इलाका प्रशासन कार्यालय घर्तीगाउँले पाएन अधिकृत

तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउँदै २०५६ फागुन ६ गते घर्तीगाउँमा रहेका सबै इलाका कार्यालयहरु विस्थापित भए।

२०६३ मंसिर ५ मा राज्य पक्ष र विद्रोही पक्ष (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएसँगै घर्तीगाउँमा विस्तारै इलाका कार्यालयहरु पुनः स्थापना हुने क्रम पनि सुरु भयो।

त्यसैक्रममा विस्थापित भएको इलाका प्रशासन कार्यालय पनि २०७५ असार ३ गते पुनःस्थापना भयो। हाल सबैजसो इलाका कार्यालयहरु पुनःस्थापना भइसकेका छन्। तर कर्मचारी अभावकै कारण सेवाग्राहीहरुले नियमित सेवा पाउन भने मुस्किल छ।

नापी, मालपोत र प्रहरी कार्यालयमा कार्यालय प्रमुख नभएपनि सेवा प्रवाहमा खास्सै असर पर्दैन, तर इलाका प्रशासन कार्यालयमा भने नागरिकता जारी गर्नका लागि अधिकृत नै चाहिने भएकाले बेलाबेलामा प्रशासनको काम नै ठप्प हुने गरेको छ। इलाका प्रशासन पुनःस्थापना भएयता कार्यालयमा ३ जना अधिकृत आए तर उनीहरु धेरै समय बसेनन्।

उनीहरु हतार हतारमा मालदार कार्यालय खोज्दै सरुवा गर्दा कार्यालयमा ६ महिनासम्म सेवा ठप्प हुने गरेको स्थापनादेखि नै कार्यरत नायब सुब्बा गणबहादुर विकको भनाई छ।

मालदारमा मालामाल, इलाकामा फालाफाल

जिल्लाकै सुनछहरी गाउँपालिकामा २०७४ देखि निरन्तर रुपमा बीरबहादुर पुन प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत छन्। उनी त्यहाँ कार्यरत भएको ४ वर्ष भइसक्यो तर अझै उनको सरुवा हुने छाँटकाट देखिँदैन। तर २०७५ मा पुनःस्थापना भएको इलाका प्रशासन कार्यालय घर्तीगाउँमा भने अहिलेसम्म ४ जना प्रमुख फेरिएका छन्।

कार्यालय स्थापनापछि राममणी काफ्ले, ऋषिराम सुवेदी र अनुप केसी अधिकृतका रुपमा आए भने कामु अधिकृतका रुपमा गणबहादुर विकले पनि ६ महिना कार्यकाल सकाएका हुन्।

गत साउन १७ गते गृह मन्त्रालयले कामु अधिकृतको रुपमा उनै नासु विकलाई तोके पनि उनको ६ महिने अवधि पनि सोमवार सकिएको छ। उनको अवधि सकिएसँगै फेरी नागरिकता वितरणको काम रोकिएको छ। अधिकृतहरुले मालदार कार्यालय मात्रै खोज्ने भएकाले इलाकामा अधिकृतको अभाव भएको हो।

कामु अधिकृतबाट २ हजार ४ सय नागरिकता जारी

इलाका प्रशासन कार्यालयमा अधिकृतको अभाव भएपनि सेवाग्राहीको भने कुनै अभाव छैन। साविकको १४ गाविस हालको ३ वटा गाउँपालिकाका सेवाग्राहीले नागरिकता, प्रमाणिकरणलगायत विभिन्न सिफारिसका कामका लागि यस कार्यालयमा आउने गरेका छन्।

पछिल्लो ६ महिनामा मात्रै कार्यालयबाट २ हजार ४ सय ६३ वटा नागरिकता र २ सयभन्दा धेरै प्रमाणिकरणको काम भएको नासु विकले बताए।

फेरि कामु तोक्न सिफारिस

जिल्ला प्रशासन कार्यालय रोल्पाले उक्त कार्यालयबाट नागरिकता जारीलगायतका कामलाई निरन्तरता दिन फेरि पनि उनै नास विकलाई कामु तोक्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

अधिकृत नआउने देखिएपछि गत हप्ता नै फेरि उही नासुलाई कामु तोक्न सिफारिस भइसकेकाले केही दिनमै सेवालाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

दीर्घकालीन समस्या समाधानको माग

द्वन्द्वको समयमा विस्थापित भएको इलाका प्रशासन कार्यालय १९ वर्षपछि पुनःस्थापना भएपनि अधिकृतकै अभावमा बेलाबेला सेवा बन्द हुने समस्याको दीर्घकालीन समाधान हुनुपर्ने स्थानीयको माग छ।

कार्यालय पुनः स्थापनाका ठूलो संघर्ष गरेकोमा फेरि अधिकृत लिनलाई पनि संघर्ष नै गर्नु परिरहेको घर्तीगाउँ गाविसका पूर्वगाविस अध्यक्ष गोपाल घर्तीले बताए।

‘पटक–पटक सर्वदलीय रुपमा डेलिगेशन गएर कार्यालय त ल्याइयो’, घर्तीले भने, ‘तर फेरि अधिकृतको अभाव भएको छ।’ यो समस्याको समाधानका लागि पनि सर्वदलीय रुपमा माग गर्ने क्रम जारी रहेको उनको भनाई छ।

प्रकाशित मिति: : 2022-02-02 12:29:00

प्रतिकृया दिनुहोस्