कक्षाकोठामा खुल्न नसकेको शिक्षकको खूबी

शिक्षकलाई पाठ्यक्रममा मात्र नबाँधी उसका दखल र रुचिका विषय समेत समेटेर पढाउन प्रोत्साहित गर्नुपर्छ।

हिमाल खबर

काठमाडौँ

प्रायः स्कूलमा शिक्षकको क्षमताको मापक भनेकै विद्यार्थीको उत्तीर्ण दरलाई बनाइने गरेको छ। जुन विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण हुन्छन्, त्यसका शिक्षकको कामै नभएको भन्दै मनोबल गिराइन्छ। यसले गर्दा शिक्षक आत्मविश्वास गुमाई मानसिक तनावमा पर्छन्।

हरेक शिक्षकमा भिन्नाभिन्नै ज्ञान र खूबी हुन्छ। त्यस्तो प्रतिभा शैक्षिक विषयले नभई जीवनका भोगाइ र अनुभवले पनि दिएका हुन्छन्। कुनै वेला विद्यार्थी नै रहेका उनीहरू विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न भएका हुन्छन्।

मानौं, गणित विषय पढाउने शिक्षकको रुचि घुमफिरमा हुन सक्छ। उसले विभिन्न ठाउँ अवलोकन गरेर नयाँ कुरा जानेको हुन्छ। तर, पेशागत दृष्टिले उसबाट केवल एउटै कुराको अपेक्षा गरिन्छ-कक्षाकोठामा जाने र सम्बद्ध विषय पढाउने।

विद्यार्थीलाई उसले आफ्ना भ्रमण अनुभव सुनाउन थाले पढाउन अल्छी गरेको ठानिन्छ। तर, उसले कक्षामा यदाकदा विषयान्तर भएर अतिरिक्त कुरा सुनाउँदा गणित विषयमा चासो नभएका विद्यार्थीलाई त्यसप्रति चासो बढाउन सहायक हुन सक्छ। पाठलाई घुमफिरसँग जोडेर बुझाए घुमफिरमै रुचि रहेको विद्यार्थीले त्यसलाई टपक्कै टिप्न सक्छ।
 

प्रकाशित मिति: : 2022-01-21 12:14:00

प्रतिकृया दिनुहोस्