ऐतिहासिक भूमि अयोध्या– जहाँ राम मन्दिर निमार्ण कार्यले बेग्लै रौनक थपेको छ। अयोध्याले मुगल, ब्रिटिस र स्वतन्त्र भारतको राजनीतिलाई समेत प्रभावित गर्दै आएको छ। अयोध्या हिन्दूहरूको प्राचीन र सात पवित्र तीर्थस्थलहरूमध्ये एक हो। अयोध्यालाई प्राचीन कालमा ‘कौशल देश’ भनिन्थ्यो।
भारतमा हाल शासन गरिरहेको भारतीय जनता पार्टी (भाजपा) अयोध्याको सहारा लिएर केन्द्रसहित दर्जनौं राज्यमा ‘रामराज्य’ चलाइरहेको छ। खासगरी हिन्दू अतिवादी भाजपाको राजनीति ‘हिन्दू–मुस्लिम’मै केन्द्रीत छ। विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संस्था ‘राष्ट्रिय स्वयंसेवक संघ’ भारतीय जनता पार्टीको मुख्य सारथी हो।
विश्लेषकहरू भन्छन्, ‘भाजपा अस्पतालभन्दा मन्दिर नै रोज्छ।’ उनीरूको भ्रामक सोच मन्दिरबाट सुरु भई मन्दिरमै सिमित रहेको प्रायःको दाबी छ। कतिपय त भापजालाई धर्मको नाममा राजनीति गरिरहेको गम्भीर आरोप पनि लगाउँछन्।
पूजापाठ गर्नका लागि मन्दिर हिँड्न बाटो, पिउनका लागि पानी–धारा, स्वास्थ्यका लागि अस्पताल र शिक्षाका लागि विद्यालय चाहिन्छ। तर, भाजपा मन्दिर देखेपछि यी सबै बिर्सिन्छ।
श्रीरामको जन्मभूमि अयोध्याका स्थानीय बासिन्दाहरू शिक्षा र स्वास्थ्यमा निकै मूनि छन्। यहाँका जनताले राम्ररी हाच्छ्युँ गर्दा पनि १३५ किलोमिटर दुरी पार गरेर लखनउ दौडिनुपर्छ। सोच्नुहोस्– गम्भीर रोगबाट ग्रसित जनताको के होला, हालत ?
अयोध्यामा हजारौँ सुन्दरै–सुन्दर मन्दिर बने। तर, एउटा राम्रो अस्पताल बनेन्। कतिपय मन्दिर सुनको जलपले पनि सजिएका छन्। शिक्षा–स्वास्थ्यमा भने कसैको ध्यानै पुगेन।
सरकारी अस्पतालमा राम्रो उपचार पाइँदैन। सुविधा सून्य छ। स्थानीयहरू सरकारी अस्पताल जानै मान्दैनन्। उनीहरू ज्यान जोखिममा पार्न चाहँदैनन्। स्थानीय मात्रै होइन, अयोध्या आउने बाह्य पर्यटक पनि निजी लुटेरा अस्पताल पुग्न बाध्य छन्।
उत्तर प्रदेशको धार्मिक–राजनीतिक मानसिकता मात्रै होइन स्वास्थ्य प्रणाली पनि ‘भेन्टिलेटर’मा छट्पटाइरहेको छ। एक रिपोर्टअनुसार उत्तर प्रदेशको स्वास्थ्य प्रणाली अन्य राज्यको तुलनामा उन्नाइसौं नम्बरमा सूचीकृत छ।
‘रामराज्य’मा रावणको सत्ता हुँदा अयोध्या दिनदिनै डरलाग्दो बनिरहेको कांग्रेस अयोध्याका जिल्ला अध्यक्ष अखिलेश यादवले भाजपा लक्षित आरोप थुपारेका छन्।
उनकाअनुसार सरकारले खटाएका सरसफाई कर्मचारीहरू समेत अस्पतालमा भेटिँदैनन्। सरकारी चिकित्सकहरू निजी क्लिनिकमा काम गर्छन्। उनीहरू सरकारी अस्पताल छिर्न फुर्सद नै पाउँदैनन्। जो झुम्किएर अस्पताल आउँछन्, आफूले नभई तल्लो तहका कर्मचारी काम लगाएर हिँड्छन्।
