किन 'प्रेमपिण्ड' बन्दैछ टेक्सासको नेपाली डायस्पोरा ?

केही समययता अमेरिकाको टेक्सासको नेपाली डायस्पोरा बढ्दो छ । नेपालबाट सोझै आउनेको संख्या मात्रै हैन, अमेरिकाका विभिन्न राज्यबाट बसाइ सर्नेको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ । बसाइ सर्नुको मूल कारण नेपालको तराईजस्तै मौसम र भूगोल हो । यस अतिरिक्त ‘मिल्न त आफ्नै मान्छे चाहिन्छ नै, झगडा गर्न पनि आफ्नै मान्छे चाहिन्छ’ भन्ने नेपाली संकथनले पनि काम गरेको छ । केही नेपालीहरू छोराछोरीका लागि नेपाली नै ब्यायफ्रेण्ड र गर्लफ्रेण्डको छनौटको अवसर दिन पनि टेक्सास सरेको हसिमजाकमा बताइरेकै छन् । यो पनि अकारण चाँहि हैन ।  

कारण जे होस्, टेक्सासको खासगरी डलास आसपासको नेपाली डायस्पोरा नेपालको मिनियचर बन्दैछ । अर्थात्, जस्तो नेपाल र त्यहाँका हामी नेपाली थियौ, चरित्रमा दुरूस्तै उस्तै बन्दैछ, यहाँको नेपाली डायस्पोरा । यसका राम्रा नराम्रा दुबै पक्ष उजागर हुँदैछन् । राम्रा त राम्रा भैहाले, तपसिलमै छोडिन्छन् । नराम्रा पक्षकै कारण धेरैजसो समाचारका शीर्षक बनिरहेको छ, टेक्सासको नेपाली डायस्पोरा ।

टेक्सासको नेपाली डायस्पोराको यो छवि बनाउनेको संख्या हातमा गन्न सकिन्छ, तर त्यसको आहतमा पर्नेको संख्या भने हजारौ छ । उनीहरू एक विराउने शाखा पिराउने अवस्थामा धेकेलिएका छन् । उनीहरू भन्छन्, यहाँका केही टाठाबाठा र आर्थिक रूपमा सबल बनेकाहरूका खुट्टा नेपाल छोडेर टेक्सासमा टेकिए पनि टाउको ऐठनमा परेर यता फर्कन सकेको छैन । अमेरिका आए आचरणसँगैको अवस्थाका कारण यस्तो भएको हो। ‘  

यो व्यक्तिगत कुरामा सिमीत भए फरक नपर्ने हो, प्रवृतिका रूपमा झ्याँगिदैछ- त्यसले चाँहि फरक पार्न थालेको छ । यही प्रवृतिले निर्माण गरेको स्टेरियोटाइप चाहिँ समस्याको चुरो बन्दैछ । अहिले टेक्सासको नेपाली डायस्पोराले आफ्नो छवि कुनै समय काठमाडौंमा 'झापाली'को जस्तो थियो, बटौलीमा 'स्याङ्जाली'को जस्तो थियो, ठ्याक्कै त्यस्तै बनाउँदैछ । 

हुँदाहुँदा अवस्था यस्तो भैसकेको छ कि, अमेरिकाको अन्य नेपाली डायस्पोराको मानिस टेक्सासको नेपाली भनेपछि डराउँछ, नडराए पनि सतर्क चाहिँ अवस्श्य हुन्छ। यसको अर्थ टेक्सासका नेपालीको छवि क्रमश: नकारात्मक बन्दैछ । पहिले त्यस्तो थिएन, डायस्पोरा बढेसँगै यो परिवर्तन देखिएको हो।  

आखिर यो छवि कसले बनायो त ? टेक्सासमा रहेका सर्वसाधारण नेपालीले बनाएको त पक्कै पनि हैन, बनाएको त यो समुदायका अगुवा भनिने टाठाबाठाका चरित्र, गतिविधि, क्रियाकलापले नै हो । बहुमत नेपाली त अगुवाहरूले थोपरिदिएको छविबाट अभिसप्त बनाइएका हुन्, विचरा बनेका हुन् ।    

