हामीलाई अरूले ऐना देखाइदिए चित्त दुख्न सक्छ। त्यसैले आफैं एउटा ऐना लिएर आफ्नै अनुहार हेरौं। पक्कै पनि त्यो ऐनामा हाम्रो अनुहार देखिने छ। भनाइ नै छ- ऐनाले कहिल्यै ढाट्दैन।
हुनसक्छ त्यो ऐनाले हाम्रो अनुहारमा कसिंगर देखाइदेला। अनि हामी ऐनामा खोट देखेर ऐना फालौला र अर्को ऐना लिएर फेरि अनुहार हेरौंला। फेरि पनि अनुहारमा कसिंगर नै देखिएला। अब हामीलाई यो ऐनासँग रिस उठ्ला र फुटाइदिउला। र, अझ महंगो ऐना किनेर अनुहार हेरौंला। तर, यसपटक पनि अनुहारमा कसिंगर नै देखिने हो, देखिन्छ।
कारण, कसिंगर ऐनामा होइन, हाम्रो अनुहारमा हो। त्यसैले ऐना फेरेर होइन, अनुहारभित्रको नियत धोएर ऐना हेरौं। त्यसपछि फुटेकै ऐनामा हेरे पनि हाम्रो अनुहार उज्यालो नै देखिने छ।
अमेरिकाको नेपाली डायस्पोरा कस्तो छ ? त्यसलाई हेर्ने एउटा मानक ऐना हो– यहाँको नेपाली डायस्पोरिक पत्रकारिता। अमेरिकामा थुप्रै पृष्भूमि भएका नेपाली आएर नेपालको मिनियचर बनाएका छन्। त्यो मिनियचरमा नेपालमा हुँदा पत्रकारिताको पृष्ठभूमि भएकाको संख्या पनि उल्लेख्य छ। उनीहरू यहाँ आएर कुनै न कुनै रूपमा सञ्चारकर्ममा जोडिएका छन्। पत्रकारिता आफैंमा एउटा नशा हो, एकपटक यसको अम्मलमा फसेको मानिस विरलै बाहिर निस्कन सक्छ। थाहा छ, अमेरिकामा अहिलेको जस्तो नेपाली डायस्पोरिक पत्रकारिताको भविष्य छैन, तैपनि एक पत्रकार एक मिडियाको जस्तो अवस्था छ अहिले।
यसको अर्को पनि कारण छ। त्यो के भने, पत्रकारिता पहिलाजस्तो गाह्रो छैन। डिजिटल प्लेटफर्मको सहज उपलब्धता अनि वैकल्पिक मिडियाका रूपमा सामाजिक सञ्जालको प्रभावकारी उपस्थितिले जो–कोही पनि सञ्चारकर्ममा सजिलै जोडिन सक्छ।
पछिल्लो समय लेख्नै नपर्ने, लेखिहाले पनि थोरै लेख्दा पुग्ने, अझ बोले मात्र पुग्ने मिडियाको युग सुरू भएको छ, यसले पत्रकारिताको कखरा नजान्दा पनि कामचलाउ सञ्चारकर्मी हुनसक्ने अवस्था विद्यमान छ।
अमेरिकाको नेपाली डायस्पोरिक पत्रकारितामा अहिले यस्तै सञ्चारकर्मीको संख्या अत्याधिक मात्रामा बढेको छ। यसले पत्रकारिता नै सञ्चारकर्मीको कब्जामा पुगेको जस्तो अवस्था सिर्जना भएको छ। यो कब्जाधारी जमात स्रोतका लागि सहजै म्यानुपुलेसन भइदिने भएकाले यहाँको डायस्पोरिक पत्रकारिता नै पहुँचवालाको पकेट पत्रकारितामा अनुदित हुन पुगेको छ। कुनै समय पश्चिमा मूलधारको पत्रकारिताले विकास पत्रकारितालाई 'पकेट पत्रकारिता' भनेर हुर्मत लिने गर्थ्यो।