भाजपा नेतृत्वको मुख्यमन्त्री योगी आदित्यनाथ सरकारले अस्पतालभन्दा मन्दिर बनाउनुलाई ठूलो कर्म ठान्छ। पाँच वर्षमा शिक्षा सुधार र अस्पतालका लागि काम गर्न नसकेको आरोप खेपिरहेका छन्।
शिक्षा सुधारका लागि विद्यालयमा शिक्षक हुनुपर्छ र अस्पताल सुधार गर्न चिकित्सक। तर, अयोध्याको विद्यालयमा न शिक्षक छन्, न अस्पतालमा चिकित्सक। न त अयोध्यामा सुविधा सम्पन्न अस्पताल नै छन्। तर, शहरैभर मन्दिरै–मन्दिर छन्। अयोध्या भगवान भरोसा छट्पटाइरहेको छ।
अयोध्या शहरमा दश हजारभन्दा बढी मन्दिर छन्। भगवान् श्रीराम जन्मेको विश्वास गरिन्ने पुण्यभूमिमा जनताको स्वास्थ्यसँग गम्भीर खेलवाड गर्नु कत्तिको जायज हो ? बालबालिकामाथि शिक्षाको नाममा मुख्यमन्त्री योगीले गरेको झूटो मार्केटिङ कति सही छ ? आम नागरिकमा अनेक प्रश्न छन्। तर बोल्न सक्ने अवस्था छैन। बाेल्यो कि धार्मिक समूहले आक्रमण गरिहाल्छ। हिन्दू विरोधी उपमा आइहाल्छ। बहिस्कार सूचीमा कसैलाई पर्नु छैन। त्यसैले बोल्दैनन्।
अयोध्यामा ३० वर्षदेखि विकासको गति सुस्त छ। तर, यहाँको जनसंख्या ८ गुणाले बढेको स्थानीयवासी बताउँछन्। अयोध्या शहरमा मात्रै होइन वरपरका क्षेत्रमा पनि उद्योग विस्तार हुनै सकेनन्। यहाँ बेरोजगारी सबैभन्दा ठूलो संकट हो।
जहाँ गएपनि पूजा सामग्रीको पसल मात्रै पाइन्छ। यसबाहेक युवाको आयस्रोत सून्य। शिक्षित युवासँग बसाइँ सर्नुको विकल्प नै छैन। हरेक वर्ष हजारौं युवा अयोध्याबाट रोजगारीको खोजीमा अन्य शहरमा पलायन हुन बाध्य छन्।
भारतीय जनता पार्टीको नेतृत्वमा राममन्दिर निर्माण थाल्नुअघि स्थानीयले थुप्रै पीडा भोगे। भत्किएका सडक, ओभरफ्लो नाला, खोलाको फोहोर पानी आजपनि उस्तै छ।
राजनीतिक रूपमा भापजाले अयोध्यामा ठूलो लगानी गरेको छ। अयोध्यालाई विश्वभर चिनाउने उसको प्रयास जारी छ। भाजपाको विकासविरोधी रबैयाले यहाँका स्थानीयहरू खुसी छैनन्। मुख्यमन्त्री योगी अयोध्याबाटै चुनाव लड्ने चर्चा थियो। तर, हिम्मत गरेनन्। र फर्किए गोरखपुर।
राम मन्दिर निमार्णको चर्चाले एक तहका वर्ग निकै खुसी छन्। ती राजनीति गर्ने पात्रहरू हुन्। यो पनि सत्य हो कि– मन्दिर बाहेक उनीहरूको खुसी हुने अर्को कुनै ठाउँ नै छैन।
सँगैको अर्को गरिखाने वर्ग त्रसित छ। मन्दिरक्षेत्र फैलाउने नाममा बाटो फराकिलो पारिँदैछ। सडक छेउछाउका भवन, पसल ध्वस्त भइरहेका छन्। जसका कारण उनीहरू चिन्तित छन्। अयोध्यामा मन्दिर बन्नुपर्छ। धार्मिक रूपमा पर्यटकहरू भरिनेछन्। यहाँको चारैतिर चर्चा हुनेछ। तर, अयोध्या यत्तिमात्रै हो त ? विल्कुलै होइन। यहाँ राम्रो सडक, नाला, अस्पताल, विद्यालय नभएसम्म राम मन्दिरको थप आलोचना भइरहनेछ।