बामालेका ‘बा’को  खोक्रो राष्ट्रवाद अर्थात् सुनिने तर नदेखिने

Breaknlinks
Breaknlinks

कुनै बेला केपी शर्मा ओली तत्कालीन एमाले पार्टीको तर्फबाट प्रधानमन्त्री हुँदा भारतले नेपालमाथि अप्रत्याशित, अमानवीय रुपमा नाकावन्दी लगाएको थियो। नेपाली जनताका प्रतिनिधिहरुले ढिलै गरेर भए पनि आफ्नो निर्णयको आधारमा संविधान लेखेका थिए। जसमा भारतले भने जस्तो कतिपय कुरा हुन नसकेकोमा उसको आपत्ति रहेको बुझिन्थ्यो।

स्पष्ट रुपमा भन्नु पर्दा ऊ नेपालको संघियता आफूले भनेको जस्तो होस् भन्ने चाहन्थ्यो, देख्दा/सुन्दा उसले मधेसी आदिवासीहरुको पक्षमा बोलेको जस्तो लागे पनि यथार्थमा ऊ नेपाली–नेपाली बीचमा रहेको भावानात्मक एकताको आधार खलबल पार्न चाहन्थ्यो। त्यसो गर्दै गर्दा यसै पनि अस्थिर रहने नेपाललाई नेपालीहरुको भावनात्मक विभाजन मार्फत् कम्जोर पार्ने भारतीय (भारतीय भन्नाले समग्र भारतीय जनता बुझ्नु हुँदैन, यसले केवल भारतको राजनीतिक, कुटनीतिक क्षेत्र र प्रशासनमा रहेर साम्राज्यवादी चिन्तनको अभ्यास गरेर छिमेकीलाई दु:ख दिनेहरुलाई मात्रै इंगित गर्छ।) योजना  थियो।

नेपाली जनताको उन्नत भएको चेतनाको जगमा गरिएको खवरदारी र दलहरुका कार्यकर्ताले त्यसप्रति देखाएको समर्थन र त्यसको जगमा सृजित अनिवार्यताले गर्दा राजनीतिक दलका नेताहरुले नेपाली जनताको भावना अनकुल संविधान निर्माण गर्ने बाटोमा आफू लानुभयो। जब नेपाली जनताको प्रतिनिधिहरु मार्फत् संविधान बन्यो तब खुसी हुनुपर्ने छिमेकीले उल्टो बाटो सामत्दै क्रुद्ध बन्यो र नेपाललाई दु:ख दिन थाल्यो। नेपालले नाकावन्दीको सामना गर्नु पर्‍याे। त्यतिबेला सरकारको नेतृत्व गरिरहनु भएको केपी ओलीले भारतको त्यस कदमको विपक्षमा आफूलाई दह्रोसँग प्रस्तुत गर्नुभएको देखिन्थ्यो। उहाँले लिएको अडान साँचो अर्थमा जवर्जस्त देखिने खालकै  थिए, हामीले पनि उहाँको त्यो अडान र दृढताको तारिफ गरेकै थियौं। समस्त नेपालीहरु सँगै हाल उहाँको आलोचक रहेको म स्वयम पनि केपी ओलीको त्यो अडान र दृढताको खुलेर तारिफ गर्थेँ। उहाँको समर्थनमा लेख्ने बोल्ने अरुले जस्तै मैले पनि अनेकन आरोप सहेको छु, गाली सहेकै छु तर पनि राम्रो गरेको लाग्दा समर्थन त गर्नै पर्थ्यो।

