन्छौ
र, त यति मुस्कान छ अधरभरि
जीवनको सुन्दरता छ
म सोच्छु फेरि
हिमालको हिउँ छुँदा तिमीले
मनमा कुन आकृति बन्छ होला?
कुन लय कोरिन्छ होला?
कस्तो कला कुँदिन्छ होला?
घामका किरण जब सेताम्य हिउँमा पर्छ
तब त्यसले  दिने मिराज 
अनि पारिलाे ताप 
साँची कस्तो अद्भूत हुँदाे हो !
हिउँको फूल फुल्दा
लाग्छ रंगबिना पनि कति सुन्दर 
कति रमणीय ,कति निश्चल 
बिना सुवास अनि सुगन्ध 
के तिमीले पनि त्यस्तो फूलको अर्थ बुझेका छौ ?
सेतो अनि कालाे मात्र हुँदा 
श्यामस्वेत जस्तै लाग्छ संसार 
र, पनि कति सुन्दर 
अनि म सोच्छु,
जस्तोसुकै हिउँहुरी पानीमा पनि 
अडिग हुन्छौ 
हिम्मत हार्दैनौ
औंलाहरु चिसो हुँदा पनि 
हिउँले  कोर बरु 
सुनौला यादहरु!
म सोच्छु फेरि पनि 
तिमीले खेलेको हिउँ पनि यस्तै थियो?
कि फगत हिउँ मात्र थियो ?
म सोच्छु फेरि 
आखिर जीवन मात्र त कहाँ फुल्नु र !
निर्झिव हिउँ पनि त फुल्दो रहेछ 
ढकमक अनि चहकिलो 
ढल्दै गरेको सन्ध्यालाई नि मात दिई
उजेलीको रंग पोत्दाे रहेछ 
म सोच्छु 
यही उजेली भए नि अलिकति 
तिमीलाई पठाईदिउँ ?
तिमीसम्म पुग्दा चिसो हुँदैं जान्छ होला
कडा ढुंगा जस्तो बन्छ होला सायद 
तिमी त्यहीबाट सिर्जना उमार्नु 
सिर्जनाको फूल त कहिले नि 
झर्दैन, ओइलाउदैन ,मर्दैन नि
अर्को पालि आउँदाखेरि
संगैं जानुपर्छ हिमालमा 
अनि हिउँको फूल टिप्नुपर्छ ल?

प्रकाशित मिति: : 2022-02-19 17:04:00

प्रतिकृया दिनुहोस्