डा. विकल्प पाेखरेल राजधानी काठमाडौंबाट टाढा अर्थात् सुदूरपूर्व इलाममा हुर्केका हुन्। भर्खर स्नातक सकेका उनका बाबु विनाेद चन्द शर्मा इलामकाे (कन्यान चिया कमान) साडे पाँच हजार फिट अग्लाे डाँडामा चिया लगाउनुपर्ने जिम्मेवारी पाएका नेपालको पहिलाे व्यक्ति हुन्। जुन कुरा २०२८ सालतिरको हो। उनी त्यहाँकाे चिफ भएर गएका थिए। त्यसकारण डा. विकल्पको हुर्काइ इलाममै भयो।
इलाममा हुर्केका विकल्पको बाल्यकालीन पढाइ भने दार्जिलिङबाट सुरु भएको थियो। तर त्यहाँकाे राजनीतिक अस्थिरताले (गाेर्खाल्याण्ड आन्दोलन) उग्र रुप लिएपछि उनी नेपालको दिपेन्द्र प्रहरी स्कुल साँघामा अध्यनरत रहे।
विद्यालय तहको अध्यन पश्चात् विकल्प नेपाल सरकारकाे छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि मस्काे गएका थिए। एमडी भने नेपालकाे चिकित्सा शिक्षा राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट गरेका थिए। एमडी गरिरहँदा उनी केही समय कम्युनिटी सर्भिसका लागि ओखलढुंगा पुगेका थिए।
त्यहाँ उनले स्वास्थ्य सेवा त दिए नै, सँगसँगै उनले राजधानीबाट दुर्गमका नागरिक कसरी स्वास्थ्य सेवाकाे पहुँचबाट बन्चित छन् भन्ने कुराको अध्ययन समेत गरेका थिए। त्यहाँबाट घर फर्केपछि परिवारसँग आफ्ना अनुभव साटेकाे उनका भाइ संकल्प पाेखरेल सम्झिन्छन्।
‘दाइ एमडी पढ्दा कम्युनिटी सर्भिसका लागि ओखलढुंगा जानुभएको थियाे। त्यसबेला राजधानी बाहिरका नागरिकलाई सेवा दिँदा आफूलाई औधी सन्तुष्टि मिल्ने कुरा गर्नुहुन्थ्यो। त्यहाँका नागरिकले विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा देखाउने सदासयताले उहाँलाई लाेभ्यायाे,’ उनले भने, ‘त्यसपछि उहाँमा दुर्गमप्रतिकाे आकर्षण बढेकाे हाे र ग्रामीण स्तरमा सेवा गर्ने भावना बिजाराेपण भयाे। त्याे भावना हुर्कँदै जाँदा उहाँ दुर्गममा पुग्नुभयाे।’
उनलाई ‘निकसाइमन्स इनिष्टिच्युट’ ले छात्रवृत्तिमा एमडी पढाएकाे थियाे। पढाइ पश्चात् निकसाइमन्सकाे बन्ड अनुसार उनी सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङ अस्पतालमा सेवा गर्न भनी गएका थिए। त्यहाँ उनले दुई वर्ष बिताए। त्याे दुई वर्षमा उनले उल्लेख्य मात्रामा सेवा गरे। त्यसमध्ये एउटा हाे, उनले सुरु गरेकाे माेबाइल ब्लड बैंक। जसको त्यो समयमा स्थानीयदेखि राष्ट्रियस्तरसम्म खुब चर्चा भएको थियो भने थुप्रै नागरिकले त्यसबाट सेवा लिन पाएका थिए।
दुई वर्षसम्म बझाङी जनताको सेवा गर्ने अवसर पाएका उनी केही समय धरानकाे विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि काम गरे। पछि उनी पाटन अस्पतालमा काम गरिरहेका थिए। त्यहीबेला कर्णालीको जनप्रतिनिधिको रुपमा संसदमा पुगेका तत्कालीन सांसद नरेश भण्डारीले दर्ता गरेकाे सार्वजनिक महत्वको विधेयक पारित भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ऐन बनेकाे थियाे। सरकारले कामकाजका लागि पदाधिकारी समेत नियुक्त गरिसकेकाे थियाे।
