यमनमा द्वन्द्व चर्किने आशंका, हुथी विद्रोहीले दियो थप आक्रमणको चेतावनी

Photo– Middleeasteye

पछिल्लो सयम मध्यपूर्वमा शान्ति भंग गर्ने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्। खासगरी यमनमा द्वन्द्व चर्किने त्राश बढ्दाे छ।

रोयटर्सका अनुसार हुथी विद्रोहीका एक प्रवक्ताले अबुधाबी लक्षित मिसाइल र दुबईतर्फ ड्रोन प्रहार गरेको दाबी गरेका छन्। योसँगै प्रवक्ताले थप आक्रमणको चेतावनी दिएका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई)ले सोमबार बिहान यमनका हुथी विद्रोहीले प्रहार गरेको ब्यालेस्टिक मिसाइल बीचैमा रोकेर नष्ट गरेको गरेको जनाएको छ। इजरायलका राष्ट्रपति इसाक हर्जोग यूएईको ऐतिहासिक भ्रमणमा रहेका बेला हुथी विद्रोहीले आक्रमणको प्रयास गरेका हुन्।

यमनी विद्रोहीको आक्रमणबाट यूएईमा कुनै क्षति नभएको रक्षा मन्त्रालयले जनाएको छ। स्रोतकाअनुसार ब्यालिस्टिक मिसाइलका टुक्राहरू खालीक्षेत्रमा खसालिएको थियो। गतहप्ता पनि हुथी विद्रोहीले यूएईको राजधानी अबुधाबी लक्षित प्रहार गरेका दुईवटा ब्यालेस्टिक मिसाइल खसालेको थियो।

गत १७–जनवरीमा विद्रोहीहरूले अबुधाबी एयरपोर्ट र तेल गोदाममा ड्रोन आक्रमण गर्दा दुई भारतीयसहित तीन जनाको मृत्यु भएको थियो। यूएईको वायुसेना र गठबन्धनले यमनी हुथी विद्रोहीको आक्रमण सामना गर्न तयार रहेको बताएको छ।

सिभिल एयर ट्राफिक कन्ट्रोल एजेन्सीले विद्रोहीको आक्रमणले नियमित उडानमा कुनै असर नपरेको जानकारी दिएको छ।

उता अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले यूएईमा आक्रमण गर्ने प्रयासको निन्दा गरेका छन्। ‘इजरायलका राष्ट्रपतिले यसक्षेत्रमा शान्ति स्थापना गर्ने उद्देश्यले यूएईको भ्रमण गरिरहँदा हुथी विद्रोहीहरूले आक्रमण गरी भयभीत गरिरहेका छन्। यो राम्रो संकेत होइन,’ उनले भने।

सन् २०२० सेप्टेम्बरतिर यूएई र इजरायलबीच अमेरिकी सहयोगमार्फत दुई देशबीच सम्झौता भएको थियो। सोही सहमति अनुरुप राष्ट्रपति हर्जोग पहिलोपटक आधिकारिक यूएईमा भ्रमणमा निस्केका हुन्।

रोयटर्सका अनुसार इजरायली राष्ट्रपति हर्जोग सोमबार दुबई आइपुगे हुन्। उनी कडा सुरक्षाबीच एक्स्पो सम्मेलनमा सहभागी भएको बताइएको छ।

प्रकाशित मिति: : 2022-01-31 19:11:00

प्रतिकृया दिनुहोस्