यद्धपि  उहाँप्रति विगतदेखि हुँदै आएको भारत निकटको आशंकालाई उहाँद्वारा प्रस्तुत अडानहरुले कम्जोर बनाइरहेका भए पनि उहाँ शंकाको घेराबाट पूरै मुक्त हुनुहुन्थेन। हामी आशा गर्थ्यौं कि उहाँ जे देखिनु भएको छ, त्यस्तै दृढ हुनुहोस्। बाहिर एउटा भित्रै अर्कै नहोस् भन्ने नै हाम्रो कामना हुन्थ्यो तर मनमा कता–कता लाग्थ्यो कहीं कतै यो दृढता रणनीतिको हिस्सा त हाेइन ? त्यसैले सार्वजानिक रुपमा उहाँको सार्वजानिक अडानहरुप्रति समर्थन गर्दै रहँदा पनि ठूला देशहरुले सानो–सानो देशहरुमा प्रभाव फैलाउन आफ्ना विश्वासप्राप्त मानिसलाई आफ्नो विरोधी जस्तो बनाउने, उनीहरुलाई त्यसैको जगमा स्थापित गराउने अनि त्यसपछि उनीहरु मार्फत् आफूले भने जस्तो गराउने गर्छन भन्ने जानेकोले कहीं कतै केपी ओली त्यस्तै कार्यशैलीको मोहोरा त हुनुभएको छैन भन्ने लाग्थ्यो। अनि कहीं कतै भविष्यमा केपी ओली त्यस्तै निस्कनुभयो भने मलाईं त यो आशंका पहिल्यैबाट लाग्थ्यो भनेर भन्दा कुनै घटना भैसकेपछि मैले त उहिल्यै यस्तो हुन्छ भनेको थिएँ नि, भन्नेहरुको कोटीमा मलाईं पनि राखिन्छ कि भन्ने लागेर म चाहिं मेरा केही हितैसीहरुसँग मेरो मनमा यस्तो आशंका छ भन्ने सत्य बताउने गर्थें।

दु:खको कुरा के भने मेरो अनुमान गलत होस् है भन्दै गरिएका ति आशंकाहरु पछिल्ला घटनाक्रमहरुले गर्दा कतै सही पो थिए कि भन्ने लाग्दै छ। तर, फेरि पनि आशा मात्रै हाेइन प्रार्थना नै छ कि म वा म जस्तै अन्यको मनको आशंका गलत सावित होस्। हामी र हाम्रा आशँकाहरुलाई मिथ्या सावित गर्दै केपी ओली उहाँले देखाउनु भए जस्तै राष्ट्रवादी प्रमाणित भएको देख्न पाउँ नै भन्छु। तर, निम्न कुराहरुले फेरि पनि के हो के भन्ने बनाउँछ:

१. केपी ओली प्रधानमन्त्री भएकै समयमा भारत सरकारले आफ्नो नक्सामा नेपालको लिम्पियाधुरा–लिपुलेक सहितको नक्सा निकालेको बारेमा सर्वत्र चर्चा भयो। केपी ओली सरकारले त्यस बारेमा कुटनीतिक नोट मार्फत् आपत्ति जनाउने कर्मकाण्डी काम त गर्‍याे तर त्यस बाहेक केही गरेन। भारतले पनि आफूले आफ्नो नक्सालाई जम्मु–कश्मिरको सम्वन्धमा भएको पछिल्लो निर्णय अनकुल बनाएको हो, नेपालसँग त्यसको कुनै साइनो छैन, सिमानामा जे जस्तो थियो त्यस्तै हो, नयाँ केही भएको छैन, भन्दियो। त्यो पनि यदी म गलत छैन भने कुनै कुटनीतिक नोट मार्फत् हाेइन पत्रकार सम्मेलनमा पत्रकारको सवालको जवाफको रुपमा। यदी भारतले जारी गरेको नक्सामा आफ्नो भू–भाग परेको वा पहिलेबाट नै रहेको जे जस्तो भए पनि कुटनीतिक नोट पठाउने कामको अलावा नेपाल सरकारले तत्काल विवादित बनाइएको आफ्नो भूमिमा सके आफ्नो प्रहरी चौकी  नसके पनि  स्वास्थ चौकी मात्रै पनि खोलेको भए पनि राज्यको उपस्थिती त्याहाँ देखिन्थ्यो अनि अरुले हेर्दा पनि  विवादित भनेको ठाउँ त नेपालको रहेछ भन्ने हुन्थ्यो।

