एमसीसी : ‘कुर्माने-तमसुक’ हैन, ‘सहमतिको दस्तावेज’ बनोस्
एमसीसी, नेपालको मात्र हैन, अमेरिकाको नेपाली डायस्पोराको पनि सबैभन्दा चासो र चिन्ताको विषय भएको छ। नेपाल-अमेरिका सम्बन्धलाई नै प्रभावित पार्नसक्ने यो विषयमा लगभग सबैको आफ्नो माइन्डसेट छ। पक्ष र विपक्षमा लाग्ने त लागिरहेकै छन्, कुनै पक्षमा नलाग्नेहरू पनि विषयको गम्भीरताले गर्दा त्यतातिर तानिएका छन्।
एमसीसीलाई लिएर नेपालमाजस्तो सडकमै नारा, जुलुस त अमेरिकाको नेपाली डायस्पोरामा भैरहेका छैनन् तर यहाँका सामाजिक सञ्जालहरू त्यसमा पनि फेसबुक हेर्ने हो भने त यहाँ पनि नेपालमा जस्तै मुठ्ठी बजारेर जिन्दाबाद, मुर्दाबाद भन्नेको कमी छैन।
एमसीसीलाई लिएर नेपालमा जे जसरी मत मात्र हैन, मन पनि विभाजन भएको छ, अमेरिकाको नेपाली डायस्पोराको अवस्था पनि त्यस्तै छ। अपवाद बाहेक अमेरिकामा रहेका सबै नेपाली एमसीसी पक्षधर नै छन्, उनीहरू चाहन्छन्- चाँडोभन्दा चाँडो एमसीसी पारित होस् र सम्झौताअनुसार नेपालमा विकास निर्माणका काम सुचारू हुन्।
सबैको यो चाहना हुँदाहुँदै पनि यहाँ नेपालको जस्तै ‘तर’ पनि छ। धेरै मानिसका खुट्टा अमेरिकामा भए पनि मन र मस्तिस्क उतै छन्। त्यसैले उनीहरूको बोली पनि उतैको हावाअनुसार अझ भनौ पार्टी लाइनअनुसार नै निस्किरहेका छन्। कांग्रेस समर्थकहरू कमा, फुलिस्टप पनि परिवर्तन नभई पारित हुनुपर्छ भन्छन्। माओवादी, राप्रपा र एकीकृत समाजवादीवालाहरू हुबहु पारित हुनुहुदैन भन्छन् तर अमेरिकामा भएकाले उनीहरू भोकल हुन सक्दैनन्। यो सम्झौता हुनुहुदैन भन्ने हार्डकोर कम्युनिष्ट लाइनका नेपाली पनि यहाँ छन् तर उनीहरू बोल्ने कुरै हुदैन। एमाले लाइनवालाहरू उताकै मुख बन्द भएकाले यता पूरै नखोली मौन समर्थनमा छन्। यी बाहेक नेपालको राजनीतिसँग लगभग साइनो सकिएका अमेरिकाका विश्वविद्यालयमा विभिन्न विषय प्राध्यापन गर्ने तथा अनुसन्धानमा काम गर्ने प्राज्ञिक व्यक्तित्वहरू पनि छन्, उनीहरू कोही लाज राखेर त कोही लाजै पचाएर एमसीसीको समर्थन गरिरहेका छन्। एमसीसीका बारेमा सुने पनि नसुनेझै गर्ने धेरै नेपाली टेक्नोक्रेटहरू पनि यहाँ भेटिन्छन्।
अर्थात्, अमेरिकाको नेपाली डायस्पोरा पनि नेपालकै मिनियचर भएकाले उता जस्तो छ, यता पनि त्यस्तै छ। तर, नेपालमा धेरैलाई के भ्रम छ भने अमेरिकामा बसेका सबै नेपाली एमसीसीको अन्धसमर्थक छन्। त्यस्तो हैन, यहाँ अन्धसमर्थक कम र आलोचनात्मक समर्थक नै बढी छन्। त्यसैले नेपालमा त्यस्तो किसिमको भाष्य बन्नु हुदैन।
अमेरिका विश्वकै प्रजातान्त्रिक मुलुक हो। यहाँ जो कोही पनि आफ्नो विचार राख्न स्वतन्त्र छन्। यहाँको नेपाली डायस्पोरा पनि त्यो स्वतन्त्रता अभ्यास गर्न सक्छ। तर, जसको सिता खानु उसकै गीता गाउँनु माइन्डसेटमा हुर्के बढेको नेपाली मानसिकतामा त्यस्तो सोचिनु अस्वभाविक हैन।