यहाँको नेपाली डायस्पोरामा हरेक दिन नभए पनि हरेक साता केही न केही हर्कत भैरहेकै हुन्छ । तिनै हर्कतका कारण घरदेशदेखि परदेशसम्म जगत हसाउने काम हुन्छ, बदलामा यहाँको नेपाली डायस्पोरा हसिमजाकको पात्र बन्छ, खिसिट्युरीको विषय बन्छ । यसबाट दिक्क भएर कतिपय नेपाली सामुदायिक गतिविधिमा सहभागी हुन छोडेका छन् । नेपाली समुदायका लागि निश्चय पनि यो राम्रो संकेत हैन ।

यही क्रममा पछिल्लोपटक दिनेश शर्माको समर्थन र विरोधको रोइलो सुरू भएको छ । यो रोइलो नयाँ हैन, एनआरएन हुँदै एनएसटीको चुनावसम्म आइपुगेको इगोको अवशेष श्रृङखलाको पटाक्षेप मात्र हो।

यहाँको नेपाली डायस्पोरामा सधै नै केही न केहीको चुनाव लागिरहेको हुन्छ । उम्मेद्वारको भीँड लागिरहेको हुन्छ, हारजीतको रन्को लागिरहेकै हुन्छ । पछिल्लो समय संकथन नै बनेको छ कि, टेक्सासमा चुनाव भएन भने हरिबोल भण्डारीहरू नेपाल गएर खस आर्य क्लस्टरबाट कांग्रेसको चुनाव लडेर पनि चुनावको काउसो लगाइदिन्छन् । अन्यथा यहाँका अगुवाहरू केही चिलाउन नपाएर ‘सिक’ हुन्छन् ।    

पछिल्लो रोइलोको कथा यस्तो छ, यसका केन्द्रीय पात्र दिनेश शर्मा डेमोक्रेटिक पार्टीको तर्फबाट हाउस डिस्ट्रिक्ट ९२ मा डेलिगेटका लागि उम्मेद्वारका आकांक्षी हुन्। अन्तरपार्टी चुनावका प्रत्यासीलाई उमेद्वार नभनेर आकांक्षी भनिन्छ । जब यस्ता आकांक्षी प्राइमरी भनिने अन्तरपार्टी चुनावमा विजयी हुन्छन्, तब मात्र पार्टीको तर्फबाट उम्मेद्वार बन्ने हो ।

अमेरिकाको टेक्सासको नेपाली डायस्पोरामा पछिल्लोपटक यस्तो भाष्य बनाइदैछ कि, चुनावमा नेपाली उठेपछि सक्किगो; नेपालीले दायाँबाँया गर्नै पाइदैन, छनोटको अवसर नै बन्द हुन्छ। अमेरिकामा बस्ने, अमेरिकी क्यारेक्टरको कुरा गर्ने अनि चुनावको बारेमा चाँहि यस्तो ‘जेहादी’ सोच राख्ने ? यो नेपाली सोच हैन, त्यस्तो सोच राख्ने जो कोही पनि आत्मालोचना हुन जरूरी छ । .

यसरी हेर्दा दिनेश शर्मा उम्मेद्वारका आकांक्षी हुन् । कुनै पनि पार्टीको रजिस्टर्ड भोटरले उम्मेद्वार हुन पाउँछ । यसलाई अमेरिकामा प्रजातान्त्रिक अभ्यासमा सहभागिता भन्ने
गरिन्छ । यस्तो ईच्छा जो कोही पनि अमेरिकी नागरिकले गर्न/ राख्न सक्छ । दिनेशले पनि त्यही नागरिक अधिकारको प्रजातान्त्रिक अभ्यास गर्न खोजेका हुन् । हुन त भन्नेहरू के पनि भन्छन् भने यी दिनेश पनि बाहैमास चुनावी रन्को लाग्ने टेक्सासको रनाहामा परेर आकांक्षी बनेका हुन । आकांक्षा राख्ने र केही हल्ला उत्पादन गर्ने भन्दा माथिको  हैसियत राख्दैनन् । जे भए पनि राजनीतिमा सहभागी हुन खोज्नु, उम्मेद्वारको आकांक्षी हुन खोज्नु उनको अधिकारको कुरा हो । यो स्वागतयोग्य छ । यसमा उनलाई सफलता मिलोस् शुभकामना ।  

