माउन्टेन हर्ट नेपालद्वारा दोलाखामा स्वास्थ्य उपकरण वितरण

अमेरिकी संस्था डाइरेक्ट रिलिफबाट सहयोगस्वरुप प्राप्त गरेको स्वास्थ्य सामाग्री माउन्टेन हर्ट नेपालले दोलाखाको दुर्गम क्षेत्र मेलुङ गाउँपालिका–५ को निगासी स्वस्थ चौकीलाई हस्तान्तरण गरेको छ।

संस्थाले तीनवटा अक्सिजन कन्सन्ट्रेटर, नेवुलाइजरलगायत १ हजार थान सर्जिकल मास्क वितरण गरेका हुन्। मेलुङ गाउँपालिका–५ का वडाध्यक्ष राजु तामाङ र स्वस्थ इन्चार्ज प्रान्जल ठोकरको रोहवरमा उक्त स्वास्थ्य सामाग्री वितरण गरेको हो।

कोरोना महामारीको बेला अति–उपयोगी अक्सिजन कन्सेनट्रेटरले दक्षिण दोलाखालगायत छिमेकी जिल्ला रामेछापका स्थानीयवासीलाई सहयोग हुने अपेक्षा माउन्टेन हर्ट नेपालका प्रतिनिधि गगनराज न्यौपानेले बताएका छन्। 'दिन प्रतिदिन बृद्दि भइरहेको कोरोना महामारीलगायत अन्य बिरामीसमेतलाई उक्त उपकरण उपयोग हुनेछ,' उनले भने।

वडाध्यक्ष तामाङले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै उपकरणले कोभिडलगायत अन्य बिरामीको लागि अति–उपयुक्त हुने जनाएका छन्।

काठमाण्डौंदेखि ७–८ घण्टाको सवारी यात्रामा पुगिने दोलाखा जिल्लाको दक्षिण भागमा पर्ने दुर्गम मेलुङ गाउँपालिका–५ र ६ मा तामाङ, मगर र थामीहरूको बाहुल्यता छ।

उक्त उपकरण सामाजिक अभियन्ता निलम ठकुरीको समन्वयमा वितरण गरिएको हो। साथै स्वास्थ्य उपकरण वितरण गर्नमा डा. राजेन्द्र रानामगरले सहयोग गरेका थिए। माउन्टेन हर्ट नेपालले २०७२ सालको भूकम्प पश्चात नेपालको विभिन्न दुर्गम ठाउँमा स्वास्थ्य शिविर सञ्चालन तथा राहत बितरण गरेको थियो। 

यसको साथै २०७६ मा कोरोना महामारी सुरु भएदेखि संस्थाले मनाङ, मुस्ताङ, कास्की, म्याग्दी, रसुवालगायत दुर्गम क्षेत्रमा कोरोना सम्बन्धि अति आवश्यक अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामाग्री तथा उपकरणहरू सहयोग प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति: : 2022-01-19 19:54:00

प्रतिकृया दिनुहोस्