यो पंक्तिकार अमेरिकामा बास बसिरहेको एक नेपाली हो। ऊ चाहन्छ,एमसीसी सम्झौता होस्। तर, एमसीसीका दस्तावेज अंग्रेजी/नेपाली दुबै भाषामा पढेर होस हवासकै साथ भन्न सक्छ कि यो वा त्यो अभ्यासका नाममा यसका कतिपय प्रावधानहरू साहु-आसामीबीच हुने कुर्माने तमसुकका जस्ता भएकाले ऊ आफूलाई आलोचनात्मक समर्थकको कित्तामा राख्न चाहन्छ। ऊ यसमा अन्धविरोधीले भनेजस्तो नेपालमा अमेरिकी सैन्य आउँछ र नेपाल अफगानिस्तान हुन्छ भन्ने सम्मको अतिदृश्य पनि देख्दैन र अन्धसमर्थकले भनेजस्तो ५० करोड डलरले नेपालको कायाकल्प हुने कुरामा पनि कुनै तुक देख्दैन। ती दुबै अतिवादी कोण हुन् र दुबैमा कुनै सत्यता छैन। कसैले त्यस्तो देख्छ भने उसमै समस्या छ। त्यस्ता असामान्य मान्छेको धारणालाई सामान्यीकरण गरेर यो पंक्तिकार एमसीसीलाई हेर्न चाहदैन। यो दृष्टिकोण दुबैतिरका अतिवादीलाई ठीक लाग्दैन, त्यसैले पनि यो भन्न कुनै आइतबार पर्खनु पर्दैन कि यो पंक्तिकार आफू ठीक ठाउँमा छ।
यो पंक्तिकारलाई अमेरिकाले एक लेखक/पत्रकारका रूपमा स्थायी बासिन्दाको अनुमति दिएको हो। उसको तीन दशक लामो प्राज्ञिक/ पत्रकारिताको पृष्ठभूमि परख गरेर अमेरिका त्यो निर्णयमा पुगेको हो। यो पंक्तिकारले आफ्नो त्यही विशेषज्ञताबाट अमेरिकालाई सहयोग गर्ने सहीछाप गरेको हो। त्यसैको आधारमा यो पंक्तिकार नेपाल र अमेरिका दुबै हितमा भनिरहेको छ कि यसका केही बुँदा सम्बोधन गरेर दुबै पक्षको जीत-जीतमा यसलाई अमेरिका-नेपाल दौत्य सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको उपलक्ष्यमा एक ऐतिहासिक विश्वासको दस्तावेज बनाउनुपर्छ। यदि त्यसो नगरेर यसलाई प्रतिष्ठायुद्धको विषय बनाइयो भने एमसीसीकै कारण नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुन्छ।
खासगरी नेपालमा चुनावको पूर्वसन्ध्या भएकाले एमसीसीलाई हार जीतको विषय बनाइदा यो चुनावी एजेण्डा हुने र अमेरिकाको विरोध गाउँगाउँ पुग्ने कुराले यो पंक्तिकारलाई चिन्तित बनाउँछ। एक लेखकका रूपमा आफ्नो पृष्ठभूमिसहित एमसीसीका पदाधिकारी र अमेरिकाका केही प्रभावशाली सिनेटरलाई व्यक्तिगत पत्र लेखेर त्यो चिन्ता पनि प्रकट गरिसकेको छ। यसको अर्थ एमसीसीको विरोध हैन, समर्थन हो। अहिले एमसीसीको उग्र समर्थन चाँहि एमसीको बिरोधजस्तै हो र, नेपाल-अमेरिका सम्बन्धलाई अप्ठ्यारोमा पार्ने खलनायकीपन पनि त्यही नै हो।
यो पंक्तिकार अमेरिकामा बास बसिरहेको एक नेपाली हो। ऊ चाहन्छ,एमसीसी सम्झौता होस्। तर, एमसीसीका कतिपय बुँदा यो वा त्यो अभ्यासका नाममा साहु-आसामीबीच हुने कुर्माने तमसुकका जस्ता भएकाले ऊ तिनीहरूमा संशोधन चाहन्छ। र, यो कसैको हारजितको हैन, दुबैको जीतको दस्तावेज भएको देख्न चाहन्छ।