तत्कालीन उपकुलपति डा. पारस आचार्यले पाटनमा हुँदा विकल्पलाई पढाएका थिए। पछि उनैले डा. विकल्पलाई कर्णाली जानका लागि प्रस्ताव गरे। उक्त प्रस्ताव लिएर विकल्पले घरपरिवारसँग सल्लाह गरे। यो विषयमा चाइनामा एमडी गरिरहेकी उनकी श्रीमतीसँग पनि छलफल गरिसकेकाे हुनुपर्ने उनका बुबा विनाेद बताउँछन्।
‘मैले जागिरको सिलसिलामा लामाे समय दुर्गममा बसेर काम गरेकाे हुँ। मेराे छाेरालाई कर्णालीबाट अफर आउँदा मैले उनीहरुलाई हुर्काएको दुर्गम ठाउँको याद आयो र दुर्गममा सेवा गर्नलाई पछि हट्न नहुने सुझाव दिएकाे थिएँ,’ उनले भने, ‘मेराे कुराले विकल्प साह्रै खुसी भयाे। त्यसबेला उसकाे अनुहार दियाे बलेजस्ताे चम्किलो थियाे। झन् उज्यालो अनुहारमा भनेको थियो, मैल बुबाबाट सपाेर्ट पाउँछु भन्नेमा पूरा विश्वास थियाे। दुर्गममा गएर सेवा गर्ने मेराे ठुलाे धाेकाे छ। उसलाई काठमाडौंमा बसेर २० जना बिरामीकाे सेवा गरेकाे भन्दा दुर्गममा बसेर २ जना बिरामीको सेवा गर्दा बढी खुसी लाग्थ्यो र उ त्यसैमा रमाउँथ्याे। छाेराकाे खुसी आखिर हाम्राे पनि त खुसी थियाे नी।’
त्याे क्षण सम्झिँदा बुबा विनाेद आज पनि भावुक हुन्छन्। त्यसबेला उनले विकल्पलाई भनेका शब्द सम्झिँदा आजै हाे जस्ताे लाग्छ। उनले थपे, ‘सायद जुम्ला नगएकाे भए त्यस्ताे हुँदैनथ्यो कि, तर त्याे दुर्घटनामा उ मात्र एक्ला कहाँ थियो र। अरु प्रवुद्ध व्यक्तित्व पनि हुनुहुन्थ्यो। यही भनेर चित्त बुझाउँछाैं। त्यस्ता घटनाहरुलाई हामीले नेचुरल फेनाेमाेना भनेर मुटुमाथि ढुङ्गा राखेका छाैं।’
उनलाई जुम्ला ल्याउन धेरै कारणले सहज बनेकाे थियाे। पहिलाे कुरा त उनकाे हुर्काइ नै दुर्गममा बाबुले सेवा गर्दैगर्दा भएको थियाे भने परिवार उनकाे भावनाकाे कदर नगर्ने कुरै हुन्थेन। दाेस्राे, उनी प्रतिष्ठानकाे उपकुलपति डा. पारस आचार्यका विद्यार्थी पनि थिए।
तेस्राे, उनले वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्दा प्रा. डा. श्याम लम्सालसँग (जाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन रजिस्ट्रार थिए) राम्राे सम्बन्ध स्थापित गरेका थिए भने कर्णाली प्रतिष्ठानका अमृत भण्डारीकाे पनि उनीसँगकाे मित्रता प्रगाढ थियाे। यी र यस्ता कुराहरुले उनी देशका दुर्गम क्षेत्रको स्वास्थ्य सेवा निर्माणमा एक उदाहरणीय अभियानताको रुपमा उभिए।
उनलाई नै कर्णालीकाे लागि अफर गर्नुकाे विविध कारणहरु मध्येको विशेष कारण बन्यो, उनकाे विशेषज्ञता। त्यसबेला अस्पतालकाे भर्खर स्तराेन्नती भएकाे थियाे। प्रतिष्ठानकाे ऐनमा अञ्चल अस्पताल खारेजी गरेर प्रतिष्ठानमा समायोजन गर्ने भनिएकाे थियाे।
भर्खर स्तराेन्नती भएकाे अञ्चल अस्पताल हेल्थ असिस्टेन्टहरुबाट जसोतसो चलिरहेकाे थियाे। तर प्रतिष्ठान भने त्यसरी चल्न सम्भव नभएकोले केही मेडिकल अफिसर र कम्तिमा एक जनासम्म विशेषज्ञ डाक्टर ल्याउनुपर्ने अवस्था भएकाे तत्कालीन रजिस्ट्रार प्रा. डा. श्याम लम्सालले बताए।