यो परिस्थितिका लागि यस्ता खाले पत्रकार मात्र दोषी छैनन्, यहाँको नेपाली डायस्पोराका अगुवाहरू पनि त्यतिकै दोषी छन्। उनीहरूले यस्तै पकेट पत्रकारितालाप मान्यता दिदा यो अवस्था सिर्जना भएको हो। यसले गर्दा पछिल्लो समय वास्तविक पत्रकारहरू मन मारेर किनारा लाग्ने परिस्थिति सिर्जना हुँदैछ। उनीहरू किनारामा गएपछि कब्जाधारीको रजाइँ हुन्छ अनि उनीहरू जे गर्छन् त्यही अभ्यासको आधारमा पत्रकारिता परिभाषित हुन थाल्छ। यही क्रममा जबर्जस्ती हुँदा पत्रकारिताको पाराडाइम सिफ्ट हुने हो।
अमेरिकाको नेपाली डायस्पोरामा पत्रकारिता कम र पर्चाकारिता बढी हुन्छ। पर्चाकारिताबाट हुने प्रवद्र्धन मात्र हो, पत्रकारिता होइन। पर्चाकारितामा अनुहार हेरेर समाचार होइन, प्रचार लेखिन्छ। जेमा पनि हजुर र गजुर चढाइन्छ। अहिले अमेरिकाको नेपाली डायस्पोरामा पत्रकारिताको मूलचरित्र यही भएको छ।
यसको मूल कारण यहाँको नेपाली डायस्पोरामा विद्यमान ‘क्वायक’ संस्कृति हो। अपवादलाई छोडेर यो समाजका अगुवाहरू पैसाले प्रवद्र्धन लेखाउँछन् र त्यसैलाई समाचार भनी दिन्छन्। अनि, उनीहरूका लागि जसले यस्तो लेखिदन्छ, उनीहरूलाई पत्रकारको पगरी भिराइदिन्छन्। जसले गर्दा पत्रकारिता विस्तारै पर्चाकारितामा बदलिँदै गएको छ।
समाजको पहरेदार हुने, राज्यको चौथो अंग हुने, आवाजबिनाको आवाज हुने र ट्रेजरी बेन्चमा होइन, अपोजिसन बेन्चमा बसेर सूचना र सन्देश प्रवाह गर्ने, सामाजिकीकरण गर्ने, एजेण्डा सेटिङ गर्नेलगायतका पत्रकारिताका आधारभूत चरित्रहरू स्थापना हुन नै दिइएन।
अझ, आधुनिक पत्रकारिताका न्यूनतम शर्तहरू एबिसीडीइएफजी (ए=एक्युरेसी, बी=ब्यालेन्स, सी=क्रेडिबिलिटी, डी=डिसेन्सी, ई=इथिक्स र एफ=फेयरनेस) पालना गर्दै डेटलाइन, बेसलाइन, लिड र बडीमा समाचार लेखेर किस (किसो किप इट सर्ट एण्ड पिम्पल)को सूत्र प्रयोग गर्दै हेडलाइन राखेर समाचार बनाउने कुरा त धेरै टाढा भयो।
पत्रकारितामा सबैभन्दा ठूलो ब्यारिअर मानिने विशेषणको भारी बोकाएर फाइब डब्लुमध्येको एक ‘हु’ लाई चिन्नै गाह्रो बनाइने त रोग नै छ। जस्तो कि प्रमुख अतिथि कोही छ भने उसका बारेमा यस्तो लेखिन्छ– महान् नेपाली भाषासेवी, समाजसेवी, महान् विचारक कवि, लेखक, साहित्यकार। यति धेरै विशेषणको भारी बोक्दा त्यो प्रमुख अतिथि त्यही ढल्लाजस्तो हुन्छ।
अमेरिकाको नेपाली डायस्पोरामा पत्रकारिता कम र पर्चाकारिता बढी हुन्छ। पर्चाकारिताबाट हुने प्रवद्र्धन मात्र हो, पत्रकारिता होइन। पर्चाकारितामा अनुहार हेरेर समाचार होइन, प्रचार लेखिन्छ। जेमा पनि हजुर र गजुर चढाइन्छ। अहिले अमेरिकाको नेपाली डायस्पोरामा यस्तैखाले पत्रकारिताको खेतीपाती भइरहेको छ।
हाम्रो समुदायले के बुझ्न जरूरी छ भने– कसैलाई कोही मन पर्याे भन्दैमा उसलाई प्रशंसाको माला पहिराएर भगवान् बनाउन सकिँदैन। त्यसैगरी कसैलाई कोही मन परेन भन्दैमा उसलाई गाली गरेर राक्षस पनि बनाउन सकिँदैन। जति प्रशंसा गरे पनि गाली गरे पनि मान्छे त मान्छे मात्र हुने हो।
