भारतको ओडिशा राज्यस्थित मलकानगिरि जिल्लाकाे एक उपत्यकामा ‘पहाडी बोन्डा’ आदिवासीहरू बसोबास गर्छन्। यी आदिवासीहरू बोन्डा उपत्यकादेखि पहाडी भेगसम्मै फैलिएका छन्। मलकानगिरि पुग्ने जो–कोहि पनि ‘पहाडी बोन्डा’ हरूको तस्विर खिच्न तम्सिन्छन्। तर उनीहरू भने फोटो खिचेवापत पैसा माग्छन्।
खासगरी आदिवासी महिलाहरू परम्परागत पहिरनमा सजिएकाे देख्न सकिन्छ। डुल्दै हिँड्ने प्रायः पर्यटकहरू ती महिलाहरूको फोटो एकपटक त खिच्छन्–खिच्छन्! तर फोटो कैद गरेको देख्न बित्तिकै स्थानीय पुरुषहरूले पैसा माग्न आग्रह गर्छन्।
कतिपय त अचानक घेरेर धम्की दिन्छन् र पैसा माग्छन्। उनीहरू रिसाउँदै भन्छन्– यहाँका आदिवासीहरूको फोटो खिच्न प्रतिबन्ध छ। स्थानीयले पर्यटकहरूको क्यामेरा जाँच गर्छन्। जब तपाईं उनीहरूलाई उल्टै सोध्नुहुन्छ– फोटो खिच्न कुनै कानूनी प्रतिबन्ध छैन। स्थानीयहरू बारम्बार जवाफ दिन्छन्– हुँदैन–हुँदैन..।
स्थानीय प्रशासनले भारतीय अन्य राज्य वा विदेशी नागरिकलाई बिना अनुमति बोन्डा उपत्यका प्रवेशमा रोक लगाएको छ। अनुमति लिएर बोन्डा उपत्यका पुगेपछि भने स्थानीयहरूको आतंकबाट जोगिन सजिलो हुनेछ। तर उनीहरूले प्रवेश अनुमति लिएपनि दुःख दिन छाड्दैनन्।
बोन्डा पुरुषहरूले महिलालाई फोटो खिचेको निउमा पैसा उठाउन उक्साउँछन्। र, पैसा नउठाइ छाड्दैनन्। स्थानीय प्रशासनले यसक्षेत्रका जनतालाई दबाएर राखेको छ। कारण स्पष्ट छ– ओडिशामा बसोबास गर्ने आदिम जनजातिहरूको मुद्दा राष्ट्रिय वा अन्तर्राष्ट्रिय मिडियामा छापिदा उनीहरूको शान्तिमा खलल पुग्नेछ।
आदिवासी बोन्डासँग सम्बन्धित समाचार प्रकाशित भएपछि प्रशासनले जटिल प्रश्नहरूको सामना गर्नुपर्ने जानकारहरूको दाबी छ। खैरपुतको बाटो हुँदै बोन्डा उपत्यका पुग्न सकिन्छ। यहाँ घुम्न जाँदा खैरपुतका एक स्थानीयलाई सहयोगीको रूपमा लिन सक्दा उत्तम हुनेछ। किनकि उनीहरूले आदिवासी समुदायलाई बुझ्छन् र उनीहरूको भाषा पनि बोल्छन्।
पहाडको फेदमा एउटा सानो बस्ती छ। त्यहाँ दिनदिनै हाटबजार लाग्छ। बजारमा आदिवासी ‘पहाही बोन्डा’ महिलाहरू पनि पुग्छन्। जो अझै पनि परम्परागत पोशाकमा बजारभर देखिन्छन्। कतिपय डुल्दै, रमाउँदै गरिरहेको भेटिन्छन्।
कतिपय व्यापारमा मस्त हुन्छन्। यीमध्ये अधिकांश महिलाहरू काँचो रक्सी, दाल र फलफूल बेच्न बजारमा आउँछन्। कहिलेकाहीँ यी महिलाले घरमै बनाएका खानेकुराहरू पनि बेच्ने गर्छन्। घर–घरमा रक्सी बनाउनु बोन्डा महिलाहरुको महत्वपूर्ण जिम्मेवारी हो।
कच्चा रक्सी सामान्यतया मेवाबाट बनाइन्छ। तर मेवाको अभाव भए आँपबाट पनि रक्सी बनाइन्छ। स्थानीय अगुवाहरूका अनुसार बोन्डा महिलाले बजारबाट जति कमाए पनि लगभग सबै पैसा बजारमै खर्च गरेर घर फर्किन्छन्। उनीहरूले बेसार, खुर्सानी वा नुन किन्छन्।
आन्तरिक तथा विदेशी पर्यटकहरूले आदिवासीहरूसँग धेरै घुलमिल वा अन्तरक्रिया गरेको देखिँदैन। दुर्गम पहाडमा बसोबास गर्ने पहाडी बोन्डाहरू बाहिरी संसारसँग कुनै सम्पर्क राख्न चाहँदैनन्। यी आदिवासीहरु आधुनिक संसारबाट पर छन्।