त्यसपछि कुटिनितिक नोटलाई वेवास्ता गरेर बसेको भारतसँग संवाद वा विवाद जे भए पनि हुन्थ्यो तर त्यस मार्फत् एउटा निकास निस्कन्थ्यो तर ओली सरकारले केही गरेन। परिणाम के भयो ? भारतले नेपाली भूमिमा सडक बनायो, उदघाटन गर्‍याे। त्यो उद्घाटन भएको पनि सार्वजनिक सञ्चार माध्यमहरु मार्फत् थाहा भयो अनि त्यसको सर्वत्र आलोचना भयो। अनि बल्ल केपी ओली सरकारले नक्सा बनायो र जारी गर्‍याे। त्यो पनि तत्कालिन अवस्थामा रहेको नेपाल कम्युनिस्ट पार्टीको निर्देशन पश्चात।

अब विचार गर्नुस् आफ्नो जमिनमा अर्कालाई सडक बनाउन दिएर त्यसपछि नक्सा जारी गर्नुको के काम ? आफ्नो नक्सामा मात्रै जमिन हुने तर घर चाहिँ अर्काले बनाउने काम भएको जस्तो शैलीमा नेपालको जमिनमा जसरी भारतले सडक निर्माण गर्न सक्यो त्यसलाई रोक्न केपी ओली साँच्चैको राष्ट्रवादी भएको भए असम्भव हुने थिएन। उहाँले भारतीयले नक्सामा नेपाली भू–भाग हालेकोमा आपत्ति गर्ने काम गर्नुभयो अरु केही गर्नुभएन।

त्यहाँ के कसो हुँदैछ भनेर बुझ्न राज्यका सेना, सशस्त्र वा नेपाल प्रहरी पठाउन आवश्यक ठान्नु भएन। अनि जब भारतले त्यहाँ बाटो बनाइसकेर आफ्नो मक्सद पूरा गर्‍याे तब उहाँले नेपालको नयाँ नक्सा जारी गरेर नेपाली आक्रोशलाई शान्त पार्नुभयो र जानेर वा नजानेर भारतीय मक्सद पूरा गराउन भूमिका खेल्नुभयो भनेर लेख्दा मन दु:खी रहेको छ तर आखिर लेख्न त देखेको लेख्नै पर्‍याे। तथ्यले यस वाहेक अर्को पुष्टि गरेछ भने सार्वजनिक क्षमा मागौंला तर अहिलेलाई हाम्रो ठहरलाई तथ्य सम्मत रुपमा गलत सावित गर्न बामाले अनि तिनका ‘बा’लाई चुनौती नै भयो।

२ सत्तामा हुँदा त उहाँको राष्ट्रवादीता शाव्दिक रुपमा सुनिने तर व्यवाहारिक रुपमा नदेखिने थियो नै, हुँदा–हुँदा प्रतिपक्षमा हुँदा समेत उहाँ राष्ट्रियताको सम्वन्धमा भद्दा मजाक मै मस्त हुनुहुन्छ। जस्तै: अहिले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसी सम्झौतालाई पास गर्न हुने वा नहुने ? यो ठिक वा वेठिक भन्ने यत्रो विवाद छ तर यति धेरै विवादित विषयमा बामाले पार्टी र तिनका ‘बा’ चाहिं उहाँकै पार्टीका नेता रहनुभएका भीम रावलले भन्नु भए जस्तै “केपी ओली नेतृत्वको एमाले न पोथी न भाले” भन्न मिल्ने गतिविधिमा हुनुहुन्छ भन्दा अन्यथा हुने छैन।