प्रस्तुत पृष्ठभूमिमा एउटा गम्भीर प्रश्न उभिएको छ– हाम्रो डायस्पोरालाई पत्रकारिता चाहिएको हो कि पर्चाकारिता ? पर्चाकारितामा प्रचार मात्र हुन्छ तर पत्रकारितामा यसका केही विशिष्ठ मूल्य, मान्यता र सिद्धान्त पनि हुन्छ। त्यसको आधारमा दृष्टिकोण निर्माण हुन्छ। र, दृष्टिकोणको आधारमा सहीलाई सहीछाप र गलतलाई डिङ्गाछाप देखाउने काम पनि हुन्छ।
तर, अहिले त्यस्तो हुन छोडेको छ। हाम्रो समुदायमा पत्रकारितालाई स्थापित हुन नदिने पृष्ठभूमि तयार गरिँदैछ। फेसबुकमा लिंक शेयर गर्नकै लागि समाचार तयार गर्ने र तिनीहरूमा लाइक र बधाईजस्ता कमेन्ट लेखाएरै पत्रकारिताको हुर्मत लिइदै छ। अझ, पत्रकारिताका नाममा डिजिटल प्लेटफर्ममा जे–जस्ता हर्कतहरू गरिँदैछ, त्यसको त कुरा गरेरै साध्य छैन।
विश्वको एक मात्र महाशक्ति राष्ट्रको नेपाली डायस्पोरा वास्तवमै भन्ने हो पत्रकारिताका नाममा पर्चाकारितामा अल्मलिइरहेको छ। यस्तो खेलाची गरेर २१औँ शताव्दीको सामना गर्नुपर्ने पत्रकारिताका चुनौती सामना गर्न सक्ने कुरै हुँदैन। त्यसका लागि सबैभन्दा पहिला त अक्षांश र देशान्तरको भूगोल होइन, मनको भूगोल फेर्न सक्नुपर्छ। अनि मात्र हामी पर्चाकारिताको अँध्यारोबाट पत्रकारिताको उज्यालोतिर डोहोरिने छौँ।
यो विन्दुमा आएर अमेरिकाको नेपाली डायस्पोरिक पत्रकारिताको चरित्र के हो– सोसाइटी सेन्ट्रिक हो ? या यहाँको नेपाली डायस्पोराचाँहि मिडिया सेन्ट्रिक हो ? यसबारे बहस गर्नुपर्ने हुन्छ।
यो बहसमा आमसञ्चारको डोमिनेन्ट पाराडाइम र अल्टरनेटिव पाराडाइम कोणबाट विवेचना पनि स्वतः गर्नुपर्ने हुन्छ। तर, सतहमा रमाइरहेको र पत्रकारिताको सामान्य ज्ञान पनि नभएको समुदायले यति गहिरिएर आमसञ्चारमाथि बहस गर्न सम्भव नै छैन। त्यही नहुँदा यो पत्रकारिताको आयु घट्दैछ। यसै पनि अमेरिकामा कखरा चिन्नेको संख्या घट्दो छ, सानोमा अमेरिका आएको र यही जन्मेको पुस्ताले अब कख नै चिन्दैन। जब यो पुस्ताले अघिल्लो पुस्ताको ठाउँ लिन्छ तब नेपाली भाषामा गरिने पत्रकारिता पनि स्वत: विस्थापित हुन्छ।
यही बीचमा पनि हामीले के बुझ्न जरूरी छ भने यसै पनि यो समय ‘ज्याक अफ अल मास्टर अफ नन’को होइन, ‘ज्याक अफ मास्टर अफ सम’ को हो। जसले जे जानेको छ ऊबाट सकेको लिने युग हो। नजान्नु पाप होइन तर नजानी–नजानी जाने भनेर अरूलाई नजानेकै कुरा सिकाउनुचाहिँ धर्म होइन।
आखिर आफूले आफूलाई कति दिन ढाँट्न सकिन्छ र ? तर, दुःखका साथ भन्नुपर्छ यतिबेला अमेरिकाको नेपाली डायस्पोरा पत्रकारिताका नाममा आफूले आफैँलाई नै ढाँटिरहेको छ।
आगे उहाँहरूकै मर्जी !