‘विशेषज्ञ कुनै एक विषयको भएर मात्रै सम्भव थिएन। ग्रामिण तहमा सबै राेगकाे उपचार गर्ने खालकाे चाहिन्थ्याे। त्यसका लागि एमडिजिपी विशेषज्ञबाहेक अर्काे सम्भव थिएन,’ उनले भने, ‘जनरल प्राक्टिसकाे डाक्टर खाेज्दै जाँदा हामी विकल्पसँग ठाेकिन पुगेका थियौं। उहाँकाे सहर्ष आगमनसँगै दुर्गममा विभिन्न राेगले थलिएका नागरिकका मुहार उज्यालिन थालेका थिए।’
उनका अनुसार त्यसबेला विशेषज्ञ डाक्टरलाई जुम्ला जाउँ भन्याे भने निधार खुम्चाएर १० पटक साेच्थे र अन्तिममा भन्थे, सरी सर! तर विकल्पले कर्णालीलाई दिउँसै देखिने सपनाकाे भूमि बनाइदिए। त्यसबेला उनीसँगै छ जना मेडिकल अफिसर नियुक्त गरिएकाे थियाे।
त्यतिबेला आई.एन.एफ र अञ्चल अस्पतालकाे गरी दुईजना डाक्टर थिए। उनीहरु दुबैजना अष्ट्रेलियाका थिए। उनीहरुले पछिसम्मै उल्लेख्य मात्रामा सहयोग गरेकाे तत्कालीन अस्पताल निर्देशक डा. जावेद अहमद खान बताउँछन्। त्यतिबेलाका अञ्चल अस्पतालका डाक्टर विप्लव सापकाेटा अस्पताल प्रतिष्ठानमा गाभिनुभन्दा अगाडि नै हिंडिसकेका थिए।
यस्ताे मान्छेसँग जुम्लामा सँगै काम गर्न पाउँदा सधैं गर्व गरिरहेकाे उनकाे भनाइ छ। उनले विकल्पकाे बारेमा केही भन्न पाउँदा पनि छाती चाैडा हुने बताउँदै भने, ‘विकल्प जस्ताे मान्छे मैले आजसम्म देखेकाे छैन। अपशोच! हामीले त्यस्ताे मान्छे सदाको लागि गुमायाैं। उक्त घटनाले म दुई दिनसम्म सम्हालिन सकिनँ।’
‘हुनत म उहाँभन्दा पछाडि सिनियर भएर जुम्ला गएकाे थिएँ। उहाँ त मेराे भाइजस्तै हुनुहुन्थ्याे। उहाँकाे दुर्गमकाे अनुभव जुम्ला मात्रै पहिलाे थिएन। याेभन्दा पहिला बझाङमा काम गर्दाताका नै अनुभव बटुलिसक्नु भएको थियो। दुर्गमका जनताप्रतिकाे माया थियाे,’ उनले भने, ‘जुन ठाउँका बिरामी डाक्टरविना छट्पटी रहेका हुन्छन्, त्यही ठाउँमा पुगेर बिरामीकाे सेवा गर्नुपर्छ भन्ने उच्च काेटीकाे भावना थियाे। व्यक्तिगत रुपमा भन्दा यदि भगवान हुन्छन् भने पनि उहाँ भगवान नै हाे।’
‘गतिलो अस्पताल नभएको कर्णालीमा प्रतिष्ठान त सम्भव नै छैन। याे निर्णय गर्नेहरु पागल हुन्’ भनेर मन्त्रालयका कर्मचारीहरुले खुलेआम भन्ने बेलामा डा. विकल्प सबै कुरालाई वेवास्ता गरी विशुद्ध सेवा भावनाले जुम्ला पुगेका थिए। त्यसबेला पदाधिकारीहरुका लागि काठमाडौंका मन्त्रालय पानी पँधेरा जस्ता थिए, त्यहाँ नधाई सुख थिएन। भवन निर्माण, सामग्री खरिद, कर्मचारीलाई तलब आदिका लागि बजेट चाहिन्थ्याे। उनीहरु बजेट माग्न जाँदा भनाइ पनि सँगै खान्थे। यता विकल्प एक्लै बिरामीको भराेसा बनिरहेका थिए।
सधैं काममा दत्तचित्त भएर लागिरहने गम्भीर स्वभावका उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे सुरुवाती अवस्थामा डाक्टर छैनन् भन्ने भान हुन दिएनन्। उनले जति बिरामीकाे उपचार गरे, ती सबै उनीदेखि सन्तुष्ट थिए। यतिसम्म कि उनी नजिक गएर हाँसीदिँदा पनि बिरामी आधा निकाे भएकाे महसुस गर्थे। कुनै दिन असन्तुष्टिकाे स्वर सुन्नु नपरेकाे तत्कालीन उपकुलपति डा. आचार्यले बताए।
