हिमपातले मनाङमा खोप अभियान स्थगित

File Photo
File Photo

हिमपातले मनाङमा कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ। हिमपातले पैदलमार्गसमेत अवरुद्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचार्यले जानकारी दिए।

मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान ५ माघबाट सञ्चालन भएको थियो। कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ।

मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए। आचार्यका अनुसार प्राथमिकतामा पर्नेसँगै अन्य नागरिकलाई पनि बुस्टर खोप लगाउन थालिएको हो । नार्पाभूमि गाउँपालिकामा चिसोका कारण सबैजना काठमाडौं, पोखरा, बेंसीसहर झरेकाले फागुनमा मात्रै बुस्टर खोप लगाउने कार्यक्रम तयार भएको छ। मनाङ सबैभन्दा पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो।

०७७ माघ महिनामा १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन्। मनाङमा एक हजार बढीले बुस्टर खोप लगाएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ।

मनाङमा १८ वर्षभन्दा माथिका सबैले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन् । पहिलो र दोस्रो खोपको मात्राको खोप लगाइसकेका ४ हजार ३ सय ९९ जना रहेका छन्। चामे र नासोंमा बुस्टर खोप लगाइसकेपनी माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा माघ २० बाट सुरु गर्ने भनिएपनि हिमपताले प्रभावित भएको हो।

प्रकाशित मिति: : 2022-02-09 08:40:00

प्रतिकृया दिनुहोस्