यो पंक्तिकारको पृष्ठभूमि थाहा नहुने केहीलाई लागेको होला कि ऊ एमसीसीले जन्माएको मौसमी लेखक वा पानी विश्लेषक हो। विनम्रताका साथ भन्न चाहन्छ कि, यो पंक्तिकारको त्यो हैन न खेतमा पानीका लागि कुलोमा झगडाको केस स्टडीका आधारमा भएको द्वन्द विशेषज्ञ नै हो। यो पंक्तिकार आफ्नो मान्यता लेख्छ र त्यसमा दृढतापूर्वक उभिन्छ। ऊ आफ्ना हरेक लेख उसको लेखक व्यक्तित्वको सुसाइड नोट नहोस् भनेर सचेतनाका साथ विगत चार देशकदेखि बाइलाइनमा लेख्दै आएको छ। आमसञ्चारको एक विद्यार्थी र शिक्षक भएकाले पढ्दा पनि र पढाउँदा पनि उसले धेरैपटक भनेको/पढेको छ, ‘क्रेडिविलिटी एन्ड भर्जिनिटी आर सेम, बोथ ब्रेक वन्स’। एक लेखक/पत्रकारलाई विश्वसनियताको कति महत्व हुन्छ, त्यो उसले नबुझ्ने विषय नै हैन।
यो पंक्तिकार एमसीसीलाई लिएर शुरूदेखि नै न अन्धसमर्थक छ, न अन्धविरोधी। ऊ यो सम्झौता हुनुपर्छ तर आसामी-साहूबीच हुने 'कुर्माने तमसुक'का रूपमा हैन, दुई सार्वभौम राष्ट्रका बीच हुने सम्झौताका रूपमा। कुनै पनि वादविवाद नभइ विश्वासका आधारमा यो सम्झौता भएको भए शायद ती सबै कुरा आवधिक सम्झौताका लागि गौढ पनि हुन्थे होला। तर, अब परिस्थिति त्यस्तो रहेन, यसमा शंकाको सुविधा दिने त कुरै छोडौं, अविश्वासकै स्थिति सिर्जना भयो। घरदेशमा होस् वा परदेशमा नेपालीमा मतभेद मात्र हैन, मनभेद नै भैसक्यो। सम्झौताका दफा दफा केलाएर पढियो र त्यसको व्याख्या/अपव्याख्या पनि आइसक्यो।
अब यस्तो अवस्थामा यो यही रूपमा एमसीसी पारित हुन सक्दैन। जुङाको लडाइँ बनाएर जबर्जस्ती गरियो भने त्यसले अरू दूरगामी प्रभावहरू पर्न सक्छ। त्यसैले अब यसलाई प्रतिष्ठाको विषय बनाउने हैन कि, सहमतिको दस्तावेज बनाएर अगाडि बढ्नुपर्छ। यसो गर्न जति ढिलो गरियो, त्यति नै यसले नेपाल-अमेरिका सम्बन्धमा करौती मात्र लगाउँछ।
अन्तमा, फेरि पनि सबैले बुझ्ने भाषामा भनिरहेको छ कि यो पंक्तिकार एमसीसीको अन्धसमर्थक वा अन्धविरोधी हैन। यो हुनुपर्छ तर आसामी-साहुबीच हुने एक कुर्माने-तमसुकका रूपमा हैन, दुई सार्वभौम राष्ट्रबीच हुने सम्झौताका रूपमा जुन नेपाल-अमेरिका दौत्य सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको उपलक्ष्यमा एक ऐतिहासिक विश्वासको दस्तावेज बन्न सकोस्।
यति प्रष्टसँग भन्दा पनि केही अन्धसमर्थकहरू नेटा कुइनेटाहरूमा ठोक्किन आइपुग्छन्। उनीहरूलाई यो पंक्तिकारको यति नै भन्नु छ कि ऊ तपाईंहरूको विचारसँग सहमत हुन सक्दैन तर तपाईहरूको विचारको सम्मान मात्र गर्दैन त्यो विचार अभिव्यक्त गर्ने अधिकारको लागि पैरवी पनि गर्छ। तपाईहरू सक्नुहुन्छ भने उसका लागि पनि त्यसै गरिदिनु होला।