‘विकल्पका कारण कुनै दिन पदाधिकारीलाई समस्या भएन। कुनै दिन पनि यस्ताे मान्छे किन ल्याए हाेला भनेर पछुतो भएन। आँखामा राखेपनि नबिझाउने मान्छे भनेर त्यसै भनिएकाे रहेनछ। उहाँ त्यस्तै हुनुहुन्थ्यो,’ उनले भने, 'त्यसैले सधैं गर्व लागिरह्याैँ। आज म जहाँ जान्छु, त्यहाँ उहाँकाे अभाव महसुस गर्छु।'
राजधानी काठमाडौंकाे चाबहिलमा घर भएकाे, सम्पन्न परिवारमा हुर्केको भएपनि दुर्गमका नागरिककाे सेवा गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत भएकाे मान्छेलाई सम्मान गर्ने शब्दहरु नै फिक्का लाग्ने लम्सालले बताए।
‘त्यत्राे सुखसयल छाेडेर कर्णाली पुगी विशेषज्ञ सेवा दिने पहिलाे व्यक्ति हुन्, विकल्प। कर्णालीकाे स्वास्थ्य इतिहासकाे एक धराेहर हाे,’ उनले भने, ‘हाम्राे समाज इतिहास बिर्सने खालकाे छ, जसले प्रगति गर्न दिँदैन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ सेवाकाे आधारसिला खडा गर्न डा. विकल्पकाे अतुलनीय याेगदान छ।’
उनीसँग निकै छाेटाे समय संगत गरेकादेखि लिएर लामाे समयसम्म हिमचिम भएका सबैकाे एउटै स्वर छ, ‘उनी एक जिम्मेवार र गम्भीर डाक्टर हुन्। जाे बिहान-साँझ बिरामीकाे बेडबेडमा पुग्थे नै, दिउँसाे ओपीडीका सबै बिरामी हेरिसकेर प्रशासनिक काम समेत भ्याउँथे। एक हिसाबले २४ घण्टे ड्युटीमा हुन्थे।’
उनकाे कामप्रतिकाे वफादारितालाई जुम्ला आउनेबेला परिवारले गरेकाे आग्रहलाई उनका बुबाकाे मुखबाट सुन्दा काफी हुन्छ।
‘विकल्प जुम्ला जान लागेकाे भाेलिपल्ट उसकाे भाइ संकल्पकाे छाेरीकाे जन्मदिन र भाइबुहारीकाे म्यारिज एनिभर्सरी सँगै थियाे। एक वर्षकाे छाेरीले ड्याडी नजानु भनेकी थिइन्। त्याे अहिले सम्झिँदा आँखा त्यसै रसाउँछन्। उनीहरु दुबै जनाले एकदिन बसिदिन आग्रह गरेका थिए। तर उसले "आचार्य सर पनि उता पुगिसक्नु भएकाे छ, म जानैपर्छ" भनेर हिंडेकाे थियाे’, विकल्प बुबा भन्छन्।
उनले कति पटक फाेनबाट कर्णालीका कठिनाइसँग परिवारलाई परिचित गराएका छन्। कर्णालीमा भएका कारण कयाैं पटक पारिवारिक भेटघाटलाई छुटाएका पनि छन्। हिजोको त्यो छुटाइ केही छिनको थियो, आज त त्यो सदाको लागि भएको छ। उतिबेला डाइनिङ टेवलमा उनी बस्ने स्थान खाली हुँदा परिवारलाई न्यास्राे लाग्थ्याे। अहिले त त्याे न्यास्राे कहिले नमेटिने गरी बसिराखेकाे छ।
ती दिन सम्झँदा उनका भाइ संकल्प आज पनि भक्कानिन्छन्। उनकाे गला अवरुद्ध हुन्छ। दाइकाे विषयमा कुरा गर्दागर्दै राेकिन्छन्। लामाे सास लिन्छन् र भन्छन्, ‘याेभन्दा बढी कुरा गर्न सक्दिनँ।’
डा. विकल्प पाेखरेल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकालकाे पहिलाे विशेषज्ञ डाक्टर थिए। उनकाे २०७० फागुन ४ गते अर्घाखाँचीकाे मसिनेमा भएको हवाई दुर्घटनामा परी असामयिक निधन भएकाे थियाे।
Bikalp, we missed you a lot.
Dr. Bikalpa, we miss u a lot. नमस्तक the legend . मैले नी मेरो बुवाको उपचार Dr Pokarel संगत 2069- 2070 तिर गरेको थिए । chest pain heavy भैइ बाटोमा लेडेको बेला emergency हुदै regular follow up मा निको भएको थियो । Dr Pokharel लाई सम्झाइदिनु भो महेश जी, धन्यवाद ।