ग्रामीण जनता चिकित्सक अभावमा रोग पालेर बस्न बाध्य हुँदा ‘कमिशन’ कुम्ल्याउन पल्किएका कर्मचारी र नीतिनिर्माताहरू औषधि र उपकरण खरीदको ठेक्कातिरै मग्न छन्।
नेपालमा आधुनिक चिकित्सा र स्वास्थ्य सेवा प्रवाहको थालनीबारे बुझन राणाकालमा फर्कनुपर्छ। १९४७ सालमा वीर शमशेरले काठमाडौंमा १५ शय्याको अस्पताल बनाए। त्यसैलाई पछि वीर अस्पताल नामकरण गरियो। यससँगै सप्तरीको हनुमाननगर, जनकपुरको जलेश्वर, पर्साको वीरगञ्ज, कपिलवस्तु अनि बाँकेको नेपालगञ्जमा पनि १५-१५ शय्याका अस्पताल खोलिए। ती अस्पताल चलाउने जनशक्ति भारतबाट ल्याइएको थियो।
यसरी भिन्न भिन्न स्थानमा अस्पताल खोलिनुमा देशैभरिका जनता समेटिऊन् भन्ने उद्देश्य थियो। वीरशमशेरपछिका राणा प्रधानमन्त्रीहरू एक जिल्ला एक स्वास्थ्य संस्थाको अवधारणामा गए। त्यति वेला ३५ जिल्ला थिए। त्यसअघि नै पहिलो राणा प्रधानमन्त्री जंगबहादुरले ललितपुरको खोकनामा कुष्ठरोगीलाई राख्ने केन्द्र बनाएका थिए, त्यसलाई पछि मकवानपुरको मालुङ्गामा पनि विस्तार गरियो।