कथाको अर्को पाटो पनि छ । त्यो के भने,  केही समयपहिले  टेक्सासमा स्थानीय नेपाली संस्था एनएसटीको चुनाव भएको थियो । त्यही संस्थाक भूतपुर्व अध्यक्ष समेत रहेका दिनेशले अध्यक्षका एकजना उम्मेद्वारलाई समर्थन गरेर जिताए । हार्नेलाई लाग्यो, यो सबै दिनेशले गर्दा भएको हो । त्यही हारको ऐठन नछुटेकाहरू दिनेशलाई धुलिसात पार्न न्वारानदेखिको बल जोहो गरेर बसेका थिए ।  

यो  अवस्थाको जानकारी हाउस डिस्ट्रिक्ट ९२ कै डेमोक्रेट उम्मेद्वारका लागि पाकिस्तानी मूलका आकांक्षीको कानमा पुग्यो, पुर्याइयो । उनले पनि मौका यही हो भनेर वागीहरूका लागि रेडकार्पेट ओछ्याइ हाले । भनिन्छ नि, शत्रुको शत्रु मित्र हुन्छ, पाकिस्तानी उम्मेद्वार आकांक्षी र उनीहरूको मक्सद मिल्यो, त्यसपछि भोट दिने मात्र हैन, जिताउनेसम्मको बाचा कसम पनि भएजस्तो देखियो ।  

जब बाचा कसम खाएको कुरा सार्वजिनक भयो। त्यसपछि के चाहियो र ? दिनेशको क्याम्पेनमा जोडिएका जति एक हुल बाँधेर बाचा कसम खानेविरूद्ध जाइलागे । खोइ किन हो यी जाइलाग्नेविरूद्ध ब्यानर समाएर वाचा कसम खानेहरू खह्रो उत्रन सकेनन् । यति निम्सरो भएर प्रस्तुत भएकि मानौ उनीहरूले त्यसो गरेर अपराध नै गरे । कतिले त सार्वजनिक रूपमा माफी नै मागिसकेकोले त्यस्तै भाष्य बनेको छ, बनाइएको छ ।  

टेक्सासको नेपाली डायस्पोरामा पक्ष/विपक्षमा बाँडिएर यस्ता रोइला भैरहन्छन् । सधैँ नै भैरहने भएकाले अमेरिकाको बाँकि डायस्पोरा खासै वास्ता पनि गर्दैन । धेरैजसो रमिता नै हेर्ने रूचाउँछ । कसैले आलोचनात्मक चेतका साथ यसो नगरौ भन्यो भने रोइलो गर्ने सबै मिलेर घरभित्रको माम्लो हो भन्दै बोल्तीमा बिर्को नै लगाइ दिन्छन् । त्यसो गर्दा यति तलसम्म गिर्छन् कि कुनैबेला नेपालतिर विवाह हुँदा खेलिने रत्यौलीको याद नै गराइ दिन्छन् । त्यसैले तेस्रो पक्ष आफ्नो मत राख्न पनि डराउँछ ।  साथी संगी नै रोइलोमा प्रत्यक्ष सहभागी हुँदा  भने बाहिरका पनि धुर पसेर कहिले पर्म लगाउँछन्, कहिले पर्म तिर्नतिर लागेको पाइन्छ ।  

यो अक्षरकर्मी पनि टेक्सासको नेपाली डायस्पोरामा हुने धेरैजसो रोइलालाई सामान्य ठान्दै नजरअन्दाज नै गर्न चाहन्छ । तर, यसपटकको रोइलो सामान्य जस्तो लागेन  किनभने, यसले जे जस्तो विषय उठान गर्यो र जे जस्तो किसिमले बैठान गराउन खोजिदैछ, त्यसले एउटा खराब नजीर कायम हुनेजस्तो देखिन्छ । त्यो के भने चुनावमा नेपाली भन्ने उठेपछि जो उठे पनि सबैले उसैलाई भोट हाल्नुपर्छ । ऊ त्यो पदका लागि उपयुक्त हो कि हैन, उसको बानी व्यहोरा ठीक छ कि छैन ? केही भन्नै पाइदैन भन्ने जस्तो गलत भाष्य निर्माण
गरिदैछ । यस प्रकरणमा दिनेशका पक्षमा जे जस्ता तर्क गरेर अर्को पक्षलाई ग्वाहाँ बनाइदैछ, त्यो त्यही जेहादी सोचको उपज हो ।  

