कोरोना महामारीमा लुम्बिनीका १४ सरकारी अस्पताल नेतृत्वविहीन

कोरोना महामारीकै बेला लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल नेतृत्वविहीन छन्। अस्पताल नेतृत्वविहीन हुँदा कोरोना संक्रमितको उपचार सेवा पनि प्रभावित भएकाे छ।

सरकार हेरफेर भएसँगै हटाइएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र सदस्यकाे नयाँ नियुक्त नहुँदा अस्पताल नेतृत्वविहीन भएका हुन्। अस्पतालमा व्यवस्थापन समिति नै नेतृत्वविहीन भएपछि उपचार सेवाका लागि प्रभावकारी व्यवस्थापन हुन सकेकाे छैन। 

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाका लागि छुट्टयाइएका ६० बेड  भरिएका छन्। तर, व्यवस्थापन समितिमा नयाँ नियुक्ति हुन नसक्दा उपचारका लागि अस्पताल  प्रशासनलाई चुस्त  बनाउनुपर्ने काममा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन्।

लुम्बिनी प्रदेश सरकारले केही समयअघि प्रदेशभरका अस्पतालमा विकास समितिका अध्यक्षसहित सदस्यलाई हटाएको थियो। हटाएका ठाउँमा नयाँ नियुक्ति गरिएको छैन।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि भारत पुगेका नेपाली घर फर्किरहेका छन्। भारतबाट आएका अधिकांश व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। जसका कारण अस्पतालमा बिरामीको संख्या बढ्न थालेको र यस्तो बेलामा अस्पताल नेतृत्वविहीन हुँदा उपचार प्रभावित भएकाे लुम्बिनी प्रादेशिक अस्पताल विकास  समितिका निवर्तमान अध्यक्ष सूर्यबहादुर भट्टराई  बताउँछन्।

लुम्बिनी प्रदेश सरकार मातहतमा अहिले २५ अस्पताल छन्। जसमा तीनवटा साविक अञ्चल अस्पताल, ११ जिल्ला अस्पताल, एक सरकारी अस्पताल र ११ आर्युवेद अस्पताल छन्।

अस्पतालका पदाधिकारी हटाएको सरकारले प्रदेशका १२ वटै जिल्लामा कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनका सम्बन्धमा जिल्लागत अनुगमन गर्न मन्त्रीह संयोजक रहेको अनुगमन समिति गठन गर्ने भएको छ। जसअनुसार सबै मन्त्रीलाई जिम्मा दिएर अस्पताल अनुगमनदेखि रोकथामका काम गरिने सरकारका प्रवक्ता तिलकराम शर्माले बताए।

प्रदेश सरकारले भारतसंगको सीमा नाकामा एन्टिजेन परीक्षण र निगरानीलाई कडाइ गरिएको जनाएको छ। तर, सीमा नाकामा रहेका हेल्थ डेस्कमा कार्यरत कर्मचारी नै संक्रमित भएपछि स्वास्थ्य परीक्षण समेत प्रभावकारी हुन सकेको छैन । हेल्थ डेस्कमा जनशक्ति अभाव हुँदा कतिपय परीक्षण नै नगरी नेपाल प्रवेश गरेका छन्। लुम्बिनी प्रदेशका सबैजसो अस्पतालमा कोरोना संक्रमितको चाप बढ्न थालेको छ। 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सूर्य भट्टराई तथा भीम अस्पताल भैरहवामा नारायण प्रसाद भण्डारीले कोरोना महामारीमा अस्पताल व्यवस्थापनको राम्रो पहिचान बनाएका थिए। तीन वर्षको लागि अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भए पनि करिब आठ महिना मात्र काम गर्न पाएको भीम अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष भण्डारीले बताए। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संक्रमण रोकथाम गर्ने समयमा सबै अस्पताललाई नेतृत्वविहीन बनाउनु आमनागरिकमाथिको खेलवाड भएको आरोप लगाएको छ। एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गठबन्धन सरकारले आफ्ना पार्टीका नेता कार्यकर्ता भर्ती गर्नका लागि अस्पताललाई नेतृत्वविहीन बनाएको भन्दै तत्काल पदाधिकारी नियुक्त गर्न माग गरे।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्माले अस्पतालमा अध्यक्ष तथा अन्य पदाधिकारी नभएर कुनै काम नरोकिने बताए। यद्यपि, व्यवस्थापनको कार्यमा भने केही समस्या भएको उनको भनाई  छ। 'सरकारले छिटै नयाँ व्यक्तिलाई नेतृत्वमा ल्याउने तयारी गरेको छ,' उनले भने।

अस्पतालका नियमित काम नरोकिएको भन्दै मन्त्री शर्माले पहिलेको भन्दा थप व्यवस्थित बनाइने दावी गरे। यसअघिदेखि नै सञ्चालनमा रहेका अस्पताल, आइसोलेशन, अक्सिजन प्लान्टहरू सबैको राम्रो व्यवस्थापन गरिने उनको भनाई छ।

प्रकाशित मिति: : 2022-01-23 07:29:00

प्रतिकृया दिनुहोस्