तेह्रथुममा चलचित्र 'तिमी कस्को...?' को छायांकन सुरु

नेपाली चलचित्र 'तिमी कस्को ...?' छायांकन बुधबारदेखि तेह्रथुममा सुरू भएको छ।

पाल्म फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा सुरू भएको चलचित्रको शुभमुहुर्त लालीगुराँस नगरपालिकाकी उपप्रमुख तिला पोखरेलले गरेकी छिन्।

तेह्रथुमको पर्यटन प्रवर्द्धनलाई प्रमुख उद्धेश्य सहित लालिगुरास नगरपालिका क्षेत्रमा छायांकन सुरु गरिएको चलचित्रमा स्थानीय जनजीवनलाई चलचित्रमा समेटेर स्थानीय कलाकारहरूलाई पनि प्रवर्द्धन गरिने चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए। उनका अनुसार  युवाहरूलाई स्वदेशमै केही गर्न सकिने प्रेरणा चलचित्रले बोकेको छ।

चलचित्रमा नायक प्रदिप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने र स्वहन प्रताप श्रेष्ठको मुख्य भूमिका रहनेछ भने नायिका हर्षीका श्रेष्ठ, रिहा श्रेष्ठ र प्रीतिका शर्माको अभिनयमा छायांकन सुरु भएको छ।

देव महर्जनको द्वन्द निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरुमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू , तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बू लगायत रहनेछन्। बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शङ्खर लगायत छन्।

चलचित्रको आकाश अकुले संगीत भरेका छन् भने कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिएका छन्। सुरेन लिम्बू र प्रकाश पाक्साँवाको छायांकनमा सुरु भएको चलचित्रको कथा जीवन श्रेष्ठले लेखेका हुन भने अर्जुन थापाको पटकथा र सम्बाद रहेको छ।

चलचित्रको च्यारेटी-सोबाट सङ्कलित रकमको २५ प्रतिशत लालिगुरास नगरपालिका-९ सोल्मा काडेका मृगौला पीडित सुमन लिम्बूको उपचारमा सहयोग गरिने निर्देशक श्रेष्ठले बताए । २४ बर्षिय मृगौला पीडित लिम्बू घोपा क्याम्प धरानमा उपचाररत छन्।  

चलचित्रको ८० प्रतिशत छायांकन सोल्मा मै गरिने र बाँकी काठमाडौ लगायत अन्य क्षेत्रमा हुने छ। चलचित्रको करिब १ महिनामा छायांकन कार्य सकाएर नयाँ वर्ष २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-02 20:46:00

प्रतिकृया दिनुहोस्