हामी अमेरिकामा छौं, यसका आफ्नै चरित्र छन् जसलाई अमेरिकी 'क्यारेक्टर' भनिन्छ । पछिल्लो रोइलोमा जुन किसिमको भाष्य निर्माण गर्न खोजिदैछ, त्यो अमेरिकी क्यारेक्टर हैन र संविधानसम्मत पनि छैन । यो एक किसिमको लाजमर्दो उर्दी हो, जेहाद हो । त्यसमा पनि दिनेश त डेमोक्रेटिक पार्टीका उम्मेद्वारका आकांक्षी हुन्, त्यो पार्टीले त यस्तो सोचलाई अस्वीकार मात्र गर्ने हैन कि निषेध नै गर्छ । यस्तो सोच बोक्ने मान्छे डेमोक्रेटिक पार्टीको सामान्य समर्थक र भोटर पनि हुन सक्दैन भने उम्मेद्वार हुने त धेरै परको कुरा भयो । यो पंक्तिकारलाई लाग्छ, दिनेश स्वयं पनि यस्तो सोच्दैनन् र उनलाई यो रोइलोले फाइदा पनि गर्दैन ।  

यो अक्षरकर्मीको आपति के पनि हो भने अमेरिकाको नेपाली डायस्पोराको छवि यस्तो अप्रजातान्त्रिक सोच बोक्ने समुदायका रूपमा बनाइनु हुदैन । नेपाली उठ्ने बितिकै सबैले ग्वाँहा भएर उसैलाई भोट हाल्नुपर्छ भने  नेपालीको मूल चरित्र नै हैन । जे हैन, त्यस रूपमा प्रस्तुत गरियो र नेपाली समुदायलाई अरू समुदायले त्यही रूपमा बुझ्यो भने के हुन्छ ? नेपालीको इज्जत हुन्छ ? प्रतिष्ठा बढ्छ ? बढ्ने कुरै भएन, भएको पनि तबाह हुन्छ ।  

यस प्रकरणमा प्रश्न दिनेशको हुदैँ हैन, हाम्रो तन्नम सोचको हो । यस्तो सोच आज टेक्सासमा रोपियो, भोलि न्युयोर्कमा रोपिएला, पर्सी क्यालिफोर्नियामा पुग्ला; जहाँ जहाँ पुग्छ, त्यसले नेपाली समुदायलाई टापुको समुदाय बनाउँछ । अमेरिकामा रहेको बहुमत नेपाली डायस्पोरा यस्तो जेहादी सोचलाई हृदयदेखि नै घृणा गर्छ, त्यसैको प्रतिनिधि हो यो अक्षरकर्मी । उसको विनम्र आग्रह छ, कृपया अमेरिकाको नेपाली समुदायलाई यस्तो खराब युएसपी राखेर ब्राण्डिङ् नगरियोस् ।  

यसको अर्थ यो नलागोस् कि यो अक्षरकर्मी दिनेशको विपक्षमा वा इतर पक्षको हो । त्यो हुँदै हैन, त्यस बारेमा कुनै अर्कै अंकमा कुरा गर्न सकिन्छ। यसपटकको गुत्थी कुरा चाँहि के मात्र हो भने अमेरिकामा नेपाली डायस्पोराका सही छवि बनोस्, भाष्य र संकथन पनि त्यस्तै बनोस् । सक्छ भने टेक्सासको नेपाली डायस्पोराले त्यसमा योगदान गरोस्, त्यसका लागि साधुवाद भनौला । सक्दैन भने खराब छवि प्रक्षेपण गरेर अमेरिकाको बाँकि डायस्पोराको भावनामाथि खेलवाड नगरोस् ।  

नेपालमा एउटा कालजयी चलचित्र बनेको थियो प्रेमपिण्ड । धेरैले यसको सकारात्मक कनोटेसनको मात्र भ्याउ पाए , नकारात्मक कनोटेसनतिर ध्यान नै गएन । यसको नकारात्मक कनोटेसन हो, गलगाँड । हामी कामना गरौं, टेक्सासको नेपाली डायस्पोरा प्रेमपिण्डको नकारात्मक कनोटेसन जस्तो नबनोस् ।

यो शुभकामना हो । र, यति शुभकामना दिनलाई चाँहि आइतबार पर्खन नपर्ने भएको छ । आगे जे जससँग सम्बन्धित छ, उनीहरूकै मर्जी ।           

प्रकाशित मिति: : 2022-01-27 02:15:00

प्रतिकृया दिनुहोस्