१९ खेलाडीमा कोरोना संक्रमण भएसँगै निर्धारित समयमा हुन नसकेको नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल भोलि (बुधबार) हुँदैछ। २ माघमा तय खेल अघि १९ खेलाडीमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक कोरोनाको कारण सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल स्थगित गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ। यसअघि एन्फाले यस खेलका लागि २२ माघका लागि तोकेको हो। तर लगातार वर्षाका कारण मैदानको अवस्था ठिक नभएपछि एन्फाले दोस्रोपटकका लागि मिति तय गरेको थियो।पुलिसविरुद्ध खेल्दै गर्दा कप्तान सन्तोष साहुखल भने उपलब्ध हुने छैनन्। उनी दुई खेल खेलेर पुनः जापान फर्किएका छन्। नेपाल राष्ट्रिय फुटबल टोलीका खेलाडीसमेत रहेका सन्तोषले पछिल्लो दुई खेलमा मैदान उत्रिएका थिए। सन्तोषले संकटा र मनाङविरुद्ध पूरा समय मैदान बिताएका थिए।
च्यासलका प्रशिक्षक बालगोपाल महर्जनले साहुखल पछिल्लो १० दिनमात्रै तयारी गरेको र नेपाल पुलिसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा ल्याउन प्रयास गर्ने बताउँछन्। ‘सन्तोष हामीसँग छैन। समय धेरै भए पनि हामीले पछिल्लो १० दिनमात्रै तयारी गरेका छौं। कोरोनाका कारण धेरै तयारी गर्न पाएनौं। पछिल्ला खेलमा मनाङ र संकटासँग पनि राम्रो खेलका थियौं। पुलिसविरुद्ध पनि जित्न खेल्छौं,’ उनले भने।पुलिस र च्यासलको यस खेलसँगै नवौं चरणको खेल सकिनेछ। एन्फाले लिगको १०औं चरणको खेल २८ माघबाट हुने जनाएको छ। यद्यपि, १०औं चरणका खेलहरूको तालिका भने सार्वजनिक गरिएको छैन। यसअघि नेपालले मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएसँगै लिगका बाँकी खेलहरू रोकिएका थिए।
नवौं चरणको खेल जारी रहँदा मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ। जारी लिगको पुछारमा रहने दुई टोली दोस्रो डिभिजनमा घटुवा हुनेछन्।यता, नेपाल पुलिससमेत च्यासविरुद्ध जित निकाल्ने दाउमा हुनेछ। दुई राष्ट्रियसहित अनुभवी खेलाडीको साथ रहेको पुलिस च्यासलविरुद्ध जित निकाल्दै रेलिगेसन संकट टार्न चाहन्छ। नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापा टोली च्यासलविरुद्ध खेल्न तयार भएको र खेलाडीसमेत पूर्णरूपमा फिट रहेको बताउँछन्। ‘च्यासलविरुद्ध खेल्न हाम्रो टिम तयार छ। हामी तीन अंकका लागि खेल्छौं । च्यासलको खेलअनुसार रणनीति बनाएर अगाडि बढ्छौं,’ अनन्त भन्छन्। जारी लिगमा पुलिस र च्यासल दुबै रेलिगेशनबाट जोगिन संघर्षरत छन्। च्यासल ८ खेलबाट ५ अंकसहित १३औं स्थानमा छ। यता, पुलिस समान खेलबाट ७ अंक सहित ११औं स्थानमा छ।