यत्रो मै मात्रै राष्ट्रवादी भन्नेले त एमसीसी ठिक हो भन्ने लाग्छ भने ठिक भन्न पर्‍याे र पास गर्न पर्‍याे। हाेइन, भने प्रष्ट भन्न सक्न पर्‍याे यो ठिक छैन, यसलाई फेल गर्नपर्छ भनेर। त्यसमाथि उहाँ त एमसीसी सम्झौतामा थप सम्झौता गर्न आफ्नो पराराष्ट्रमन्त्री खटाउने मानिस नै हुनुहुन्छ उहाँले यस्तो दाउपेच गर्न मिल्छ ? अन्तर्राष्ट्रिय सन्धि सम्झौता कुनै व्यक्तिले हाेइन देशले गर्ने हो, त्यसो हुँदा आफू समेत सहभागी भएर गरेको सम्झौताबाट भाग्न जे जसरी शेरबाहादुर देउवा प्रचण्डले मिल्दैन ठिक त्यसै गरेर केपी ओलीले पनि मिल्दैन। हो, यदी तत्काल सरकारमा रहेकाले गलत सम्झौता गरेका रहेछन भने जनता र तिनका प्रतिनिधि सांसदहरुले त्यस सम्झौतालाई स्वीकार नगर्न सक्छन र समयक्रममा त्यसको संशोधन वा खारेजी हुन सक्छ तर सम्झौता गर्नेले  चाहिँ पानी माथिको ओभानो चाहिं बन्न मिल्दैन र हुँदैन। झन बहुअर्थि कुरा गर्ने अनि जता पल्लाभारी भयो आफूलाई त्यतै उभ्याउने वा अनेक गरेर पास हुन दिने अनि आफू विपक्षमा बस्दा पनि पास हुने अवस्था बनाइसकेपछि जब जानेर/नजानेर जनस्तरबाट विरोध हुने अवस्था आउँदा चाहिँ हामीले त भोट हालेको हाेइन क्यारे भन्दै ढाड जोगाउने सकुनी नीति बिल्कुल गलत हुन्छ। तर, बामालेका 'बा' र उहाँका पिछलग्गुहरु एमसीसी बारेमा के गर्दैछन ? उनीहरु यस्तो महत्वपूर्ण महत्वपूर्ण मुद्दामा फोहोरी खेल खेल्दैछन। बामालेका 'बा'ले भने झैं गठबन्धन भत्काउन नेपाली काँग्रेस तयार भए एमसीसी पास गराउन सहयोग गर्ने, हाेइन गठबन्धन दलहरु मिलेर यसलाई पास गर्ने भएमा पास हुन दिने अनि पास गर्नेहरुलाई राष्ट्रघाती भन्दै आफू फेरि पनि उपल्लो स्तरको राष्ट्रवादी कहलिन खोज्ने।

माथि उल्लेख गरे जस्तै न हो, बामालेहरु र तिनका 'बा'को खेलो। तर, के यसले कसैको हित गर्छ किमार्थ गर्दैनन। यस्तो मतलवी र मौसमी हर्कतले देशको प्रतिष्ठा उठाउन त सक्दैन नै सँग–सँगै यस्ता फोहोरी खेल खेल्नेहरुको आफ्नै परिचय पनि धेरै लुक्दैन। राष्ट्रको हितलाई दाउमा राख्ने, राष्ट्रिय महत्वको मुद्दाहरुमा आफ्नो राजनीतिक स्वार्थको डम्फु बजाउने जोसुकै हुन त्यसको हिसाब जनताले मात्रै हाेइन अन्तर्राष्ट्रिय समुदायले पनि राख्छ। त्यसैले नै हो आज हिजोको एमालेको राप र चापको आडमा बनेको बामाले क्रमश मरिच झैं चाउरी पर्दैछ। कुनैबेला राष्ट्रवादको नारा दिएर सफलताको सिंढी चढेका केपी ओलीको राष्ट्रवाद त अब क्रमश खोक्रो भैसकेको छ। नहोस् पनि कसरी ? सुनिने तर नदेखिने राष्ट्रवाद आखिरमा खोक्रो नै त हो। कि कसो त बामालेका ‘बा’ ?

प्रकाशित मिति: : 2022-02-04 18:30:00

प्रतिकृया दिनुहोस्